म्याग्दी २२ चैत– जनप्रतिनिधिको कार्यशैली र व्यवहारलाई लिएर विभिन्न किसीमका आलोचनाहरु भैरहेका बेला म्याग्दीका एक जनप्रतिनिधिले भने व्यक्तिगत रुपमा ४ लाख रुपैयाँको खाद्यान्न बोकेर गाउँपालिकाका गाउँगाउँमा पुग्नुका साथै मासिक रुपमा घरभाडावापत आउने २ लाख ५१ हजार रुपैयाँ छुट दिएका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले लकडाउनका कारण बतिबुतो र मजदुरी गरेर खान नपाएपछि समस्यामा परेका गाउँपालिकाभित्रका गरीब र मजदुरलाई ४ लाख बराबरको खाद्यान्न वितरण गर्नुका साथै विभिन्न ठाउँमा रहेका ५ ओटा घरबाट भाडास्वरुप आउने मासिक २ लाख ५१ हजार रुपैयाँ समेत छुट दिएका हुन् ।
कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला अध्यक्ष भण्डारीले गाउँपालिकाभित्रका ८ वटै वडाका गरिब र मजदुरलाई शनिबारदेखि खाद्यान्न वितरण शुरु गरेका छन् । शनिबार रघुगंगा गाउँपालिका–१ बेगका २८ र वडा नं ४ दग्नाममा २५ , वडा नं. ५ झींमा २५ र पाखापानीका ३० परिवारलाई खाद्यन्न वितरण गरेको टोलीका सदस्य केवि भण्डारीले जानकारी दिए । गाउँपालिकाका बाँकी ४ वडामा पनि आइतबार राहत वितरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।
पाँचवटा घरको घरभाडा छुट
अध्यक्ष भण्डारीको म्याग्दी सदरमुकाम बेनीमा रहेका २, पर्वतको जलजला गाउँपालिकाको बगरफाँटमा रहेका २ र काठमाण्डौमा रहेको १ घरमा व्यापार ब्यवसाय गर्दै आएका र कोठा भाडामा बस्दै आएकाहरुलाई एक महिनाको भाडा छुट दिएका छन् । भाडामा बस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडाबापतको २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकालाई सम्मान
अध्यक्ष भण्डारीले खाद्यान्न सहयोगसंगै क्वारेन्टाइनमा बसेर कोरोना भाइरस नियन्त्रण अभियानमा सहयोग गरेको भन्दै चार वडाका १८ जनालाई प्रशंसापत्रले सम्मान गरे । विदेशबाट आएकाहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियमलाई पालना गरी सरकारलाई सघाएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प
रघुगंगा गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथामको लागि ३० लाख बजेट समेत विनियोजन गरेको छ । तत्कालिन प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएपछि अहिले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतविहिन बनेको कारण आर्थिक कारोबारमा समस्या भएकाले प्रमुख जिल्ला अधिकारी र संघिय मामिला मन्त्रालयमा ध्यानकर्षण गराएको अध्यक्ष भण्डारीले बताए ।





