आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुख्यमन्त्री गुरुङ भन्छन् : मानव सभ्यताविरुद्धको युद्ध जित्नै पर्छ

मुख्यमन्त्री गुरुङ भन्छन् : मानव सभ्यताविरुद्धको युद्ध जित्नै पर्छ

अस्पतालमा कम्तीमा १० बेड क्षमताको आइसोलेसन वाड बनाउन मुख्यमन्त्रीको जोड


  • रामकृष्ण बोहरा
  • चैत्र २८ २०७६, शुक्रबार

बागलुङ, २८ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रबार बिहान अकस्मात धौलागिरी अञ्चल अस्पतालमा आइपुगेका छन् । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालमा आइपुगेपछि मुख्यमन्त्री गुरुङले यहाँका चिकित्सक र ब्यवस्थापनलाई विरामीको राम्रोसंग उपचार र रेखदेख गर्न निर्देशन दिए । यो अस्पताल कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्ने गण्डकी प्रदेशको पहिलो र मुलुककै तेस्रो अस्पताल हो ।
अस्पतालमा उपचारत बागलुङकी १९ बर्षिय युवतीसंग विहिवार टेलिफोनमा संवाद गरेका मुख्यमन्त्री गुरुङ शुक्रबार बिहानै अर्का संक्रमित महिलासंग टेलिफोनमा कुरा गर्दागर्दै अस्पताल आईपुगेका हुन् । युवतीले मुख्यमन्त्रीसंग डाक्टरहरुले टेलिफोनबाट मात्रै कुराकानी गरेको गुनासो गरेकी थिईन । उनले प्रदेश सरकार कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि सवै शक्ति लगाएर जुटेको वताए । ‘हामी सवै शक्तिका साथ जुटेका छौ, मुख्यमन्त्री गुरुङले भने, उपचार र खाना नपाएर प्रदेशमा कोही पनि मर्ने छैन् ।’ यो प्रदेशको डेडिकेटेड अस्पताल पनि भएकाले भौतिक पूर्वाधार र जनशक्तिको अभाव हुन नदिने उनले वताए ।
अस्पतालले राम्रो काम गरेपनि डिस्टेन्सन आउने काम हुन अझै नसकेको गुनासो गरे । ‘जिल्लामा कमाण्ड पोष्ट पनि छ, रिक्स म्यानेजमेन्ट कमिटी पनि छ, प्रमुख जिल्ला अधिकारी यही हुनुहुन्छ । तपाईहरुले परिणाम आउने काम गर्नुहोस ।’ मुख्यमन्त्री गुरुङले भने, ‘यो काम गर्ने वेला हो ।’ पत्रकारलाई पनि हौसला दिन सञ्चार सामग्री पस्कन अनुरोध गर्दै भने, ‘यहाँ पत्रकारहरु पनि हुनुहुन्छ, तपाईहरुले पनि अरु कुरा नखोज्नुहोस, लकडाउनमा जागरण ल्याउने काम गर्नुहोस, सवै मिलेर प्रदेशलाई ग्रीन जोनमा ल्याउने हो । हामीलाई अरु प्रचार चाहिएको छैन् ।’ उनले कोरोना भाइरस विरुद्ध मानव जातीले लडेको युद्ध जित्नै पर्ने दोहोराए । ‘त्यसका लागि हरेक ब्यक्तिले एकअर्कालाई सहयोग गर्नु पर्दछ ।’
साताभित्रै आईसियू कक्ष संचालन
‘गण्डकी प्रदेश सरकार पपुलारिटीका लागि होइन काम खोज्छ, तपाईंहरु ढुक्क हुनुहोस् टेन्डर प्रक्रियामा गईसकेकाले निर्माण शुरु भएको एक साताभित्रै आईसियू कक्ष संचालनमा आउँछ’ जनशक्तिको अभावबारे संकेत गर्दै मुख्यमन्त्री गुरुङले भने– ‘अहिले पनि गण्डकी प्रदेशमा ४० प्रतिशत स्वास्थ्यतर्फका कर्मचारीको अभाव छ, त्यसलाई पुर्ति गर्नका लागि स्थायी व्यवस्था नहुञ्जेल करारमा काम चलाउने सरकारले निर्णय गरिसकेको छ ।’ प्रदेश लोकसेवा आयोग बन्ने स्थिति थियो तर, लकडाउनका कारण रोकिएको गुरुङले बताए । ‘कर्मचारीलाई आवश्यक तालिम र बजेट पनि हामी पठाईदिन्छौ’ मुख्यमन्त्री गुरुङले भने, ‘यो समय अरुबेला जस्तो होइन, मैले प्रमुख सचिवलाई भनेको छु, अब ढिला गर्नुहुँदैन, चाँडै गर्छौ ।’
