बागलुङ, २५ चैत– लकडाउन सुरु भएपछि जिल्लामा सबैभन्दा धेरै पटक फोन रिसिभ गर्नुपर्ने व्यक्ति चार जना मात्र छन् । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, प्रहरी उपरिक्षक नवराज भट्ट, जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौ र धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि. पोखरेल ।
त्यसो भनिरहंदा अन्य धेरै व्यक्तिको सचेतना, सर्तकता र निरन्तरको कामको खटाइले लकडाउन सफल भैरहेको छ । यो समयमा ज्यानकै बाजी लगाएर बिरामी खोज्न जाने चालकदेखि चौबिसैघण्टा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको योगदान झनै महत्वपूर्ण छ ।
देशभर ९ जना कोरोना भाइरस संक्रमित मानिस भेटिएका छन् । तीमध्ये एक जना सन्चो भएर घर फर्केका छन् । ८ जनामा चारजना सुदुरपश्चिम र दुइजना बागलुङका छन् । २ जना काठमाण्डौमा उपचार गरिरहेका छन् । सबै साधनश्रोत सम्पन्न, सरकार, स्वास्थ्य मन्त्रालय, केन्द्रीय प्रयोगशाला, इपिडिमियोलोजी लगायतका सबै सुरक्षा घेरामा दुइजना बिरामी उपचार गराउनु नौलो कुरा भएन । तर बागलुङ, जहाँ एउटा भेन्टीलेटर छैन । बल्लबल्ल संकटको बेलामा पाएको सहयोगबाट आइसियु संचालनका लागि टेन्डर खुलाइएको छ । यो अबस्थामा दुइजना बिरामी उपचार गराउनु चुनौतीपूर्ण काम हो ।
दुईजनामा पोजेटिभ देखिएपछि बागलुङमा सयौं मानिस कोरोना संक्रमणको उच्च जोखिममा छन् । शंकास्पदहरुको स्वाब परीक्षण गर्न सकिएको छैन । यो बेलामा जिल्लाका यी चार जना व्यक्तिलाई कति फोन आएको होला ? त्यसमा पनि सुरक्षाका दुइजनाले बाहिरी सुरक्षाको मात्र बिषय बताउँलान् । गुरौ र पोखरेल स्वास्थ्यमा जोडिएका छन् । उनीहरुले सामान्य उत्तर दिएर पुग्दैन । प्राविधिक, तथ्यगत र मेडिकलले प्रमाणित गरेको बिषयमात्र बोल्नु पर्छ ।
गत शनिबार मन्त्रीपरिषदले बागलुङसहितका ३ जिल्लामा ¥यापिड टेष्ट प्रविधि बढाउने निर्णय गरेको थियो । त्यसपछि भोलीपल्टै कार्यविधि बनाएर कोरोना परीक्षण बढाउने मन्त्रालयले भनिरहेको थियो । कार्यविधि पनि बनाएको हल्ला आइरहेका छन् । केही अनलाइनले मन्त्रालयको टोली बिज्ञसहित जिल्ला हिँडेको भनेर लेख्न पनि भ्याए । तर अहिलेसम्म रेपिर्ट टेष्टको प्रकृयाबारे जिल्ला अन्यौल छ । सरकारी तहबाट भएको ल्याङल्याङले अहिले संक्रमितको उपचरमा ढिला भएको छ । शंकास्पदको परीक्षण अन्यौल भएको छ । जसले गर्दा होम क्वारेन्टाइनमा बसेकाहरु परिवारमा मिल्न सकेका छैनन् । कोहीले बेवास्ता गर्न थालिसकेका छन् । यसरी बेवास्ता हुँदै जाँदा कोरोना भाइरस दोश्रो हुँदै तेस्रो चरणमा प्रवेश गर्ने खतरा बढेर गएको छ । तेस्रो चरणमा प्रवेश गरेको अबस्था आयो भने नेपालीले बुझ्दाबुझ्दै इटालीको नियती भोग्नुपर्नेछ । अमेरिका जस्तै अबस्था यहाँ आयोभने नेपाली कोहीपनि बाँच्ने अबस्था हुनेछैन ।
