बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लकडाउनमै ठडिए म्याग्दीमा भूकम्प पीडितका ६ घर

लकडाउनमै ठडिए म्याग्दीमा भूकम्प पीडितका ६ घर

घरबिहीनलाई गाउँलेले बनाइदिए घर, जिल्लामा ५ सय १५ घर निर्माण


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७७, शुक्रबार

म्याग्दी, २६ बैशाख– विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न नेपाल सरकारले पनि देशैभरी लकडाउन गरेको डेढ महिनाको अवधिमा म्याग्दीको एउटै गाउँमा ६ जना भूकम्प पीडितले घर निर्माण गरेका छन् । २०७२ को महाभूकम्पबाट प्रभावित बेनी नगरपालिका–२ बगरफाँटका ६ जनाले लकडाउनको सदुपयोग गरी घर निर्माण गरेका हुन् ।
लकडाउनको समय सदुपयोग गरी बेनी नगरपालिका–२ बगरफाँटका नरबहादुर कार्की, गोविन्द प्रसाद शर्मा, भीमबहादुर कार्की, धन बहादुर कार्की, धु्रब प्रसाद शर्मा र बेद प्रसाद उपाध्यायले घर निर्माण गरेका हुन् । जिल्ला आयोजना कार्यान्वयन इकाई पुननिर्माण प्राधिकरण म्याग्दीका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार, म्याग्दीमा पछिल्लो समय भूकम्प प्रभावितहरुका आवास निर्माणको कामले तिब्रता पाएको छ ।
महाभूकम्पबाट प्रभावितहरुमध्ये म्याग्दीमा २०७२ सालको सर्वेक्षणबाट ८ सय ८४ जना र छुट तथा पुनसर्बेक्षणबाट १ सय ८० जनागरी १ हजार ६४ जना लाभग्राहीहरु रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीमा आयोजना प्रमुख रिजालले बताए । रिजालका अनुसार, ती लाभग्राहीहरुमध्ये पुराना (२०७२ सालको सर्वेक्षणबाट) ८ सय ८४ लाभग्राहीमध्ये हालसम्म ५ सय १५ जनाले घर निर्माण गरेर तेस्रो किस्ता रकम बुझिसकेका छन् । त्यसैगरी ५ सय ८४ जनाले दोस्रो र ८ सय १ जनाले पहिलो किस्ता लिएका छन् ।
छुट तथा पुनसर्वेक्षणबाट १८० जना भूकम्प पीडितहरुमध्ये हालसम्म १४० जनाको सम्झौता भएर आएको र उनीहरुको आवास निर्माणको प्रक्रिया लकडाउन खुलेपछि शुरु हुने रिजालले बताए । रिजालका अनुसार म्याग्दीमा हालसम्म निजी आवस पुननिर्माणको ६४ प्रतिशत प्रगति भएको छ ।
घरबिहीनलाई गाउँलेले बनाइदिए घर
म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको खड्कामारेका घरबिहीन श्रीप्रसाद खत्रीलाई लकडाउनको समय सदुपयोग गरी स्थानीयले घर बनाइदिएका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण घरवारविहिन भएका खत्रीको परिवारलाई घर निर्माण गर्न खड्गमारेका स्थानीय ब्यस्त छन् । आफन्तले उपलब्ध गराएको जग्गामा तीनकोठे चिटिक्कको घर बनाउने अभियानको संयोजन गरेका खत्रीले स्थानीय सरकारदेखि आफन्त, साथीभाईले सहयोग जुटाइरहेको बताए ।
‘लकडाउनको समयमा एउटा राम्रो काम गर्ने अवसर पाएको छु, श्रमदान गरेर घरवारविहिनको घर बनाउँदैछौ’ खत्रीले भने । लकडाउनको फुर्सदमा मानवीय र परोपकारी कार्यमा समय दिएको उनको भनाई छ । श्रीप्रसादलाई घर बनाउन उनका आफन्तले जग्गा दिने र ब्लक खदिरमा समेत सघाइरहेका छन्भने गाउँपालिकाले २० थान जस्तापाता सहयोग गरेको छ । चार जनाको परिवारलाई भान्साकोठासहितको घर बनाउने अभियानमा स्थानीय यूवाहरूले समेत सघाइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->