आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्वास्थ्य सामग्री खरिद विवाद : जनता बचाउन, सस्तो महंगोको हिसाब नगरौं

स्वास्थ्य सामग्री खरिद विवाद : जनता बचाउन, सस्तो महंगोको हिसाब नगरौं


  • किरण गुरुङ मन्त्री, आन्तरिक मामिला तथा योजना (गण्डकी प्रदेश)
  • चैत्र २१ २०७६, शुक्रबार

खान छ- ‘मैकामा हिरा फोर्नु ।’ कोरोनाको संक्रमणको महामारीबाट ज‍ोगाउन तथा रोकथाम र नियन्त्रण गर्न अहिलेको यो बेला भनेको हिरा फोर्ने समय हो । तर, हामी अहिले ‘सस्तो र महँगो’को अनावश्यक विवादमा अल्झिरहेका छौं । अहिलेको प्रमुख चिन्ताको विषय भनेको कोरोना पोजिटिभको भन्दा पनि उनीहरूको औषधि उपचार गर्ने अस्पतालहरू, त्यसमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरू अर्थात उपचारमा खटिने र खटिनुपर्ने सबै स्वास्थ्यकर्मीहरूक‍ो निम्ति आवश्यक सुरूक्षाको प्रबन्ध तथा अन्य सामग्रीको व्यवस्था कसरी गर्ने भन्ने नै हो । त्यसका निम्ति आवश्यक पर्ने पीपीई लगायत स्वास्थ्य सामग्रीहरू चीनबाट खरिद गरी उपलब्ध गराउने भनी गरिएको सम्झौता, शर्तअनुसार सामग्री उपलब्ध गराउन नसकेपछि सरकारले भङ्ग गरेको छ।

उक्त सम्झौता भङ्ग भएपछि अब ती आवश्यक सामग्रीहरू कुन प्रक्रियाबाट कसरी र कहिले उपलब्ध हुन्छ भन्ने गम्भीर प्रश्न खडा भएको छ । अन्य देशमा झैं नेपालमा पनि महामारीको रूपमा कोरोना भाइरस फैलियो भने हामीसँग प्रयाप्त पीपीई छैन, मास्क र ग्लोब्स् मात्र ह‍ोइन, यस्ता अनेकौं अतिआवश्यक मेडिकल इक्विपमेन्टहरू पनि छैनन् । यस्तो अवस्थामा हाम्रो हालत के हुन्छ ? यो अत्यन्त गम्भीर स्थिति ह‍ो । सायद, त्यसै कारणले होला, सामान्य अवस्थामा प्राप्त हुने बजार मूल्यभन्दा महंगो पर्ने भए पनि छोटो समयअवधिभित्र सामग्री उपलब्ध गर्ने गरी हतारमा सम्झौता भएको थियो। तर सम्झौता अनुसार समयमा सामग्री उपलब्ध गराउन सकेन । कारण एक, साँच्चिकै सामग्रीको अभाव भएर उपलब्ध गराउन सकेन । कारण दुई, आरोप लागेअनुसार साँच्चिकै त्यसको फ्रड काम गर्ने उद्देश्य थिय‍ो । यसबारे अझ स्पष्ट भोलिका दिनहरूमा हुने नै छ ।

हामी भाग्यमानी छौं, अझै हाम्रो देशमा अरू देशमा झैं यसले विकराल रूप लिइसकेको छैन । तर पनि अहिले, न खुशी मनाउने बेला ह‍ो, न भ्रमको खेती गर्ने । संक्रमितको संख्या दिनानुदिन बढ्दो छ। यस्तो बेला एम्बुलेन्स आएन भनेर गाली गर्नुको के अर्थ हुन्छ ? आएपनि बिरामी लान मानेन भन्नुको के अर्थ हुन्छ ? अस्पतालले उपचार गर्न मानेन भन्नुको के अर्थ हुन्छ ? हामी र हाम्रो कसैले कसैको ठेक्का लिएको छैन । य‍ो हामी सबैको साझा दायित्व र कर्तव्य हो । म नै त्यस्ता बिरामीको नजिक पर्न डराउँछु भने मैले स्वास्थ्यकर्मी र अस्पताललाई उपचार गर्न मानेन भनी आरोप लगाउन मिल्छ र ? किनकि मेडिकल क्षेत्रमा आवश्यक सुरक्षाको सामग्रीहरूको अभाव छ । अस्पताल र स्वास्थ्यकर्मीहरूसँग पनि छैन, महंगोमा नै भए पनि नेपालको कुनै पनि मेडिकल पसलमा होस् अथवा अन्त कहीं कतै ह‍ोस्, किन्न पाइँदैन । यस्तो परिस्थितिमा हामी सरकारले उपलब्ध र व्यवस्था गर्नुपर्छ भनौंला । कुरा बेठीक होइन, यो सरकारको जिम्मा र दायित्वभित्र पर्छ । तर के गर्नु ? सरकार पनि चुप लागेर बसेको अवस्था छैन, धेरै काम गर्ने प्रयत्न गर्दैछ । अहिले, यतिबेला कोभि १९ सँग जुध्न या लड्न आवश्यक पर्ने पीपीई लगायत सामग्रीहरू कसरी, कहाँबाट, कुन प्रक्रियाबाट, छिटोभन्दा छिटो कसरी ल्याउने भन्ने नै हो । त्यसैले सस्तो र महंगोको विवादमा रूमल्लिएर बस्ने बेला होइन, जसरी पनि ब‍ोल्ड डिसिजनका साथ अगाडि बढ्ने बेला हो ।

