पर्वत, ९ बैशाख– जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा बाहिर ननिस्कन भनिरहेको बेलामा त्यसलाई उल्लंघन गरेका २६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । प्रशासनले कोरोना भाइरस पैmलन सक्ने जोखिमका कारण विशेषगरी बजारमा बसोबास गर्दै आएका आम नागरिकलाई ‘मर्निङवाक’ मा समेत नजान भन्दै सूचना जारी गरेको भएपनि अटेर गरी मंगलबार बिहानै सडकमा ‘मर्निङवाक’ का लागि निस्किएकाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
डिएसपी अर्यालका अनुसार, सदरमुकाम कुस्माबजारबाट दुर्लुङचोकहुँदै गोदामतर्फ ‘मर्निङ वाक’ का लागि हिँडेकाहरूलाई प्रहरीले दुर्लुङचोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका २६ जनालाई चोकमा नै सामाजिक दुरी कायम हुने गरी उभ्याएर आधा घण्टासम्म सम्झाईबुझाई गरेर छोडिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रशासनले पटक–पटक सूचना जारी गर्दै ‘लकडाउन’ कायम रहेको अवस्थासम्म हुलहुज्जत नगर्न, अत्यावश्यक बाहिर निस्कन परेमा सामाजिक दुरी कायम गर्न, मर्निङवाकमा नजान लगायतका निर्देशन दिँदै आएको भएपनि नागरिकले भने त्यसलाई अटेर गर्दै आएका थिए । ‘मर्निङ वाक’ मा जानेहरूका कारण सबेरैबाट सदरमुकामबाट विभिन्न ठाउँमा जोडिएका सडकहरूमा भिडभाड बढिरहेको गुनासो बढ्दै गएपछि प्रशासनले ती ठाउँमा निगरानी बढाएको छ ।





