बागलुङ, २२ बैशाख– स्वास्थ्य कार्यालय बागलुङलाई जिल्लामा क्रियाशिल दुई गैरसरकारी संस्थाले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । भीमापोखरा युवा क्लब (बिवाईसी) र धौलागिरी एकिकृत ग्रामिण बिकास केन्द्र (डिआईआरडिसी) बागलुङले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
फेयरमेड नेपालमार्फत जिल्लाका छ स्थानीय तहमा ग्रामिण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरिरहेको बिवाईसीले सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई उपलव्ध गराउने गरी सामग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य कार्यालयमार्फत परियोजना सञ्चालनमा रहेका गाउँ तथा नगरपालिकाका स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष तोयानाथ गौतमले बताए ।
जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला, बडिगाड र बरेङ गाउँपालिकामा परियोजना सञ्चालनमा रहेको छ । फेरमेडको सहयोगमा क्लबले ६० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिई) २० थान ग्वोस्, १०० थान एन–९५ मास्क, ५०० थान सेनिटाईजर, १५ थान ज्वरो नाप्ने थर्मल गन, सर्जिकल मास्क १ हजार थान लगायत ४ लाख ५५ हजार ९ सय ७१ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
फेयरमेडका प्रतिनिधि तथा क्लबका उपाध्यक्ष सम्मिलित टोलीले स्वास्थ्य कार्यालय पुगेर जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलाई सामग्री हस्तान्तरण गरेका थिए ।
विदेशमा रहेका बागलुङेबाट सहयोग आउने क्रम जारी

यसैबीच, डिआईआरडिसीले विदेशमा बसोबास गर्ने नेपालीहरुले संकलन गरेर पठाएको सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयलाई उपलव्ध गराएको छ । जिल्लाभर रहेका ६१ वटा स्वास्थ्य संस्थालाई सामग्री पुग्नेगरी लण्डनमा रहेका कृष्ण प्रसाद शर्मा र स्पेनमा रहेका एकराज गिरीले त्यहाँ रहेका नेपालीसंग आर्थिक संकलन अभियान चलाएका थिए । उनीहरुले डिआईआरडिसीमार्फत स्वास्थ्य कार्यालयलाई सामग्री उपलव्ध गराएका हुन् । उनीहरुले ७० थान पिपिइ, ४ हजार थान सर्जिकल मास्क र १ सय ३० थान ग्वोवस् उपलव्ध गराएका थिए । संस्थाका अध्यक्ष केवी रानाले उक्त सामग्रीहरु कार्यालय प्रमुखलाई हस्तान्तरण गरेका थिए ।





