बागलुङ, ८ बैशाख– कामना सेवा विकास बैंकले यहाँ रहेको मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । बैंकले बागलुङ शाखाका कर्मचारीको एक दिनबापतको तलब कट्टा गरी खाद्यान्न सहयोग गरेको जनाएको छ ।
आश्रमलाई चामल, दाल, नुन, चाउचाउ लगायतका २२ हजार बराबरको खाद्यान्न सहयोग गरेको बैंकका धौलागिरी क्षेत्र प्रमुख टंकनाथ लामिछानेले बताए । अन्य समयभन्दा लकडाउनको समयमा यहाँ आश्रित नागरिकहरुलाई खाद्यान्नको समस्या हुनसक्ने भएकाले सहयोग गरेको उनको भनाई थियो । कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडाध्यक्ष लक्ष्मी बास्कोटाले मानवसेवा आश्रम धौलागिरीकै आशाको किरण भएपनि यतिबेला कोरोनाको जोखिमका कारणले बाहिर भएका ब्यक्तिहरूलाई आश्रममा राख्न असमर्थ भएको बताइन् । कतिपय बेला मानवीयता भएपनि रोग र संक्रमण भित्रिने डरको कारणले समस्या आउने गरेको अध्यक्ष बाँस्कोटाले बताईन् । आश्रममा महिला, अपांग, जेष्ठ नागरिक, बालबालिका गरि ४२ जनाले आश्रय लिएर बसिरहेका छन् ।





