बागलुङ, २७ चैत– रोजगारीको शिलशिलामा जापानमा रहेका गलकोटका युवाले आफ्नै समुदायमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । गलकोट नगरपालिका वडा नं. ४ चमुवाबाट जापान गएका युवाहरुले २ सय थान डिजिटल थर्मामीटर वितरण गरेका हुन् । निलुवा समाज चमुवा जापानमार्फत उनीहरुले आर्थिक संकलन गरि डिजिटल थर्मामीटर प्रदान गरेका हुन् ।
विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथामको लागि घरमै ज्वरो जाँच गर्न र समस्या देखिएमा स्वास्थ्यचौकीसम्म जान सहज होस् भनेर थर्मामीटर खरिद गरि वितरण गरेको समाजका सह–सचिव भुमिराज सुवेदीले जानकारी दिए । गलकोट नगरपालिका–४ का चुमवा, भयरखर्क र चमुवाफाँट लगायतका क्षेत्रमा प्रतिघर १ डिजिटल थर्मामीटर प्रदान गरिएको सुवेदीले बताए ।
त्यसैबीच, समाजका अध्यक्ष थम बहादुर क्षेत्रीले ब्यक्तिगत रुपमा गलकोट नगरपालिका–४ मा रहेको स्वास्थ्यचौकीलाई २ सेट पिपिई सहयोग गरेका छन् । समाजले उपलब्ध गराएको थर्मामीटर र क्षेत्रीले उपलब्ध गराएको पिपिई गनपा–४ का अध्यक्ष बल बहादुर खत्रीले बिहीबार वितरण गरेका हुन् ।