आइसोलेसन वार्ड बढाउनुपर्छ
यो अस्पतालमा कम्तीमा पनि १० बेड क्षमताको आइसोलेसन वार्ड हुनुपर्छ, हामीले यसअघि नै बागलुङमा कम्तिमा पनि ५ वेडको आइसोलेसन वाड कायम गर्न भनेको हो’नि तर तपाईहरु यसमा पछाडि हुनुहुँदोरहेछ’ मुख्यमन्त्री गुरुङले भने– ‘मैले धेरै माया गरेको यो अस्पताल पोखरापछिको दोस्रो हब हो, प्रोभिन्सनल हिसाबले हेरिएको छ र यस अस्पतालमा पर्याप्त संरचना निर्माण गर्न हाम्रो ध्यान गएकै छ ।’ अंचल अस्पतालमा आवश्यकता धेरै भएपनि विधि प्रक्रियाका कारण सबै कुरा एकैपटक संभव नहुने बताउँदै गुरुङले कर्मचारी र बजेट अभाव हुन नदिने वचन दोहो¥याए ।
बिरामीको उपचार राम्रोसंग होस
अस्पतालमा उपचाररत कोराना संक्रमित बिरामीको उपचार राम्रोसंग गर्न चिकित्सकहरुलाई मुख्यमन्त्री गुरुङले आग्रह गरेका छन् । अंचल अस्पतालको आइसोलेसन वाडमा दुई जना कोरोना संक्रमित बिरामीको उपचार भईरहेको छ । ‘म बिरामी र उनका आफन्तसंग निरन्तर सम्पर्कमा छु, उहाँहरु धेरै खुशी हुनुहुन्छ’ गुरुङले भने– ‘बिरामीको मनोबल उच्च छ, हामीले गर्ने उपचार र व्यवहारबाट उनीहरुमा हौसला बढाउने काम गर्छ, त्यसैले म डाक्टरहरुलाई आग्रह गर्न चाहन्छु कि उत्साहका साथ काम गरिदिनुहोला ।’
बाहिरबाट आएका सबैको स्वाब परीक्षण
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा बाहिरबाट आउने सबैको स्वाब संकलन गरेर परिक्षण गरिने बताए । रुघाखोकी नलागेका र ज्वरो नआएका, क्वारेन्टाइनमा राखिएकाहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ, यो निकै चुनौतीपूर्ण हो, त्यसैले हाम्रो प्रदेशमा बाहिरबाट आएका करिब ३७ सय ५० जनाको स्वाब परिक्षण हुने गुरुङले बताए । ‘बाहिरबाट आएकाहरु संगको ट्रेसआउट र ट्राभल हिष्ट्रीको ट्रयाकिङ गर्नुपर्ने बताउँदै गुरुङले भने– ‘बाहिरबाट आएका र उनीहरुको सम्पर्कमा रहेका सबैको सही तथ्यांक संकलन गर्न कमाण्ड पोष्टले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’ प्रदेश सरकारको तर्फबाट कुनै अभाव हुन नदिने वचनवद्वता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले कोरोना संक्रमितको उपचारमा प्रश्न उठ्ने काम नगर्न स्वास्थ्यकर्मीलाई बारम्बार सम्झाए ।
प्रोत्साहन भत्तामा प्रदेशको २५ प्रतिशत
केन्द्र सरकारले स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने प्रोत्साहन भत्तामा गण्डकी प्रदेश सरकारले २५ प्रतिश थप गर्ने निर्णय गरेको छ । ‘केन्द्रले दिने भनेको प्रोत्साहन भत्ता हामीले दिने होइन, केन्द्रले दिने हो, केन्द्रले दिने भत्तामा हामीले २५ प्रतिशत थपेर उपलब्ध गराउने हो’ मुख्यमन्त्री गुरुङले भने । केन्द्र सरकारले कोरोना संक्रमण नियन्त्रण, उपचार र रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई २५ लाखको बिमा भनेको छ, त्यसमा हामीले ५ लाख थपेर ३० लाख बिमाको प्रबन्ध गरेको हो । स्वास्थ्यकर्मीलाई प्रोत्साहनको लागि व्यवस्था गरिएको रकम चाँडोभन्दा चाँडो निकास गरेर पठाउने समेत मुख्यमन्त्री गुरुङले वचन दिए ।
