सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा आठ विद्यालय भवनको पुर्ननिर्माण चल्दै

बागलुङमा आठ विद्यालय भवनको पुर्ननिर्माण चल्दै


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७७, सोमबार

बागलुङ, २९ वैशाख– लकडाउनबीच भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको पुर्ननिर्माणको कामले गति लिएको छ । निर्माण सामग्री अभाव र मजदुरको अन्यौलता हटेपछि कामले निरन्तरता पाएको हो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाईका अनुसार जिल्लाका आठ विद्यालय भवनको पुर्ननिर्माण भइरहेको छ ।
‘पुर्ननिर्माणको ३० प्रतिशत काम सकिएको छ’, एकाईका प्रमुख मतिलाल चपाईँले भने, ‘कोरोना संकट ननिम्तिएको भए ५० प्रतिशत प्रगति पुग्थ्यो, अब योजनाको अवधि केही थप हुन्छ ।’ स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर पुर्ननिर्माणको काम धमाधम चलिरहेको छ’ चपाईले थपे ‘कार्यस्थलमै खाने, बस्नेलगायत सावधानी अपनाउन भनिएको भनिएको छ ।’
गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माविमा चारकोठे भवनको भुइँतला ढलानपछि झ्याल–ढोकाको चौकोस राख्न शुरु गरिएको छ । गत फागुन अन्तिमदेखि भवनको पुनर्निर्माण थालिएको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताए । प्राधिकरणको रु. ७० लाख बजेटमा उक्त भवन पुर्ननिर्माण हुन लागेको हो । ‘केही दिन काम रोकिएपनि अहिले सुचारु छ, पुर्ननिर्माण सकिन सम्झौता अवधिभन्दा केही बढी लाग्छ’ अध्यक्ष थापाले भने । उक्त विद्यालयको पुर्नर्निर्माणमा सुर्खेतका आठसहित स्थानीय मजदुर खटिएका छन् ।
लकडाउन शुरु हुनासाथ सुर्खेतकै केही मदजुर घर फर्केपछि थोरै मात्र विद्यालयको काममा छन् । बन्दाबन्दीबीच पुर्ननिर्माणको कामलाई अघि बढाउन स्थानीय तह र प्रशासनसँग समन्वय गरिएको एकाइ प्रमुख चपाईँले बताए । एकाईका अनुसार, विद्यालय भवनसँगै शौचालय निर्माणको काम पनि हुनेछ । चालु आवमा निर्माण शुरु भएका सबै विद्यालय भवन चारकोठे छन् । थप विद्यालय भवनका लागि प्राधिकरणमा माग पठाइएको एकाइले जनाएको छ ।
विद्यालय पुर्ननिर्माण गर्दा भौगोलिक अध्ययन, ‘डिजाइन’, लागत अनुमान स्वीकृत गर्नुपर्ने प्रावधान छ । क्षतिको अवस्था, विद्यार्थी अनुपातजस्ता आधारमा अनुदानको प्राथमिकता निर्धारण हुने गरेको छ । चारकोठे भवनका लागि ७० लाख, तीनकोठेलाई ३५ लाख, दुईकोठेलाई २३ लाख र शौचालयका लागि १५ लाख बजेट व्यवस्था गरिएको छ । अघिल्ला दुई आवमा पुनर्निर्माण थालिएका ७८ मध्ये ५३ विद्यालयको पुर्ननिर्माण सकिएको छ । बाँकी २५ विद्यालयको काम अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दीका कारण भवन हस्तान्तरण र भुक्तानीको काममा ढिलाइ भएको छ ।
भूकम्प गएको दुई वर्षपछि मात्र जिल्लामा प्राधिकरण आएकाले पुर्ननिर्माण पनि पछि धकेलिएको हो । एकाइले भुकम्पमा क्षति भई लाभग्राहीको सूचीमा रहेका सबै विद्यालय भवनको पुर्ननिर्माण गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->