बागलुङ, २८ चैत– कोरोना भाइरस संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको नमूना परीक्षणका लागि आरडिटी द्रुत परिक्षण टोली शुक्रवार सदरमुकामबाट मुभ भएको छ । सरकारले आरडिटी परीक्षण बागलुङमा पनि गर्ने निर्णय गरेको थियो ।
जिल्ला संकट व्यवस्थापन समितिको बैठकले र्यापिड टेष्टका लागि स्वास्थ्यकर्मीहरुको चार टोली बनाएको छ । टोली पश्चिम तमानखोला, निसीखोली र ढोरपाटन शुक्रवारै पुगेको छ । टोलीले बडीगाड गाउँपालिकाको खरबाङ बजारको क्वारेन्टाइनमा रहेका ५९ जना, तमानखोलाको क्वारेन्टाइनमा रहेका ७ जनाको नमूना परिक्षण गरेको छ ।
पश्चिम गएका ३ टोलीमध्ये दुई वटाले आजैबाट काम सुरु गरेका र अर्काे टोली निसीखोलामा साँझ पुगेपनि शनिवारबाट काम सुरु गर्ने धौलागिरी अञ्चल अस्पतालका सुपरभाइजर देवप्रकाश घिमिरेले वताए । बागलुङ नगरपालिकामा रहेका टोलीले रामरेखा क्वारेन्टाइनमा २८ जनाको परीक्षण गरेको छ । नमूना परिक्षण गरिएका सवैको नतिजा नेगेटिभ आएको छ ।
संकट ब्यवस्थापन समितिले कार्यविधि र पालिका अनुसारका परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोली र परिक्षण गर्ने व्यक्तिको संख्या तोकेको छ । टोलीमा ढोरपाटन नगरपालिका र गल्कोट नगरपालिकाका लागि डिल्ली आचार्य र खीम विक, निसीखोली र काठेखोला गाउँपालिकाका लागि मोहन पौडेल र अर्जुन थापा, बडिगाड र ताराखोला गाउँपालिकाका लागि अर्जुन क्षेत्री र हरि शर्मा, बागलुङ नगरपालिकाका लागि सुजन बराल, अम्बिका वस्नेत र सोविता शर्मा स्वास्थ्य प्राविधिक रहेका छन् । ती टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्राविधिक पनि सहभागी रहेका छन् । जिल्लाको दक्षिण भेगमा रहेका जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा तीनै टोलीबाट नमूना परिक्षण गरिने छ ।
आरडिटी दु्रत परिक्षणका लागि बागलुङ नगरपालिकामा १ सय ९२ जना र बडिगाड गाउँपालिकामा १ सय ६१ जनाको पहिचान गराएको हो । अन्य पालिकामा संख्या कम छ । जस अनुसार बरेङ र काठेखोलामा ५६ जना, जैमिनीमा ८६ र निसीखोलामा १ सय ३ जना छनौट गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गुरौंले वताए ।
त्यस्तै, गलकोटमा १ सय २८, ताराखोलामा ३३ जना तथा ढोरपाटन नगरपालिका र तमानखोलामा ७८ जनाको स्वास्थ्य परीक्षण हुनेछ । भारत र अन्य मुलुकबाट चैत १ गतेपछि आएका नागरिकको सबै पालिका तहबाट निकालिएको तथ्यांकको आधारमा उक्त संख्या तयार गरिएको हो । चैत १ गते देखि आएर १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि लक्षण नदेखिएको भए परीक्षण गर्न नपर्ने ठहर समेत गरेको वैठकले गरेको छ । सामान्य लक्षण देखिएको वा १४ दिन नपुगेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर रगतमार्फत र्यापिड टेष्ट गरिने समितिले निर्णय गरेको हो ।
बिहिबारदेखि शुरु भएको कोरोना भाइरसको रेपिट टेष्ट अन्र्तगत पहिलो दिन गौंडाकोटमा परीक्षण थालिएको छ । पहिलो दिन अन्य काममा व्यस्त भएपछि स्वास्थ्यकर्मीको टोलीले ११ जनाको रगत परीक्षण गराएको थियो । उनीहरु सबैको नेगेटिभ देखिएको हो । बागलुङ नगरपालिकामा चैत ३० गते सम्म परीक्षण हुने बताइएको छ । त्यसपछि क्रमश ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिकामा २८ र २९ गते परीक्षण हुने बताइएको छ । बरेङमा चैत ३० गते र बैसाख १ गते, जैमिनीमा चैत ३० गते, काठेखोलामा चैत ३० गते, बडिगाडमा चैत २८ र २९ गते तथा गलकोट र ताराखोलामा चैत ३० गते परीक्षण हुनेछ । बागलुङ नगरभित्रको गौडाकोट र कुडुलेका ५० जनामा भने आरडिटी र स्वाब परीक्षणबाट दुवै प्रविधि मार्फत परीक्षण गरिने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुको अध्यक्षतामा दैनिक बस्ने बैठकले जिल्लाको अबस्था बारे बिष्लेषण समेत गर्न थालेको छ । साथै दैनिक रुपमा विभिन्न नाकाहरुमा पनि स्वास्थ्य परीक्षण गराइरहेको बताइएको छ । हाल जिल्लामा १२ वटा आइसोलेसन वार्ड तयार गरिएको छ । ती वार्डमा कोरोना संक्रमण पुष्टी भएमा राखेर उपचार गराइनेछ । त्यसबाहेक बागलुङ बजारमा ४० बेड र अन्य १८ स्थानमा गरी १ सय ५५ गरी १ सय ९५ वेड क्वारेन्टाइनका लागि तयार गरिएको समेत समितिले जानकारी दिएको छ । कतिपय मानिसलाई घरघरमै क्वारेन्टाइनको रुपमा रहन पनि निर्देशन दिइएको समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
हरेक दिनको बैठकले जिल्लाको अबस्था बारे गृह मन्त्रालयमा सूचना दिने गरेको छ । उक्त सूचनाको आधारमा जिल्लामा आवस्यक पर्ने सामाग्री, औषधि, उपकरण र उपचार सामाग्रीहरु माग्ने काम समेत भैरहेको हो । धौलागिरी अञ्चल अस्पतालमा बिहिवारदेखि प्रयोगमा आउने गरी १ सय थान पिपिइ आएका छन् । रेपिट टेष्टकालागि आएको टोलीले मन्त्रालयले पठाएका ती सामाग्री हस्तान्तरण गरेको थियो । पिपिइ अभावमा बिरामीको उपचार र नियमित सेवाका लागि समस्या भैरहेको थियो ।
नेपाल सरकारले पास गरेको गाइड लाइनहरु जिल्लाका सबै स्वास्थ्य संस्था, सरकारी तथा नीति अस्पताल र सुरक्षा निकायमा पनि जानकारी गराइएको छ । उक्त गाइड लाइन सहित अन्य समस्यामा परेका बिरामी र मौषमी ज्वरो वा रुघाखोकी लागेकाहरुलाई पनि नियमित उपचार सेवा दिन सबैलाई आग्रह गरिएको छ । धौलागिरी अञ्चल अस्पतालले पनि नियमित उपचारलाई खुलाउने तयारी गरेको छ । बिशेषगरी अस्पतालमा भैरहेका बिषेशज्ञ सेवालाई सुचारु गर्न लगाइएको प्रजिअ सैजुले बताए ।





