बागलुङ, २५ चैत– जिल्लाको ताराखोला गाउँपालिकाले लकडाउनका कारण मर्कामा परेका मजदुर तथा विपन्नको लागि पहिलो चरणको राहत वितरण कार्य सकेको छ । गाउँपालिकाले स्थानीय उत्पादन संकलन गरेर मजदुर तथा विपन्न परिवारलाई बाँडेको हो ।
पालिकाका पाँच वडामा रहेका १ सय ५१ मजदुर तथा विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको अध्यक्ष प्रकाश घर्तीले बताए । चार जनाभन्दा कम संख्या रहेको परिवार र त्योभन्दा धेरै सदस्य संख्या रहेको परिवारका लागि गाउँपालिकाले अलग–अलग मापदण्ड बनाएर राहत दिएको घर्तिले बताए । चार जनासम्मको परिवारले १० पाथी मकै वा कोदो, दाल, चिनी, तेल र साबुन पाएका छनभने त्यो भन्दा माथिको परिवारका लागि १५ पाथी कोदो वा मकै र सोही परिणामका सामग्री राहत स्वरुप दिईएको हो । गाउँपालिकाले ८५ मुरी मकै, कोदो खरिद गरेर ८२ मुरी ५ पाथी वितरण गरेको योजना अधिकृत जित सुनारले बताए । जनप्रतिनिधि र कर्मचारीको टोलीले राहत सामाग्री घरघरमै पुगेर हस्तान्तरण गरेको अध्यक्ष घर्तीले बताए ।