त्यसैले कति पर्छ भन्ने कुरा ठूलो होइन, कसरी समयमा नै प्रयाप्त सामग्री उपलब्ध गराउने भन्ने कुरा ठूलो हो । अहिलेको परिस्थिति भनेको जनताको जिउज्यानको सुरक्षाको निम्ति हिरा नै फोर्नु परे पनि फोर्ने बेला हो । भन्न सजिलो भए पनि कार्यान्वयन गर्न गाह्रो होला । हामी सबैलाई थाहा छ, रिपोर्टिङ गर्न सजिलो छ, समाचार बनाउन सजिलो छ, तथानाम गाली गर्न पनि सजिलो छ तर विश्वलाई नै आक्रान्त पारेको यो महामारीलाई रोकथाम, नियन्त्रण र उपचार गर्ने कार्य सजिलो छैन। घरमा बसेर सामाजिक सञ्जालको भित्ता रंगाए जस्तो होइन । सरकार, अस्पताल र स्वास्थ्यकर्मीको कमजोरी मात्र देखाएर समस्या समाधान हुँदैन, सञ्चार जगत, सामाजिक सञ्जाल र नागरिकहरू हामी सबै बराबरी रूपमा सचेत, सजग र जिम्मेवार हुनुपर्छ । किनकि यो लडाइँ एउटा देश र अर्को देश बीचको होइन, एउटा विचार र अर्को विचार बीचको ह‍ोइन, एउटा सभ्यता र अर्को सभ्यता बीचको होइन । न त यो धर्म, जाति, वर्ण, लिङ्ग, संस्कृति, सामाजिक, आर्थिक र व्यापारिक युद्ध नै हो । न त यो विस्तारवाद हो, न त यो साम्राज्यवाद ह‍ो । हाम्रो प्रकृतिकै एक सूक्ष्म भाइरससँगको हामी मानव जातिको लडाइँ हो । यो मानवताको लडाइँ हो।

वास्तवमा यो महामारीको अग्रपंक्तिको योद्धाहरू भनेकै स्वास्थ्यकर्मीहरू हुन् । युद्धका किल्ला भनेकै अस्पतालहरू हुन् । विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइन, प्रिआइसोलेसन तथा आइसोलेसन यस्का अन्य सुरक्षित दुर्गाहरू हुन् । त्यसैले पहिल‍ो, युद्ध जित्न युद्ध लड्ने किल्ला र दुर्गाहरू बलियो बनाउनु पर्छ । दोस्रो, स्वास्थ्यकर्मी, कर्मचारी र उनीहरूको सबै सहयोगीहरूलाई विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका मापदण्डअनुसार आवश्यक सुरक्षा सामग्री र औंजारले सुसज्जित पार्नुपर्छ । यसका निम्ति दिनरात खटिने स्वास्थ्यकर्मीलाई पीपीईको आवश्यकता पर्छ ।

