मुस्ताङ, २६ चैत– हिमाली जिल्ला मुस्ताङको एक गाउँपालिकामा विपन्न र मजदुरलाई स्थानीय आमा समुहले राहत वितरण गर्न थालेको छ । लकडाउनमा दैनिक गुजारा चलाउन कठिन भएका परिवारको लागि घरपझोङ्ग गाउँपालिका–५ ठिनीमा रहेको आमा समुहले राहत बाढ्न थालेको हो । आमा समुहले समुहमा रहेको रकम परिचालन र समुहका सदस्यहरुको सहयोगमा जम्मा गरेको राहत कोषबाट राहत सामग्री बाँडेका हुन् ।
उनीहरुले घरपझोङ्ग गाउँपालिका ठिनी गाउँका विपन्न तथा मजदुर ३७ परिवारका लागि राहत सामग्री उपलव्ध गराएको समुहकी अध्यक्ष लक्ष्मी थकालीले बताईन् । आमा समुहको १० हजार, उईमेन कोषको ५ हजार र बाँकी सबै रकम समुहका सदस्यबाट जुटाएर ३३ हजार रुपैयाँको राहत कोष बनेको छ । उनीहरुले स्थानीय खाद्यान्न, चिनी, तेल, साबुन लगायतका सामग्री उपलव्ध गराएका थिए । ‘केही दिनलाई पुग्ने मात्रै सामग्री दिएका हौं’ थकालीले भनिन् ‘हामीसँग भएको स्रोतले विपन्न र मजदुरलाई राहत मिलोस् भन्ने हो ।’
यस्तै, घरपझोङ्ग गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रण र राहतका लागि कोष स्थापना गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट पाँच लाख रुपैयाँ जम्मा गरेर कोष स्थापना गरेको हो । प्रदेश सरकारले उपलव्ध गराउने राहत कोषको थप पाँचलाख रुपैयाँ पनि सोही कोषमा जम्मा हुने गाउँपालिका उपाअध्यक्ष शर्मीला गरुङले बताईन् । लकडाउनका कारण मर्कामा परेका विपन्न तथा मजदुर परिवारको लगत संकलन गरिरहेको गाउँपालिकाले सोही कोषबाट राहत बितरणको तयारी समेत थालेको छ ।