लकडाउन तीन साताका लागि लम्बिइसकेको छ । तर कोरोना भाइरस परीक्षणको दायरा बढेको छैन । एक महिनामा अमेरिकाले १८ लाख मानिसको स्वाब परीक्षण गरेको तथयांंक आएको छ । तर नेपालमा १ हजार ६ सय जनाको मात्र परीक्षण भएको अपुष्ट सुचना छ । संक्रमित मध्येको एक तिहाई रहेको जिल्लामा समेत अहिलेसम्म दुइ दर्जन परीक्षण पनि हुन नसक्नु दुर्भाग्य हो ।
दिनभरी आइरहने फोनले हैरान भैरहेका गुरौ र पोखरेलले एउटै उत्तर दिन बाध्य छन्, त्यो हो मन्त्रालयको सूचना हामीले थाहा पाएका छैनौ । ¥यापिड टेष्टको तयारी हामीले मात्र गरेका हौ, केन्द्रीय टोली पनि आएको छैन । नत परीक्षणका लागि चाहिने किट्स नै आएको छ । बागलुङमा मात्र नभई छिमेकी जिल्लादेखि देशभरका स्वास्थ्य क्षेत्र र संचारमाध्यमले उनीहरुलाई फोन गर्ने क्रम रोकिएको छैन । कतिले बुझ्न मात्रै पनि फोन गरेर समय बर्बाद बनाउँछन् । त्यसो त दुवैजनाले अझै झर्को मानेका छैनन् । फोन आएकालाई राम्रो रेस्पोन्स गराएर पठाएका छन् । तरपनि मन्त्रीपरिषदको निर्णयलाई समेत यतिको समय लगाउने हाम्रा सरकारी संयन्त्रबाट जनताले कहिले राहत पाउने हुन् ? भन्छन् उपभोक्ता ।
‘निर्णय भयो भन्छ्, के हो, किन र कसरी काम गर्ने हो भनेर कुनै सूचना पठाएको छैन’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना भन्छन्, ‘हामीले आबस्यक सामाग्री खरिद गर्ने, आन्तरिक व्यवस्थापनमा धेरै काम गरिसकियो, माथिबाट केही सूचना पनि आएको छैन ।’ राजधानीका सडक सुनसान बनाएर दर्जनौं एम्बुलेन्स दगुर्दा जिल्लामा पठाउने कुरा समेत नभएको उनले टिप्पणी गरे । संक्रमित भएको जिल्लामा कसरी उपचार भएको छ, के समस्या छ भनेर कसैले नसोधेको उनले बताए ।
गुरौले चैत १ गतेदेखि जिल्लामा भित्रिएका सबै मानिसको रेकर्ड बनाएर राखेका छन् । स्थानीय तहले निकालेका तथ्यांकदेखि प्राविधिक र अन्य सूचना लिएर बसेका गुरौले हरेक दिनभरको गतिविधि लिखित रुपमा सार्वजनिक पनि गरेका छन् । बागलुङमा अहिले ८ सय २३ जना बिदेशबाट आएकाको तथ्यांक संकलन भएको छ । छिटपुट रुपमा आएर पत्ता नलागेको समेत ९ सय भएको अनुमान छ । उनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने सर्बोच्च अदालतले आदेश समेत जारी गरेको छ । उनीहरुको कोरोना परीक्षण गर्ने जिल्लाको तयारी छ । चीनबाट आएका किड्सको विश्वसनियतामा प्रश्न उठेकोले प्रयोगमा ल्याउन ढीलाइ भएको समेत प्रतिक्रिया आएका छन् । तर जति सकिन्छ त्यति विश्वसनियता बनाउन पनि सरकारी ल्याङल्याङबाट भने जिल्लाबासी आजित भैसकेको छन् ।





