बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महाशिलाका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर भत्ता

महाशिलाका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर भत्ता


  • संजय रेग्मी
  • बैशाख २० २०७७, शनिबार

पर्वत, २० बैशाख– कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिरहेका छैनन् । तर, यही परिस्थितिका बीच पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी लाम्तुनका ९१ वर्षीय पूर्णबहादुर गुरुङले १२ हजार सामाजिक सुरक्षा भत्ता आफ्नै घरमा बुभ्mन पाएका छन् । भत्ताकै लागि पालिकामा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको शाखामा पुग्नुपर्ने बाध्यता भएपनि भत्ता लिन उनले बैंक धाउनु परेन ।
सोही ठाउँका ७६ वर्षीय दलवीर गुरुङलाई पनि जनप्रतिनिधि र बैङ्कका कर्मचारीहरू घरमै पुगेर भत्ता स्वरूप पाउने रकम हस्तान्तरण गरे । ३ नं. वडा बालाकोटका ८६ वर्षीय बिनुदत्त पौडेललाई पनि सामाजिक सुरक्षा भत्ता पाउनकै लागि बैङ्कसम्म धाउनु परेन । ‘लौरी टेकेर जाँदा ३ घण्टा लाग्छ मलाई, अहिले तो के हो भाइरस आको रछ, सर्छ भनेर बाबुहरूले घरमै भत्ता ल्याइदिएछन्’ लाम्तुनका पूर्णबहादुरले भने ।
बैङ्कबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदा बैङ्कमै भिडभाड हुने र ज्येष्ठ नागरिकहरू लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हुँदा संक्रमणको जोखिम बढ्ने भएकोले कतिपयको भत्ता घरमै पुगेर दिएको तथा कतिपयलाई निश्चित ठाउँमा जम्मा पारेर बाँडिएको प्रवक्ता उचैले जानकारी दिए । उनले भने, ‘भाइरसको जोखिमका कारण मानिसहरूबिच भेटघाट हुन पनि भएको छैन, भत्ता नबाँड्ने हो भने ज्येष्ठ नागरिकलाई खानकै समस्या पनि हुन सक्छ ।’
सामान्य रूपमा हिँड्न सक्नेहरूको हकमा भने घरमा नपुगी पायक पर्ने स्थानमा भेला पारेर सामाजिक दुरी कायम गर्दै भत्ता उपलब्ध गराइएको प्रवक्ता जीवन उचै ठकुरीले बताए । राष्ट्रिय वाणिज्य बैङ्क लुँखुदेउराली शाखाका प्रबन्धक सन्दीप पौडेलले पनि बैङ्कबाट भत्ता वितरण गर्नुभन्दा घर घरमा पुग्दा वा पायक पर्ने स्थानमा बोलाएर उपलब्ध गराउँदा भाइरस संक्रमणको जोखिम कम हुने भएकोले पालिकाको प्रस्ताव अनुसार घरघरमा पुगेर भत्ता बाँड्ने काम गरिरहेको बताए ।
महाशिला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला लगायतको संख्या १६ सय ५० रहेको छ । उनीहरूको लागि एक चौमासिकमा मात्रै झन्डै १ करोड २० लाख रुपैयाँ खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->