काठमाडौं, १८ बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपछि बैठकमा चर्काचर्की भएको छ। बुधबार बालुवाटारमा बसेको बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार बैठक सुरु भएलगत्तै प्रचण्डले करिब ४५ मिनेट बोलेका थिए।
सरकार र पार्टी दुबै कमजोर बन्दै गएको आरोप लगाउँदै ओलीले मार्गप्रशस्त गनुपर्ने आग्रह गरेका थिए। प्रचण्डको आग्रहपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफु मार्गप्रशस्त गर्न तयार रहेको भन्दै एउटा ‘सरप्राइज’ प्रस्ताव राखेका थिए। ओलीको भनाई उधृत गर्दै ती सचिवालय सदस्यले भने, ‘ठिक छ म दुबै पद छाड्न तयार छु। तर त्यसका लागि मेरो एउटा सर्त छ। संविधान संशोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। माधव नेपाललाई अध्यक्ष बनाऔं।’ ओलीले यस्तो प्रस्ताव गरेपछि बैठकमा केहीबेर सन्नाटा छाएको थियो।
त्यसपछि गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रस्ताव यो समयमा ठिक नभएको भन्दै मिलेर संकटको सामना गनुपर्ने बेला आपसमै कलह मच्चाएर सरकार र पार्टी दुबैलाई बदनाम गर्न नहुने बताएका थिए। उनले सरकारलाई कमजोर पार्ने र पार्टीलाई फुटाउने नियोजित खेलमा विभिन्न तत्वहरु सक्रिय भएको हुँदा यसमा सचेत रहेर संयम एवंम सुझबुझ देखाउन र पार्टीलाई एकताबद्ध भएर अगाडी बढाउन दुबै अध्यक्षलाई आग्रह गरेका थिए।
नेकपा सचिवालय बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको थियो। राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि पार्टीभित्र ओलीले पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व दिन असफल भएको आवाज उठेको थियो। त्यसलाई बैठकमा अध्यक्ष दाहालले व्यक्त गरेका थिए।अध्यक्ष दाहालले गरेको प्रधानमन्त्रीको राजीनामा मागमा वरिष्ठ नेता नेपालले पनि थपेका थिए। सचिवालयका एक सदस्यका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्रीले भने, ‘कोरोनाको संकटसँग जुधिरहेका बेला सरकारको नेतृत्व गरिरहेको व्यक्तिले राजीनामा दिन सक्दैन। राजीनामा दिनै पर्ने अवस्था आए कोरोनापछि दिउँला।’
प्रधानमन्त्रीको भनाइ थियो, ‘अहिले तपाईहरूले मागेजस्तो म न प्रधानमन्त्रीबाट राजीनामा दिन्छु, न अध्यक्षबाट नै। बरु अध्यक्ष दिएरै समस्या समाधान खोज्ने हो भने पार्टीमा तीन अध्यक्ष बनाऔं, माधवजीलाई तेस्रो अध्यक्ष बनाऔं।’ प्रधानमन्त्रीमा वामदेवको प्रस्ताव राख्दै प्रधानमन्त्रीले भने, ‘वामदेवजीले प्रधानमन्त्री हुन गरिरहेको रहर पनि पूरा हुने गरी कोरोनापछि बरु उहाँलाई प्रधानमन्त्री बनाएर जान म तयार छु। मैले प्रधानमन्त्री पद छाड्नै पर्ने भए नयाँलाई अवसर दिऔं। त्यो उपयुक्त व्यक्ति वामदेव हुनुहुन्छ। साथीहरू प्रधानमन्त्री भइसक्नुभएको छ। कोही एकपटक, हामी दुई जना त दुईपटकसम्म पनि भइसकेका छौं। नयाँलाई नै किन अवसर नदिने ? दिऔं, म तयार छु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘वामदेवजीलाई अवसर दिऔं। कुनै क्षेत्र खाली गरौं। उहाँलाई उठाऔं।
दाहाल र नेपालले भने अध्यादेश प्रकरण, त्यसपछि सांसद अपहरणसम्मका काण्डले पार्टी र सरकारलाई बदनाम गरिरहेकाले यसबाट पार्टी, सरकार र नेतृत्वलाई जोगाउन प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने जिकिर गरेका थिए। वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि विवाद आएपछि नेतृत्वले गम्भीर भएर विकल्प दिन सक्नुपर्ने र पार्टीको जनमत जोगाउनुपर्ने धारणा राखेका थिए।
महासचिव विष्णु पौडेल र उपाध्यक्ष गौतमले भने प्रधानमन्त्री इमानदार बन्न प्रयास गर्नुपर्ने धारणा राखेका थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकता सुढृढ गर्ने, सरकारलाई बलियो बनाएर लैजाने गरी जानुपर्ने र अहिले विवाद गर्ने बेला नभएको भन्दै ओलीको बचाउ गरेका थिए। गृहमन्त्री थापाले पार्टीभित्र एकअर्कालाई निषेध गरेर जाने कुराले राम्रो नगर्ने भन्दै कमजोरीलाई सच्याएर एकताबद्ध भई जानुपर्ने बताए।
बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तावले नयाँ मोड लिएपछि नेताहरुले यस विषयमा थप गृहकार्यको आवश्यकता महसुस गरेका थिए। बुधबारको सचिवालयमा नेताहरूले खुलेरै आफ्ना भनाइ राखेको वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘पार्टीभित्र र बाहिर देखापरेका सबै समस्याका विषयमा पार्टी बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ। अब अर्काे बैठक बसेर स्थायी समिति बैठक टुंगो लगाउने समझदारी बनेको छ’, वरिष्ठ नेता खनालले भने।
अब सचिवालय बैठक २० वैशाखमा पुनः बस्नेछ। २० स्थायी समिति सदस्यले पार्टी बैठक माग गरेका विषयमा पनि सोही बैठकमा मात्र निर्णयमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। श्रेष्ठले पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र पार्टी स्थायी समिति सदस्यहरुले माग गरेअनुसारको स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको बताए।‘पार्टीको नेतृत्व टिमले अहिले गरिरहेको अनौपचारिक गृहकार्यको प्रक्रिया अगाडि बढाउँदै २० गते पुनः सचिवालय बैठक बस्ने कुरा भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेको आवश्यकतासँग मेल खाने र जनताले दिएको जनादेशसहितका सामाजिक रुपान्तरणका विषयमा पनि उपयुक्त निर्णयसहितको आवश्यक प्रस्ताव तयार पार्ने र आउने बैठकबाट स्थायी समिति बैठकको मिति तय गर्ने कुरा भएको छ।’ दुई दिन नेताहरुले आन्तरिक गृहकार्य गर्ने र त्यसपछि २० वैशाखमा सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ।