जबसम्म उनीहरूलाई पीपीई उपलब्ध गराउन सकिन्न, कोर‍ना संक्रमितको उपचार मात्र ह‍ोइन, स्वाव संकलन र जाँच, फिवर क्लिनिक तथा आइसोलेसन र प्रिआइसोलेसन वार्ड पनि सञ्चालन गर्न सम्भव छैन । यस अभियानमा संलग्न स्वास्थ्यकर्मीहरूलाई जीवन वीमा र इन्सेन्टिभ एलाओन्स्भन्दा पनि पहिलो आवश्यकता भने कै पीपीई ह‍ो । प्रयाप्त पीपीई नभइ प्रकृतिसँगको य‍ो युद्ध हामी जित्न सक्दैनौं । विश्वक‍ो विकसित र शक्तिशाली राष्ट्रहरू त हार खाइरहेको यो अवस्थामा जनताक‍ो सुरक्षाका निम्ति हिरा फोर्नु पर्ने बेलामा हामी भने एक अर्काप्रति आक्षेप लगाउने बहादुरी प्रदर्शन गरिरहेका छौं । हाम्रो भेंडापन र मुर्खता नै हाम्रो बहादुरी बनेको छ । हाम्रो यस्तो बहादुरी देखाएर तथा लकडाउन र राहत बाँडेर मात्र यो महामारी शान्त हुनेवाला छैन ।

हामीले बुझ्नुपर्ने कुरा, आज अस्पताल र स्वास्थ्यकर्मीहरू कोरोना संक्रमितको त कुरा छाडौं, सामान्य बिरामीहरू पनि जाँच्न किन हच्किरहेका छन् ? अहिले सबै अस्पतालहरू जति पैसा तिर्नु परे पनि उनीहरूलाई आवश्यक पर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूपको वा गुणस्तरीय पीपीई लगायत अन्य आवश्यक सामग्रीहरू किन्न चाहन्छन् तर जतिसुकै महंगो परेपनि किनेर निर्भयकासाथ कोरोनाका बिरामीको उपचार गर्न चाहन्छन्। तर दुःखको कुरा, उनीहरूसँग यिनै सुरक्षाका सामग्री नभएर नै बिरामी उपचार गर्न हच्किरहेका हुन्, उनीहरू आफ्नो कर्तव्यबाट विचलित कदापि भएका होइनन् । तर हामीले यस विषयलाई गम्भीरतापूर्वक ध्यान दिएका छैनौं । समस्या कहाँ छ र के हो भन्नेतर्फ हामीले कहिल्यै बुझेनौं । उनीहरूलाई हौसला र प्रोत्साहनसहित सुरक्षाको प्रबन्धभन्दा पनि ‘कोरोनाको रोगी आए भने अस्पताल नै खाली गरी सबै भाग्छन’ भनी मजाकको विषय बनाउँछौं ।

आवश्यक सामाग्री कसरी छिटो ल्याउने हो ? सहयोग र समर्थन गर्दैनौं, अनेकौं बखेडा झिक्छौं, नाइटोदेखिक‍ो बल लगाएर बिरोध गर्छौं । जताततै भ्रष्टाचार नै भ्रष्टाचार देख्छौं । जे गर्दा नि भ्रष्टाचार भन्ने हो भने केही नगरी हात बाँधेर बस्नुपर्ने भयो । सरकारको त कुरै छाडौं, उस्तै परे अस्पताल बन्द गर्ने धम्की दिन पछि पर्दैनौं, विभिन्न प्रकारले स्वास्थ्यकर्मीहरूक‍ो समेत हुर्मत लिन पछि पर्दैनौं, यदि काँचै खाना मिल्ने भए काँचै निल्ने गरी र सरापेर मर्ने भए मरोस् नै भनेर सराप्छौं । बढो क्रान्तिकारी बनेर, बडो भ्रष्टाचार बिरोधी बनेर, बडो इमानदार, देशभक्त र राष्ट्रवादी बनेर हामी अरू सबै कर्माचारी, मन्त्री, तथा नेता (त्यसमा पनि सत्तापक्षीय) लाई नीच, भ्रष्ट र पतित भन्दै गाली गर्न किञ्चित पछि पर्दैनौं ।

व्यक्तिगत स्वार्थ, राजनीतिक आग्रह र गुटबन्दीको मानसिकताको आधारमा आरोप लगाउँछौं, खुट्टा तान्छौं, हरेक राम्रा कामहरूलाई असफल पार्ने प्रयत्न गर्छौं । यो मानव जातिकै अन्तिम युद्धमा, सबैमा हाम्रो अनुरोध छ– यी सबै आग्रह पूर्वाग्रहलाई छाडौं, ढिलो भइसकेको छ, महंगो सस्तोको कुरा होइन, आवश्यकताको कुरा गरौं, जति पर्छ तिर्न तयार होऔं, समयमै सबै आवश्यक पीपीई लगायत सामग्रीहरू झिकाऔं, कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको युद्धमा विजय प्राप्त गरौं ।
(संयोजक, गण्डकी प्रदेश सरकार, कोरोना भाइरस (कोभिड १९) र‍ोकथाम, नियन्त्रण र उपचार र समन्वय समिति)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->