शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीमा २० बेड क्षमताको आइसोलेसन कक्ष

म्याग्दीमा २० बेड क्षमताको आइसोलेसन कक्ष


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

म्याग्दी, ३० वैशाख– विगत केही दिनयता देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर म्याग्दीमा २० शैया क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि सदरमुकाम बेनीको खुल्लामञ्चस्थित शैक्षिक तालिम केन्द्रमा १५ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण भैसकेको छभने थप ५ बेड निर्माण गरिदै छ ।
कोरोना संक्रमण रोकथाम पूर्वतयारी स्वरूप जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीका एक नगरपालिकासहित ६ वटै स्थानीय तह र बेनी अस्पतालको आर्थिक ब्यवस्थापनमा हाल १५ बेड तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘तत्काल १५ बेड तयार गरिएको छ, आवश्यकताको आधारमा थप पाँच बेड विस्तार गर्न सकिन्छ’ प्रजिअ ढकालले भने ।
आइसोलेसन कक्षमा आवश्यक पर्ने उपकरणहरू, जनशक्ती तथा विशेष किसिमको पूर्वाधारबाट तयार गरिएको छ । ३२ लाखको लागतमा तयार गरिएको कक्षमा १० बेड बेनी नगरपालिका, ५ बेड पाँचवटा स्थानीय तह, बाँकी विपद् ब्यवस्थापन र बेनी अस्पतालले खर्च व्यहोर्ने छन् । सोमबार बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, अस्पताल प्रमुख डा. अमृत अधिकारी, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर, लगायतको उपस्थितिमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेड जडान तथा सरसफाईसमेत गरेका छन् ।
आइसोलेसन कक्षमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मीको ब्यवस्थापन बेनी अस्पतालले गर्ने अध्यक्ष बेलबहादुर कटुवालले बताए । यसअघि माउण्ट एभरेष्टले हिलसाईडमा रहेको आफ्नो खाली भवनलाई आइसोलेसन बनाउन दिने निर्णय गरेपछि सवारीसाधनमा आवतजावत गर्न समस्या हुने भएकाले उक्त स्थानको विकल्पमा खुल्लामञ्चको तालिम केन्द्रको खाली भवन प्रयोग गरिएको कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ । जिल्लाका स्थानीय तहमा कुनै व्यक्तिमा संक्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा चिकित्सकको निगरानीमा आइसोलेसनमा राखि छुट्टै उपचार गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->