पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार गरिएको परीक्षणमा १ जनाको पोजेटिभ र अन्य सवैको नेगेटीभ रिर्पाेट आएको गण्डकी प्रदेशका श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री नरदेवी पुनले जानकारी दिईन ।
यो परिक्षण गण्डकी प्रदेशका १० जिल्लामा परिक्षण गरिएको छ । बुधवारसम्म प्रदेशको सवैभन्दा बढि बागलुङ जिल्लामा १ हजार ७ जनाको र सवैभन्दा कम मुस्ताङमा ७ जनाको मात्रै आरडिटी परिक्षण गरिएको छ । कास्कीमा ३२९ जना, स्याङजामा ४३६ जना, तनहुँमा ३९२जना, लमजुङमा १४९ जना, गोरखामा १६० जना, पर्वतमा २६५ जना, म्याग्दीमा १३० जना र नवलपुरमा २०७ जना परिक्षण गरिएको छ । मनाङमा कोरोना परिक्षण सुरु नै भएको छैन ।
बागलुङमा सरकारले तोकेको मापदण्डमा पर्नेहरुको आरडिटी परीक्षण सकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । कोरोना संक्रमित १९ बर्षिया युवतीको सम्पर्कमा आएकाहरु २१ जनाको थ्रेट स्वाब बुधवार संकलन गरिएको छ । उनीहरुको स्वाब बिहिबार बिहान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने गुरौले जानकारी दिए ।
यसैविच, कोरोना रोकथाम, नियन्त्रण र उपचार संयन्त्रका संयोजक तथा प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले दिउसो सवै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग भिडियो कन्फ्रेन्स गरेका छन् । सो अवसरमा मुख्यमन्त्रीले जिल्लामा भैरहेको लकडाउनको अवस्था, खाद्यान्न तथा औषधीको आपुर्ति, शान्ति सुरक्षा र कोभिड १९ संग समबन्धित कार्यक्रमको वारेमा जानकारी लिएर आवश्यक निर्देशन दिएका छन् ।





