म्याग्दी, ९ बैशाख– बेनी नगरपालिका–२ ज्यामरुककोटका डम्मरबहादुर पोख्रेल सोमबार बेलुकी परेको असिनाका कारण रातभरी सुत्न सकेनन् । पोख्रेलको आम्दानीको मुख्य स्रोत भनेकै अन्नबाली र तरकारी हो । गत असोजमा भित्राउने तरखरमा रहेको धान असिनाले चुटेर सखाप बनाएपछि रुनु न हाँस्नुको अवस्थामा पुगेका ज्यामरुककोटका किसानहरु अहिले पाक्नै लागेको गहुँ पनि असिनाले ध्वस्त बनाइदिएपछि अब के खाएर बाँच्ने भन्ने पीडाले थलिएका छन् ।
सोमबार दिउँसैदेखि म्याग्दीको ज्यामरुककोट, भकिम्लीको तोराखेत लगाएतका क्षेत्रमा परेको भीषण असिनापानीले त्यस क्षेत्रको गहुँ लगाएत तरकारी र फलफूलबाली पूर्णरुपले नष्ट गरेको छ । ज्यामरुककोटको फापरखेत, भकुण्डे, सानालेख, तमाने, गौश्वारा, भकिम्लीको तोराखेत, डाँडाखानी लगाएत पश्चिम म्याग्दीका अधिकांश ठाउँमा सोमबार परेको असिनापानीले गहुँ, जौ, उवा लगाएतका खाद्यान्न र तरकारी तथा फलफूल बालीलाई ठूलो क्षति पु¥याएको छ ।
बेनी नगरपालिका–२ सानालेखका कृषक हरिप्रसाद शर्माले असिनाका कारण खेतमा पाक्नै लागेको गहुँ र भर्खरै मुना लागेको सुन्तला खेती कामै नलाग्ने गराइदिएको बताए । ‘यहाँका किसान अब के खाएर बाँच्ने हो भनेर चिन्तित छन्’ शर्माले भने ‘एकातिर कोरोनाको महामारी छ, अर्कोतिर असिनाले बाली चुटेर भोकमरी हुनेभयो ।’ ज्यामरुककोटमा गत असोजमा दश वर्ष यताकै ठूलो असिनापानी परेर धानबाली नष्ट गर्दा त्यहाँका किसानले १ पाथी धान पनि भित्राउन पाएका थिएनन् ।
सरकारले त्यहाँका २ सय १६ जना असिना पीडित किसानलाई राहत स्वरुप ३८ लाख रुपैयाँ उपलव्ध गराएको र सो रकम सरकारी मापदण्डअनुसार वितरण गर्ने तयारी गरिएकोमा लकडाउनले रोकिएको बेनपा–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताए । ‘असिनाले धानबाली नष्ट हुँदा समस्यामा परेका यहाँका किसान यसपटकको गहुँबाली पनि नष्ट भएपछि ठूलो समस्यामा परेका छन्’ अध्यक्ष थापाले भने ‘लकडाउन खुल्नेवित्तिकै सरकारबाट प्राप्त राहत रकम किसानलाई उपलब्ध गराउने छौ ।’ वडाअध्यक्ष थापाले गहुँ, तरकारी र फलफूलबालीको क्षतिको विवरण संकलन गरि नगरपालिकाबाट राहत उपलव्ध गराउन आफूले सक्दो प्रयास गर्ने बताए ।
असिनाले धान र गहुँमात्रै होइन यस क्षेत्रमा लगाइएका बेमौसमी तरकारी खेतीसहित मकैबाली पनि सखाप बनाइदिएको कृषकहरूले बताएका छन् । कृषक डिलबहादुर थापाका अनुसार, असिनाले काउली, बन्दा, टमाटरलगायत तरकारी बाली नष्ट भएका छन् । ‘खेतमा लगाइएको अन्न जति सखाप भएका छन्’ कृषक थापा भन्छन्– ‘बेच्न तयार भएका तरकारी र फलफूल सोत्तर पारेको छ ।’
यसैबीच, मंगलबार दिउँसोदेखि परेको असिनापानीले पश्चिम बागलुङमा बालीनालीमा क्षति पुगेको छ । हिउँसरी परेको असिनापानीले खेतबारीमा लगाएको मकै, तरकारी र फलफुलबाली नष्ट भएको किसानहरुले बताएका छन् । भीषण असिनाले हुर्कंदै गरेको मकैबाली र तरकारीमा क्षति पुयाएको स्थानीयले बताएका छन् । बडिगाड गाउँपालिका–८ पुरानोगाउँका गंगबहादुर श्रीसले मंगलबार परेको असिनापानीले मकैबालीमा नराम्ररी असर पारेको बताए ।
‘लकडाउनको समय छ, खानेकुरा साँच्नुपर्ने बेला हुर्कंदै गरेको बाली र फलेको तरकारीमा असिनाले क्षति पु¥यायो’ बडिगाड–३ का वडा अध्यक्ष खडक पुनले भने ‘बन्दा, साग, लसुन–आलु लगायतका तरकारी पनि बाँकी राखेन् ।’ बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले असिनापानीले गाउँपालिकामा किसानले लगाएको खेतीबाली नष्ट पारेको बताए ।





