पर्वत, १ बैशाख– पर्वत : सदरमुकाम कुस्मामा रहेको राष्ट्रिय बाल शिक्षा सदनमा बिज्ञान बिषय अध्यापन गराउने शिक्षक ऋषि रेग्मीको दैनिकी अहिले फेरिएको छ । बिदाको समयमा पनि सदरमुकाममा रहेर शिक्षण पेशामा संलग्न हुँदै आएका उनी अहिले सबेरै करेसाबारीमा तरकारी गोडिरहेका भेटिन्छन् त कतिबेला दाउरा काट्ने र चिर्ने काम गरिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण पैmलन नदिन नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन लागू गरेपछि उनी पनि सुरक्षित भएर बस्न जन्मघर फलेवास नगरपालिका ३ शंकरपोखरीस्थित रुग्दीमा आएका छन् । अध्ययनदेखि रोजगारीका लागि सानैमा गाउँ छाडेका उनी गाउँले काममा त्यती अभ्यस्त नभएपनि काम नगर्नुको बिकल्प नरहेको बताउँछन् । ‘बजारमा छँदा पढाउने काममा नै ब्यस्त हुनुपर्ने थियो, अहिले गाउँमा छँदा गाउँकै काम गरिएको छ । करेसाबारीमा तरकारी गोड्नेदेखि दाउरा चिर्ने काम पनि गरिरहेको छु ।’ ऋषि भन्छन्, ‘सुतेरै पनि दिन जाने कुरा भएन, गाउँमा आएका बेलामा सकेको काम गर्न सकियो भने बुबा आमाको काममा पनि सघाउ पुग्छ ।’
रुग्दी नै घर भई बागलुङ नगरपालिकामा रहेको एक विद्यालयमा अध्यापनरत शिक्षक राजु रेग्मी पनि लकडाउनको अवस्थामा घरका काममा सघाउनुको साथै बचेको समयमा स्वअध्ययनमा ब्यस्त रहेको बताउँछन् । ‘घरभित्रका कामदेखि घरबाहिरका काममा पनि परिवारका सदस्यहरुलाई सघाउने काम गरिरहेको छु ।’ उनले भने, ‘बाँकी रहेको समयमा मेरै अध्ययनका लागि बिभिन्न अनलाईन कोर्षहरु पनि हेर्ने गरेको छु, लोकसेवाका किताबहरु पनि हेरेर समय ब्यतित गरिरहेको छु ।’ 
ऋषि र राजु जस्तै गाउँमा रहेका धेरै शिक्षकहरु अर्मपर्म गर्दै गाउँकै काममा खटिरहेको भेटिन्छन् । सदरमुकाममा रहेर ट्यूसन, कोचिङ, भाषा कक्षा संचालनका काममा ब्यस्त हुने गरेका उनीहरु अहिले चाहेर पनि सदरमुकाम वा बजारमा रहन पाएका छैनन् । यही कारण गाउँमा बाँझा रहेका खेतबारीमा उम्रिएका झाडी सफा गर्ने, तरकारी लगाउने तथा गोडमेल गर्ने, घरायसी कामहरु गर्ने लगायतका कामहरुमा ब्यस्त देखिएका छन् ।
गाउँमा घर भएर पनि शहरबजारमा रहँदै आएका शिक्षकहरु जन्मगाउँमा फर्किएको भएपनि बजारक्षेत्रमा स्थायी रुपमा बसोबास गर्दै आएकाहरुको जनजीविका गाउँमा रहेका शिक्षकहरुको भन्दा फरक छ । बजार क्षेत्रमा प्रशस्त मात्रामा जग्गा जमिन नहुने भएका कारण कोठामै थुनिएर इन्टरनेट र किताबको साथमा समय व्यतित गर्नुपरेको बजारमा रहँदै आएका शिक्षकहरु बताउँछन् । बागलुङका बलेवा घर भई पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माविमा अध्यापनरत शिक्षक गोविन्द ढकालले फुर्सदको समय रहेकोले साहित्य र अनलाईन कोर्षहरुमा आपूm ब्यस्त रहेको बताए ।
‘फेसबुक लाईभमा आएर घण्टौँसम्म गजल तथा मुक्तकहरु वाचन गर्ने गरेको छु, धेरै साथीहरुसँग कुराकानी गर्न पाउँदा समय बितेको पत्तै हुँदैन ।’ उनी भन्छन, ‘यो बेलामा मसँग सामाजिक संजालमा जोडिएका विद्यार्थीहरुसँग अनलाईनमा अध्ययन अध्यापन सम्बन्धी छलफल पनि गरिरहेको छु ।’ इन्टरनेट र आइसिटी उपकरणहरु भएका विद्यार्थीहरुले घरमै बसेर पनि आपूmले अध्यापन गराउँदै आएको बिषयमा भेटिएका समस्याहरुको बारेमा सोध्ने गरेको र आपूmले पनि उनीहरुलाई अनलाईनबाट नै सहजीकरण गरिरहेको शिक्षक ढकालको भनाई छ ।
