आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जैमिनीका १८ नाकामा स्वयंसेवक परिचालन !

जैमिनीका १८ नाकामा स्वयंसेवक परिचालन !

स्वयंसेवकहरुले दैनिक पाँच सय रुपैयाँका दरले पारिश्रमिक पाउने मापदण्ड तयार


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७६, आइतबार

बागलुङ, २३ चैत– जिल्लाको जैमिनी नगरपालिकाले छिमेकी पालिका तथा जिल्लासँग जोडिएका सिमानाकामा स्वयंसेवक परिचालन गर्ने भएको छ । अन्य जिल्ला तथा पालिकाबाट नगरमा प्रबेश गर्नेहरुको निगरानी गर्न जैमिनीले स्वयंसेवक परिचालन गर्न लागिएको हो ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन झोलुंगे पुल तथा सिमानाकामा सवयंसेवक परिचालन गर्न लागिएको नगरका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिए । नगरपालिकाका १८ वटा नाकामा ४ जनाका दरले ७२ जना स्वयंसेवक परिचालन गरिने छ । वडा अध्यक्षमार्फत छनौट हुने स्वयंसेवकहरुले दैनिक पाँच सय रुपैयाँका दरले पारिश्रमिक पाउने मापदण्ड नगरपालिकाले बनाएको छ ।
३ दिनमा १ लाख ८ हजार रुपैयाँ खर्च गरेर नगरपालिकाले सिमानाकामा कडाई गर्न थालेको हो । दैविक प्रकोप तथा विपद् व्यवस्थापन कोषको रकम परिचालन गरेर स्वयंसेवकको पारिश्रमिक दिईने शर्माले बताए ।
तर, जैमिनीको यो कदमलाई कतिपयले तारिफ गरेका छन्भने कतिपयले कटाक्ष गर्दै बजेटको दुरुपयोग भनेका छन् । ‘यो सबै नौटंकी हो, राहतकोषको दुरूपयोग हो ।’ जैमिनी स्थायी घरभई राजधानीमा बस्दै आएका बिष्णु आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘यो काममा नगरपालिकाले सेवा गर्ने राष्ट्रसेवक कर्मचारी खटाउनु पर्छ ।’ नगरपालिकाले भने प्रहरीलाई स्वयंसेवकले सहयोग मात्रै गर्ने जनाएको छ ।
यता, बरेङ गाउँपालिकाले कोरोनासँग जुध्न आवश्यक कोष तयार गर्न विपत् व्यवस्थापन कोषको परिचालन गर्ने भएको छ । कोषमा रकम जम्मा गर्नेगरी कार्यबिधि बनाएर जनप्रतिनिधि, कर्मचारी तथा आम सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । कोषमा जम्मा हुने रकम विपन्न तथा मजदुरहरुलाई राहत, स्वास्थ्य सुरक्षा सामग्री, कोरोना सचेतना अभियान लगायतमा खर्च गरिने थापा बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->