बागलुङ, २९ चैत– कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि बागलुङमा गठन गरिएको कमाण्ड पोष्टले शनिबार जिल्लाका पश्चिम क्षेत्रका पालिकाहरुको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको टोलीले शनिबार वडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा पुगेको हो । पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई भेटेर कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणको विषयमा भएका गतिविधिबारे जानकारी लिएको हो ।
अनुगमनका क्रममा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि स्थानीय तहले राम्रो तयारी गरेको पाईएको टोलीका सदस्य तथा जिल्ला सुरक्षा समितीका सदस्य सचिव तथा प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए । ‘स्थानीय तहले कोरोनाको संक्रमणको जोखिमलाई न्युनिकरण गर्नको लागि क्वारेन्टाइन बनाएको, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री जुटाईएको, लकडाउनका कारण समस्यामा परेका विपन्न तथा मजदुरहरुलाई केही पालिकाले राहत उपलब्ध गराएको र केहीले वितरणको तयारी गरिरहेको पाईएको सदस्य सचिव पन्तले जानकारी दिए । पालिकाका प्रमुखहरुको छलफलमा स्थानीय मात्र नभई सो क्षेत्रमा कार्यरत बाह्य मजदुरहरुलाई समेत राहतको व्यवस्था गर्ने, राहत वितरण गर्दा भीडभाड कम गर्ने विषयमा छलफल भएको थियो । 
पालिकाका स्वास्थ्य संयोजक र स्थानीय सुरक्षा निकायका प्रमुखहरुलाई समेत भेटेको टोलीले कोरोना रोकथामका लागि सरकारले गरेका प्रयासलाई कार्यान्वयन गराउन स्थानीय तहसंग समन्वयकारी भूमिका खेल्न कमाण्ड पोष्टबाट निर्देशन दिईएको पन्तले बताए । अनुगमनका क्रममा विभिन्न पालिकामा पुगेको कमाण्ड पोष्टको टोलीलाई त्यहाँका प्रमुखहरुले कोरोना रोकथामको विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।
प्रजिअ तथा कमाण्ड पोष्टका संयोजक गौलोचन सैजु नेतृत्वको टोलीमा अर्जुनवाण गणका प्रमुख सेनानी मिलनध्वज खाण, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्ट, राष्ट्रिय अनुसन्धन बागलुङका उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, सशस्त्र प्रहरी नायव उपरिक्षक बासुदेव लोहनी लगायत सहभागी थिए । टोलीले ढोरपाटन नगरका प्रमुख देव कुमार नेपाली, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, तमानखोलाका अध्यक्ष जोकलाल बुढा, वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, स्थानीय स्वास्थ्य संस्था र सुरक्षा निकायका प्रमुखसंग भेट गरेको हो ।