कुस्मामै घर भई चुवामा रहेको मंगलोदय माविमा अध्यापनरत शिक्षक देवेन्द्र पौडेलले आपूmलाई साहित्य क्षेत्रमा रुची भएका कारण यो समयमा कविता र मुक्तकहरु रचना गरेर समय व्यतित गरिरहेको बताउँछन् । खाली समयलाई सदुपयोग गर्दै साहित्यिक रचना गर्ने र अरुका रचनाको अध्ययन गरेर समय बिताउने गरेको उनको भनाई छ । पौडेलले भने, ‘खाली दिमाग सैतानको हाजिर भनिएजस्तो खाली बस्नुभन्दा केही न केही रचनात्मक कामहरु गरेर बस्दा मनमा चिन्ता र नराम्रो कुरा खेल्न पाउँदैन् ।’
कतिपय शिक्षक लेखन त कतिपय शिक्षक दूर शिक्षाको माध्यमबाट अध्यापन गराउने तयारीमा लागिरहेको बताउँछन् । कुस्मा नगरपालिका–२ खुर्कोटको हिमालय माविमा गणित बिषयको अध्यापन गराउँदै आएका शिक्षक जीवनाथ शर्माले रेडियो तथा अनलाईनको माध्यमबाट एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई जानकारीमूलक सामग्रीहरु पस्किने तयारीमा आपूm रहेको बताए । ‘हामी शिक्षकहरुको समूह नै तयार पारेर दूर शिक्षाको माध्यमबाट जिल्लाभित्र र बाहिरका विद्यार्थीहरुलाई पनि पढाउने गरी योजना तयार पारिरहेका छौँ । अहिले त्यसैको तयारीमा जुटीरहेको छ ।’ उनी भन्छन्, ‘एसईई सुरु हुने भनिएको दिनमा स्थगित भयो, तयारीमा रहेका विद्यार्थीहरुको मनोभावना बिग्रिएको हुन सक्छ, उनीहरु खाली बस्दा अध्ययन गरेका कुराहरु भुलेका हुन सक्छन । त्यो हुन नदिनका लागि हामीहरुले दूर शिक्षाको माध्यममा जोडिन लागेका छौँ ।’
शैक्षिक सत्र २०७६ को अन्त्य अन्त्यमा नेपालमा कोरोना बिरुद्ध लकडाउन गर्नुपर्ने अवस्था आएपछि शिक्षक र विद्यार्थीहरुको मानसिकतामा प्रभाव परेको छ । शैक्षिक सत्रको अन्त्यमा बार्षिक परीक्षा सम्पन्न गरेर कक्षा चढ्ने तयारीमा रहेको भएपनि नतिजा प्रकाशन हुन सकेका छैनन् । सरकारले भने बमोजिम चैत ५ गतेभित्रमा बार्षिक परीक्षाहरु सम्पन्न गरेका विद्यालयहरु नयाँ शैक्षिक सत्रमा जुन उत्साह र उमंगको साथमा कक्षामा जाने गर्थे त्यो भने कहिले हुने हो पत्तो छैन् । शिक्षकहरु समाजका बुभ्mने मान्छे भएकाले कोरोनाको बिषयमा परेको प्रभाव र विश्वव्यापी असरको बारेमा विद्यार्थीहरुलाई नयाँ शैक्षिक सत्रको सुरुमै प्रभावलाई कम गर्ने खालका क्रियाकलापहरु संचालन गर्नुपर्ने कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री बताउँछन् ।
‘एकाएक एसईई परीक्षा रोकिँदा र लगत्तै देशमा लकडाउन हुँदा विद्यार्थीहरुको दिमागको विश्व संकटको गहिरो छाप परेको छ । यो छापले उनीहरुलाई बिक्षिप्त पनि गराउन सक्छ, पढाइप्रति मन नजाने र यसैको बिषयमा मात्र कुरा गर्ने अवस्था रहन सक्छ ।’ क्षेत्री भन्छन्, ‘उनीहरुको मानसिकतालाई परिवर्तन गराई सकारात्मक सोचको विकास गरेर चिन्तालाई हटाउने भूमिका शिक्षकहरुको हो ।’ नयाँ शौक्षिक सत्रमा कुनै विशेष योजना नरहेको तर कोरोनाको विश्वब्यापी असर र यसबाट जोगिन सक्ने उपायका बारेमा विद्यार्थीहरुलाई आवश्यक ज्ञान प्रदान गर्नुपर्ने शिक्षकहरुको भनाई छ ।
‘शैक्षिक सत्र कहिलेबाट सुरु हुन्छ भन्ने कुरामा नै अन्योल होला जस्तो देखिएको छ । जहिलेबाट सुरु हुन्छ त्यो बेलामा विद्यार्थीहरुको मानसिकता बुझेर सोही अनुसारका रचनात्मक कामहरुमा उनीहरुलाई संलग्न गराउनुपर्छ ।’ कुस्मा नगरपालिका १ पाङका शिक्षक प्रकाश रिजाल भन्छन्, ‘नयाँ बर्षको नयाँ शैक्षिक सत्रमा यही नै गर्छु भन्ने त छैन तर अबको शैक्षिक सत्रमा कोरोनाबाट भयभित बनेका विद्यार्थीहरुको मानसिकतालाई ख्याल गर्नुपर्छ । उनीहरुलाई पहिलेको जस्तै सरल अवस्थामा ल्याउनुपर्छ ।’





