बागलुङ, २१ चैत– प्रादेशिक स्वास्थ्य निर्देशनालयले दोस्रो पटक पठाएको भेण्टिलेटर बिहिबार साँझ धौलागिरी अञ्चल अस्पताल बागलुङमा आईपुगेका छ । अघिल्लो साता पठाईएको भेण्टिलेटर अस्पतालले सामान अपुरो रहेको भन्दै बुझ्न अस्विकार गरेको थियो ।
पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेपछि निर्देशनालयले दोस्रो पटक भेण्टिलेटर पठाएको हो । यसअघिको भेण्टिलेटर अस्पतालले अलग्गै राखेको छ । ‘स्वासप्रस्वासमा समस्या आए भेन्टिलेटरले सहयोग गर्छ, जुन हामीले पाएका छौं’ अस्पतालका डा. प्रदिप श्रेष्ठले भने ‘आईसियु नभएकाले मुटु र मृगौलामा समस्या आए कसरी समाधान गर्नु ।’
कोरोनाका बिरामीको उपचार गरिरहेको अस्पतालका लागि भेण्टिलेटर आवश्यक थियो । आपतकालिन अवस्थामा बिरामीलाई सघाउन मेसिनले सहयोग गर्ने श्रेष्ठले बताए । अस्पतालमा अहिले कोरोना संक्रमण पुष्टि भएका दुई जना बिरामीको उपचार भैरहेको छ । यदि उनीहरुमा गम्भिरखालको संकेत देखापरे सघन उपचारकक्षको आवश्यकता हुने डा. श्रेष्ठ बताउँछन् ।
अस्पतालमा सघन उपचार कक्ष (आईसियु) सञ्चालनका लागि पहल भैरहेको छ । ‘केन्द्र सरकारले एक करोड बजेट पठाएको छ भन्ने सुनेको छु, त्यो प्रदेशबाट यता आएको छैन्’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि रानाले भने ‘हामी हाम्रो क्षमताले भेट्ने पूर्वाधारको तयारीमा लागेका छौं, सरकारले सहयोग गरे भेण्टिलेटर मात्रै होईन आईसियू चलाउँछौं ।’
तत्काल आईसियू सञ्चालनका लागि अस्पतालसँग जनशक्तिको भने अभाव छ । ‘आईसियू प्रयोगमा ल्याउन तालिम प्राप्त नर्सको आवश्यकता हुन्छ’ श्रेष्ठ भन्छन् ‘हामीसँग त्यो खालको जनशक्ति छैन ।’ भेण्टिलेटरले मात्रै थेग्न नसक्ने अवस्था आएमा बिरामी पोखरा पठाउनुको विकल्प नरहेको उनले सुनाए ।





