म्याग्दी २६ चैत– म्याग्दीमा कोरोना शंकास्पद बिरामीलाई अस्पताल ल्याउन प्यासेन्ट रिसिभिङ टिम (पिआरटि) गठन गरिएको छ । कोरोना भाइरस सम्बन्धी कमाण्ड पोष्टको बैठकले नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री सुरत केसीको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको हो ।
टोलीको सदस्यहरुमा श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र सशस्त्र प्रहरी गुल्म गलेश्वरका प्रतिनिधि रहने छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैठकले कोरोनाका शंस्कास्पद बिरामीलाई अस्पताल ल्याउने जिम्मेवारी टोलीलाई दिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
बैठकले बिरामी बोक्नका लागि दुई एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ । बेनी अस्पताल र रेडक्रस सोसाइटीको कम्तीमा दुई वटा एम्बुलेन्सलाई चैत २७ गतेभित्र तयार पारिने भएको छ । संक्रमणबाट एम्बुलेन्स चाकललाई बचाउन तथा न्यूनीकरण गर्न चालक क्यावीन र बिरामी कम्पार्टमेन्टबीच तोकिएको मापदण्डअनुसार सुरक्षा अपनाउने सकिने बनाउन श्रीबक्स गुल्मलाई समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।





