सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्वारेन्टाइन भनेपनि एकदुई रात बस्ने पाहुना कोठा मात्रै

क्वारेन्टाइन भनेपनि एकदुई रात बस्ने पाहुना कोठा मात्रै

पालिकामा क्वारेन्टाइन भन्दै बिद्यालयहरुमा खाट र बिच्छ्यौना राखेर संचालन गरेपनि कोही बसेका छैनन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७७, शनिबार

बागलुङ, २७ बैशाख– चैतको दोश्रो साता बागलुङमा कोरोना संक्रमण देखिएपछि सबै पालिकामा क्वारेन्टाइन बनाउने लहर चल्यो । तर ती क्वारेन्टाइनमा गरिएको लगानी अधिकांस स्थानमा खेर गएको छ ।
क्वारेन्टाइनमा बस्नेलाई दुइ सातासम्म बसाल्ने योजना अधिकांसले पुरा गरेनन् । बरु ती क्वारेन्टाइनहरु पहुनाघरको रुपमा परिणत भए । कोरोना भाइरसको शंकास्पद संक्रमित भेटिएमा कम्तिमा दुई साताका लागि राखेपछि मात्र उनीहरुलाई देखिने लक्षणको आधारमा उपचार गराउनुपर्नेमा त्यस्तो हुन नसकेको हो ।
बरेङ गाउँपालिका र गलकोट नगरपालिकाले बनाएका एक÷एकवटा क्वारेन्टाइन मात्रै १४ दिनसम्म शंकास्पदलाई राख्ने स्थान बनेका थिए । बरेङ र गलकोटको काँडेवासमा भारतदेखि पैदलै आएका युवालाई राखिएको थियो । उनीहरु १४ दिन बसेपछि आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि मात्र बिदाई भएका थिए ।
अन्य पालिकाका क्वारेन्टाइन भने टाढाबाट आएका मजदुरलाई आश्रय दिएर घर पठाउने स्थानको रुपमा चिनिए । त्यस्तो प्रयोजनमा पनि बागलुङ, गलकोट नगरपालिका र बरेङका केही क्वारेन्टाइन मात्रै प्रयोगमा आएको भेटिएको हो । अन्य पालिकामा सार्वजनिक स्थल, बिद्यालय र क्लबका भवनमा बनाइएका क्वारेन्टाइनमा कोहीपनि बसेको जानकारीसमेत थिएन । सबै पालिकाले दिएको तथ्यांकमा जिल्लाभर ३ सय ५० जना मानिस बस्ने क्वारेन्टाइन बनेका थिए ।
सदरमुकामस्थित रामरेखा आधारभूत बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा भने पालैपालो गरेर दुई सयबढी बसिसकेका छन् । तर, क्वारेन्टाइनमा बसेकाबाट संक्रमणको कुनै पुष्टी भएन । यहाँ बस्ने अधिकांसहरु दुई रात बसेर फर्कनेहरु छन् । यो क्वारेन्टाइन पैदलयात्रा गरेर आएका अधिकांस मजदुर राख्न प्रयोग भएको थियो । ‘हामीले दुई सयबढी मजदुरलाई राख्ने, खुवाउने र गन्तव्यमा पठाउने काम गरेका छौं’ नगरप्रमुख जनकराज पौडेलले भने, ‘नगरक्षेत्रकै अन्य क्वारेन्टाइनमा भने मानिस राख्नुपरेको छैन ।’
नगरपालिकाले रमेटारस्थित धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा पनि क्वारेन्टाइन बनाएको थियो । स्थानीय शान्ति समितिमा बनेको आश्रय स्थलमा पनि झण्डै एकसय बढीलाई राखेर खानेबस्ने व्यवस्थापन गरिएको छ । उद्दारमा प्रहरीले साथ दिएको छभने खाने र गन्तव्यमा पठाउने काम नगरपालिकाले गरेको छ । क्वारेन्टाइन निर्माणमा उद्योग बाणिज्य संघ, बिभिन्न लायन्स क्लब लगायतका संघ संस्थाले पनि अभियान चलाएका थिए ।
गलकोट नगरपालिकाले ३० जना मजदुर र ३ जना भारतबाट हिंडेर आएका युवालाई क्वारेन्टाइनमा राख्यो । मजदुरलाई तीन सातासम्म उनीहरुकै बस्ने साइटमा राखियो । देहरादुनबाट पैदल आएका तीन युवालाई जनकल्याण माबिको क्वारेन्टाइनमा राखेर आरडिटी परीक्षणमा नेगेटिभ देखिएपछि १४ दिनमा घर पठाइएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
अन्य पालिकामा क्वारेन्टाइन भन्दै बिद्यालयहरुमा खाट र बिच्छ्यौना राखेर संचालन गरेपनि कोही बसेका छैनन् । ‘खर्च पनि भएको छैन, केही सामान किनेपनि अधिकांस चन्दा र सहयोगबाट राखेका हौं’ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘केही काममा खटिएका मदजुरलाई उनीहरुकै निवासमा राहत दिएकोले क्वारेन्टाइन प्रयोग भएनन् ।’ उनले अत्यावस्यक परेमा मात्र क्वारेन्टाइन प्रयोग गर्न भन्दै शंकास्पद भए घरमै सुरक्षित रहन पनि लगाएको बताए ।
कतारबाट आएका दुई युवामा शंकास्पद लक्षण देखिएपनि ढोरपाटन नगरपालिकाले होमक्वारेन्टाइनमै बसेका बोबाङ र अधिकारीचौरका दुई युवा पनि परिवारमै बसेका छन् । बागलुङमा अधिकांसहरु भारतबाट आएका थिए । उनीहरुलाई निगरानीमा राख्ने काम भएपनि क्वारेन्टाइन नराखिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताए । ‘भारत र तेस्रो मुलुकबाट आएका ९ सय जनाको आरडिटी परीक्षण भैसकेको छ, कोही शंकास्पद छैन’ सैंजुले भने, ‘अलपत्र परेका मजदुरहरु मात्रै क्वारेन्टाइनमा बसेका छन् । उनीहरुलाई हरेकदिन परीक्षणपछि गन्तव्यमा पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->