मानव सभ्यताविरुद्वको युद्व हो
‘यतिवेला कोरोना भाइरसविरुद्व मानवले युद्व लडिरहेको छ, मानव सभ्यतामाथि बेला–बेलामा हुने यस्ता प्रहारलाई पराजित गरी अघि बढ्न सबै एकजुट हुनुपर्छ’ गुरुङले भने– ‘आधुनिक मानव सभ्यतामा सबैभन्दा चुनौतीपूर्ण लडाई हामीले भोग्दैछौं, मानव जातिलाई बचाउने यो युद्वमा हरेक व्यक्तिले एकअर्कालाई सहयोग गर्नुपर्छ ।’ लकडाउनको पूर्णपालनाले व्यक्तिहुँदै परिवार, समाज, देश र सारा विश्वको संरक्षण हुने गुरुङ भनाई थियो । लकडाउनको आत्मअनुशासनलाई सबैले पालना गर्नै पर्दछ ।
अस्पतालमा सुविधा थप गर्न सरकार तयार : प्रमुख सचिव बस्याल
गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले धौलागिरी अञ्चल अस्पतालमा आईसियु, सिसियु तथा एनआईसियु जस्ता सुविधा थप गर्न गण्डकी प्रदेश सरकार सक्षम र तयार रहेको बताए । उलने प्रदेशको प्राथमिकता परेको अस्पताललाई सेवा सुविधा थप गर्न प्रदेश सरकार पछि पर्दैन भने ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र वि. पोखरेल र फिजिसियन डा. प्रदिप श्रेष्ठले आइसोलेसनमा रहेका दुबै विरामीको स्वास्थ्य अवस्था वारे जानकारी दिँदै अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारसंगै प्रसुति, डाइलाइसिस, अपरेसन र इर्मेजेन्सी सेवा सुचारु नै राखिएको जानकारी गराए ।
यस्तै, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले अस्पताल सेवा सुविधा विस्तारको लागि प्रदेश सरकारले आवश्यक भौतिक तथा मानवीय स्रोतको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । नर्सिङ्ग अधिकृत शान्ति खड्काले कोरोना संक्रमित बिरामीको उपचारमा भएको अभ्यासबारे प्रष्ट पारेकी थिइन् । कार्यक्रमको संचालनमा अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले गरेका थिए । सो अवसरमा अस्पताल ब्यवस्थापन समितिले आवश्यकता सहितको सूची मुख्यमन्त्रीलाई वुझाएको छ ।
मुख्यमन्त्री गुरुङले अस्पतालका सवै सेवा र कक्षहरुको अवलोकन गरी जानकारी लिए । अस्पताल छिर्दासाथ हेल्पडेस्कले मुख्यमन्त्री गुरुङको ज्वरो नाप गरेका थिए भने स्यानीटाइजरबाट स्प्रे छरेका थिए । अनुगमन सकेर बाहिरदा पनि मुख्यमन्त्रीको तापक्रम चेक गरिएको थियो ।
कार्यक्रममा संघीय सांसद मन कुमारी जिसी, प्रदेश सांसद इन्द्रलाल सापकोटा, नगर प्रमुख जनकराज पौडेल, जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, जनस्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ, सुरक्षा निकायका प्रमुख, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापन समितिका सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->