म्याग्दी ३ बैशाख– कोरोना संक्रमणलाई फैलिन नदिन सरकारले लागु गरेको लकडाउनलाई बेवास्ता गरी आवतजावत गर्ने मानिसलाई लक्षित गर्दै म्याग्दीका स्थानीय तहले बाटो र पुलमा बार लगाएर सुरक्षित हुने उपाय अपनाएका छन् । आवतजावतलाई रोक्ने र अटेर गर्नेलाई प्रहरीको जिम्मा लगाउन स्थानीयले बाटो र पुलमा बार लगाई चौकीदारी समेत गरेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबजारसंगै सीमाना जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा बेनी लगाएत अन्य ठाउँबाट मानिसहरु आउने क्रम बढेपछि बगरफाँटको रिभरसाइड युवा क्लबको पहलमा म्याग्दी नदीमाथिका तीनवटा पुल र पदमार्गमा बार लगाएर आउन जान नमिल्ने गरी बाटो छेकिएको क्लबका अध्यक्ष इन्द्रबहादुर जिसीले जानकारी दिए ।
मंगलाघाटको पाती चढाउनेको पदमार्ग, बुद्ध एकेडेमकी नजिकको म्याग्दी नदीमाथिको झोलुङ्गे पुल, डम्मरा बगरफाँट जोड्ने झोलुङ्गे पुल र चुत्रेनी र दुधेखोला जोड्ने झोलुङ्गे पुलमा बार लगाएर रोक्नुका साथै निगरानीका लागि पालैपालो गरेर चौकीदारी गर्ने गरिएको अध्यक्ष जिसीले बताए ।
त्यस्तै, बेनी नगरपालिका–३ भकिम्लीमा पनि स्थानीयको आउजाउ बढेपछि ठाउँठाउँमा बार लगाएर युवाहरु चौकीदारी गरिरहेका छन् । भकिम्लीका पर्यटकीय स्थल बेलढुङ्गा, स्वर्गाश्रम लगाएतका ठाउँमा लकडाउनको समय व्यतित गर्न मानिसहरु आउन थालेपछि यस्तो गर्नुपरेको बेनी नगरपालिका–३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए ।
यसैगरी, म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मुल सडकमा नै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयले ताल्चा लगाएका छन् । कोरोनाको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयले आवतजावतमा रोक लगाएका हुन् । आपतकालिनबाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका–६ दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए ।
यसैगरी, बेनी नगरपालिका–१ रत्नेचौरमा पनि बागलुङ र बेनपा–२ ज्यामरुककोट आउजाउ गर्ने सडकमा छेकवार लगाइनुका साथै स्थानीयले पालैपालो गरी चौकीदारी गर्ने गरेका बेनी नगरपालिका–१ का युवा मोहन महतले बताए । रत्नेचौरसंग सीमाना जोडिएको बागलुङको कुँडुलेकी एक युवतीमा कोभिड १९ को संक्रमण देखिएपछि फैलिने डरले सडकमा नै बार लगाई निगरानी गर्नुपरेको महतले बताए ।





