आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ र काठेखोलाले बनाएको राहत कोषमा जनसहभागिता बढ्दै

बागलुङ र काठेखोलाले बनाएको राहत कोषमा जनसहभागिता बढ्दै

खाद्य बैंकबाट ३ सय ४९ विपन्न तथा मजदुरले राहत सामग्री लिए


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०७७, शनिबार

बागलुङ, ६ बैशाख– बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले स्थापना गरेका कोरोना कोषमा सहयोग थपिने क्रम चलिरहेको छ । सर्वसाधारण, बिभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्वि भएको हो ।
काठेखोलाले कोषमा सहयोग गर्ने दाताको नामनै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । हालसम्म गाउँपालिकाको कोषमा संस्था र व्यक्ति गरि ६२ जनाले सहयोग गरेको अध्यक्ष अमर थापाले बताए । काठेखोलाको कोषमा सबैभन्दा बढी एक लाख रुपैयाँ प्रभू बैंकका सिईओ अशोक सेरचनले सहयोग गरेका छन्भने सोही ठाउँका समान्य परिवारले कम्तिमा दुई हजार रुपैयाँसम्म कोषमा जम्मा गरेको तथ्यांक छ ।
काठेखोलाको कोष अहिले बढेर २७ लाख ४६ हजार ९ सय ११ रुपैयाँ पुगेको छ । कोषबाट बिभिन्न स्वास्थ्य सामग्रीको खरिद, निशुल्क एम्बुलेन्स सेवाको सञ्चालनदेखि विपन्न तथा मजदुरहरुका लागि रहात बाँड्नेसम्मका काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए । ‘कोषमा धेरै संघरसंस्थाले उत्साहजक रुपमा सहयोग गरि रहनुभएको छ,’ अध्यक्ष थापा भन्छन् ‘स्थानीय सरकारसँग सर्वसाधारणको जुन विश्वास देखियो यो हामी मर्न दिन्नौं ।’
बागलुङ नगरपालिकाको कोषमा ६५ लाख ३२ हजार ४ सय ३३ पुगेको छ । नगरले आन्तरिक स्रोतको परिचालन गरेर ५० लाख रुपैयाँ जम्मा गरेर कोष खडा गरेको थियो । गण्डकी सरकारले पठाएको दश लाख रुपैयाँ सोही कोषमा राखिएको छ । नगरका कर्मचारीहरुको मासिक तलबबाट केही प्रतिशत कट्टा जम्मा भएको ३ लाख २ हजार रुपैयाँ पनि सोही कोषमा छ । अन्य दाताहरुबाट २ लाख ३० हजार ४ सय ३३ रुपैयाँ कोषमा जम्मा भएको छ ।
जिल्लाका दुई सहकारी संस्थाले समेत कोषमा रकम जम्मा गरेका छन् । जिल्ला दुग्ध उत्पादक संघले ५० हजार र आदर्श सञ्चार सहकारी संस्थाले ५० हजार रुपैयाँ कोषमा जम्मा गरेका हुन् । कोषबाट राहत, औषधि उपचार, सामग्री खरिद र उद्धार लगायतका काम चलिरहेको योजना अधिकृत युक्त प्रसाद सुवेदीले बताए । नगरका जनप्रतिनिधिहरुको भने सुविधा कट्टा भएकाले कोषमा कुनैपनि योगदान गरेका छैनन् ।
यसैबिच, बागलुङ नगरपालिकाले सञ्चालन गरेको खाद्य बैंकबाट हालसम्म बागलुङ नगरपालिकाका ४ वडाका ३ सय ४९ विपन्न तथा मजदुरले राहत सामग्री लिएका छन् । वडा नं १ का ५ जना, २ का ८७ जना, ३ का ७३ जना र ४ का १६९ जना विपन्न तथा मजदुरहरुले राहत सामग्री लिएका हुन् । बिहिबारसम्म खाद्य बैंकले ३ हजार २ सय ७० किलो चामल, ३ सय २९ किलो दाल, ३ सय २७ वटा साबुन, ३ सय २९ पोका नुन र ३ सय २९ पोका तेल वितरण भएको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->