म्याग्दी, २७ चैत – तीन साता लामो लकडाउनका कारण अलपत्र परेका ३७ जना मजदुरहरुलाई म्याग्दीका विभिन्न ठाउँहरुबाट उद्धार गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम कम गर्न सरकारले तीनसाता लामो लकडाउन गरेपछि विभिन्न जिल्लाहरुबाट आएर म्याग्दी जिल्लामा संचालित विभिन्न आयोजनाहरुमा काम गर्ने ३७ जना मजदुरहरु भोकभोकै रहेका र उनीहरु हिँडेर नै आफ्नो जिल्लामा फर्कन लागेका सूचनाको आधारमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुवँरका अनुसार बुधबार बेनी नगरपालिका ६ गुफा हुँदै मालिकाधुरीको बाटो प्रयोग गरी गृहजिल्ला दाङतर्फ जान लागेको १४ र बेनी दरवाङहुँदै रोल्पातर्फ हिँडेका २३ जना मजदुरलाई उद्धारगरी सम्वन्धित आयोजनाका ठेकेदारलाई जिम्मा लगाइएको छ ।
आफ्नो आयोजना स्थलमा रहेका मजदुरलाई अलपत्र पार्नेलाई कारबाही शुरु गरेका छौं,एक ठाउँबाट अर्को ठाउँमा नजान मजदुरहरुलाई समेत सचेत बनाएका छौं,प्रनाउ कुवँरले भने ।
निर्माणाधिन बेनी अस्पतालको भवनमा काम गर्ने मजदुरहरु बेनी दरवाङ सडक खण्डको प्रयोग गरी रोल्पा जान हिडेको अवस्थामा बेनी नगरपालिका ४ सिंगाबाट उद्धार गरिएको प्रनाउ कुवँरले बताउनुभयो । उनीहरु एक हप्ता पैदल हिडेर घरसम्म पुग्ने योजना बनाइ घरतर्फ हिडेका थिए ।
अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान बन्द गरिएको थाहा पाएपनि आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएकोले बस्तीभन्दा टाढा जंगलको बाटो प्रयोग गरी घरतर्फ जान लागेको मजदुरहरुले बताएका छन् ।





