शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तीन दिनमा १४ सयबढि मुस्ताङी जिल्ला फर्किए, क्वारेन्टाइन रित्तै

तीन दिनमा १४ सयबढि मुस्ताङी जिल्ला फर्किए, क्वारेन्टाइन रित्तै

पोखरा र काठमाडौंबाट थप ५ बस मुस्ताङी जिल्ला आउँदै छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७७, मंगलबार

जोमसोम, १६ बैशाख – कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण अलपत्र परेका मुस्ताङी शनिबारदेखि घर फर्किरहेका छन् । म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र घासा प्रहरी चेक पोष्टले दिएको जानकारी अनुसार मंगलबारसम्म १२ सय ३ जना मुस्ताङी जिल्ला फर्किएका हुन् । जसमध्ये चालकको संख्या ८३ जना छ ।
चेक पोष्टले जनाएअनुसार ३ दिनमा ३४ वटा बस, जीप १५, ट्याक्सी १, एम्बुलेन्स १ र मोटरसाइकल ५ वटा मुस्ताङ भित्रिएका छन् । जसमा ६ सय ९९ पुरुष र ५ सय ७ जना महिला छन् । बाटोमा आउँदै गरेको थप बसमा करिव १ सय २० जना मुस्ताङी रहेको चेक पोष्टले जनाएको छ । पोखरा र काठमाडौंबाट थप ५ बस मुस्ताङी जिल्ला आउँदै छन् ।
लकडाउनको अवस्थामा जिल्ला फर्किने संख्या बढ्न सक्ने जनाइएको छ। दुई दिन सरकारले लकडाउन केही खुकुलो पारेको थियो । जिल्ला स्तरीय बैठकमा समेत सांसद , स्थानीय तह, प्रशासन र सुरक्षा निकायबीच अलपत्र मुस्ताङीलाई उद्दार गर्ने सहमति भएको थियो । सोही अनुसार स्थानीय तहको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, पालिका, वडा र गाउँमुखियाको रोहबरमा जिल्ला फर्किनेको सूची संकलन गरी स्थानीय प्रशासनलाई बुझाएपछि जिल्ला बाहिर रहेकालाई उद्दारकार्य सुरु गरिएको थियो।
सरकारले सोमबारदेखि लकडाउन कडाइ गर्न ७७ वटै जिल्लालाई परिपत्र पठाए पनि पोखरा र काठमाडौंलगायतका स्थानबाट हिँडेका मुस्ताङीलाई जिल्ला फर्काउन स्थानीय प्रशासनले सहजीकरण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला फर्किएकालाई भित्र्याएर नाका शिल गर्ने योजना रहेको प्रजिअ वेदप्रकास अर्यालले जानकारी दिए । बुधबारदेखि अतिआवश्यकीय सेवा बाहेक नाकामा आउजाउलाई कडाइ गर्ने प्रजिअ अर्यालले बताए।
यता ,मुस्ताङ फर्किएका सबैलाई जिल्लाका स्थानीय तहले सरकारी क्वारेन्टाइनमा नराखी घर घरमा पठाएको छ । केही स्थानीय तहले समाजघर, गुम्बा स्कुल र सामुदायिक स्कुलमा राखेका छन्। जिल्ला फर्किनेलाई क्वारेन्टाइनमा नराखी घरघर पठाएपछि पालिकाले व्यवस्था गरेको सरकारी क्वारेन्टाइन रित्तै छन्।
स्थानीय तह र विभिन्न गाउँसमाजले लाखौं रुपैयाँ खर्चिएर क्वारेन्टाइन निर्माण गरेपनि जिल्ला आउनेलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । नयाँ अनुहारलाई होम क्वारेन्टाइनमा बस्न लगाएपछि जिल्ला रहेका सर्वसाधारण कोरोना त्रास बढेको भन्दै चिन्तित छन् ।
स्थानीय तहले क्वारेन्टाइन क्षमता कम भएको जनाउँदै जिल्ला फर्किएकालाई घर घरमा पठाएको हो । घर फर्किएकाको स्थानीय गाउँ मुखिया कोभिड(१९ संकट व्यवस्थापन केन्द्र लगायतले अनुगमन गर्ने भनिए पनि अनुगमन फितलो भएको उपल्लो मुस्ताङका एक युवाले जानकारी दिए । सरकारी मापदण्डअनुसार एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्नेलाई अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्राबधान बनाइएपनि स्थानीय तहले नियम मिचेर ७ दिन मात्रै होम क्वारेन्टाइनमा बस्न लगाएका छन् । होम क्वारेन्टाइनमा राखिएपछि स्वास्थ्य परीक्षण तथा होम क्वारेन्टाइन निगरानी गर्न अप्ठ्यारो पर्ने ती युवाले बताए ।
स्थानीय प्रशासनले गाउँ मुखिया, जनप्रतिनिधि र नेपाली सेना, सशस्त्र र नोपली प्रहरीले अनुगमन गर्ने र नियम उलंघन गरे क्वारेन्टाइनमा राख्ने बताएको थियो । होम क्वारेन्टाइनमा राख्ने शर्तमा जिल्ला ल्याइएका केही व्यक्ति खुलेआम गाउँ घुमफिर गर्न थालेका छन् । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम गर्न मुस्ताङका ५ वटै गाउँपालिका १६ स्थानमा ९६ बेडको क्वारेन्टाइन बनेको छ भने थासाङको लेते र जोमसोममा ८ बेडको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->