बागलुङ, ३० चैत– कोरोना संक्रमण र लकडाउनमा बितरण गर्ने राहतको मापदण्डको खोजी गर्दा गलकोट नगरपालिकाले संकलन गरेको बिद्युतीय तथ्यांक प्रयोगमा ल्याएको छ ।
हचुवाको भरमा राहत बाँड्दा बिबाद आउने भएपछि बैज्ञानिक उपायको खोजी गरिंदा नगरपालिकाको बिद्युतीय लगत तथ्यांक प्रयोगमा आएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । केही समयअघि नगरपालिकाले तथ्यांक संकलन गरेको थियो । कार्यपालिकाको बैठकले पारित गरेपछि उक्त तथ्यांकमा देखिएका बिपन्न, मजदुरलाई राहत बितरणको काम भैरहेको बताए ।
तथ्यांक अनुसार, गलकोट नगरपालिकामा ६ हजार ८ सय ६३ घरधुरी रहेको पत्ता लागेको हो । तीमध्ये १ हजार ५ सय घरपरिवारलाई अभावको समयमा राहत बितरण गर्नुपर्ने मापदण्डमा राखेर बितरणको अभियान चलाईएको हो । नगरपालिकाले एक परिवारलाई २ हजार ५ सय रुपैयाँको दरले राहत बितरण गरिएको गैरेले जानकारी दिए । एक बोरा चामल, दाल, नुन, तेल र अन्य मसलासमेत गर्दा २ हजार ५ सयले पुगेको उनले बताए । ‘मदजुरी गरेर मात्र जीवन गुजारा गरेकालाई नगरपालिकाले टोलटोलमा पुगेर सामग्री बाडेका छौं’ उनले भने, ‘दाता भएर कोही आउन खोजेपनि नगरपालिकाको समन्वयमा मात्र गर्न पाउने निर्णय गरेका छौं ।’
नगरपालिकाभित्र झण्डै तीन सयजना बाहिरबाट आएर दुइचार महिनादेखि काम गरिरहेका मजदुर समेत भेटिएको थियो । उनीहरुलाई ४ जना बराबर एक परिवारमा गणना गरेर २ हजार ५ सय रुपैयाँ बराबरकै सामाग्री दिइएको छ ।
लकडाउनकै समयमा गलकोटमा ७ मजदुर पैदल हिडेर भित्रिएको भेटिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै बसेर पनि उनीहरुले गौंदीखोलाको पुलमा काम गरिरहेका छन् । तर, उनीहरुलाई खानेबस्ने व्यवस्थापन भने नगरपालिकाले गराएको वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । वडा नं. २ नरेठाँटीमा क्वारेन्टाइन बनाएर उनीहरुलाई राखिएको छ । लकडाउनकै समयमा आएका वडा नं. ८ का तीन जना युवालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको छ । आइतबार उनीहरुको रगत परीक्षणपछि घर पठाइएको छ । उनीहरुलाई अझै एकसातासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको गैरेले जानकारी दिए । भारतको गोरखपुरबाट उनीहरु पैदल हिडेर ५ दिनमा घर आइपुगेको बताइएको छ । आएको थाहा पाउनासाथ प्रहरीले रोकेको थियो । नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखेर उनीहरुलाई खाने बस्ने व्यवस्थापन गराइएपछि आइतवार १४ दिन पुगेको छ ।
नगरपालिकाले अन्य समयमा पनि बिपन्न, उमेरगत जनसंख्या र पेशा व्यवसायको लागत संकलन गरेको उपप्रमुख रेणुका काउचाले बताईन् । ‘यो तथ्यांकले बिकास निर्माण मात्र नभइ कल्णणकारी काममा अगाडि बढ्न पनि मिल्ने छ’ उनले भनिन्, ‘१८ बर्ष मुनीका बालबालिकाको तथ्यांकले शिक्षामा लगानी गर्ने बाटो तय गरेको छभने ६० बर्ष माथिको तथ्यांकले सामाजिक सुरक्षाको अबस्था बुझाएको छ ।’ नगरपालिका भित्र ३९ हजार ३ सय ६३ जनसंख्या रहेको र ४ हजार युवा बिदेशमा रहेको भेटिएको उनले बताईन् ।
ताराखोला गाउँपालिकाले लकडाउनको समयमा २० जना मजदुरलाई राहत दिएर राखेको छ । अर्गल खानेपानी आयोजनामा काम गरिरहेका र घर जान नसक्ने अबस्था भएका रुकुम र रोल्पाका उनीहरुलाई राहत दिएर राखेको अध्यक्ष प्रकाश घर्तीले बताए । सडक तर्फ काम गर्ने झण्डै २ सय जना लकडाउनकै एकदुइ दिनअघि नै घर गएका थिए । गलकोट नगरपालिका देखि ताराखोला जाने गरी चक्रपथ निर्माण भैरहेको छ । यो चक्रपथ कालोपत्रे गर्ने योजना छ । उक्त योजना पुरा गर्न धमाधम काम भैरहेको थियो ।





