सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सिमामा सुरक्षा नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै

सिमामा सुरक्षा नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

बागलुङ, ३० वैशाख– बागलुङको दक्षिणक्षेत्र प्रदेश नम्बर पाँचसँग जोडिएको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा छिमेकी पालिकाहरुसँगको सिमा नाकाबाट लकडाउनको समय भारत तथा देशका बिभिन्न ठाउँबाट प्रबेश गर्नेहरुको कमी आएको छैन ।
सुरक्षाकर्मी कम भएका कारण दक्षिणी सिमाबाट बिनाजाँच भित्रिनेहरु बढेका हुन् । जिल्ला समन्वय समितिले गरेको अनुगनका क्रममा सिमा नाकाहरुमा सामान्य ज्वरोसमेत जाँच नगरी बाहिरबाट मानिसहरु भित्रिएको पाईएको समन्वय प्रमुख राजेन्द्र ढुंगानाले बताए । जैमिनी र बरेङ गाउँपालिकाले फितलो सुरक्षा व्यवस्थाका कारण सिमामा सुरक्षा कडाई गर्न नसकेको गुनासो गरेका छन् । ‘प्रहरी चौकीमा जनशक्ति छैन हामी कार्यक्षेत्रमा गएर कसैले टेर्दैन्’ जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले भने ‘सोचेजस्तो साबधानी अपनाउन सकिएको छैन ।’
जैमिनीको वडा नं. ८ छिस्तीको पालुङखोला नजिकैबाट केहीदिन पहिलेमात्रै भारतको मुम्बैहुँदै नेपाल छिरेका एक व्यक्ति जैमिनी प्रवेश गरे । उनको प्रवेशले नगरमा ठुलो हल्लाखल्ला मच्चियो । मुम्बैमै पीसीआरबाट कोरोना जाँच गरेको बताउने उनका गाउँलेले विश्वास गरेनन् । गाउँमै रहेको क्वारेन्टाईनमा उनलाई राख्ने प्रयास गरेको नगरपालिकालाई गाउँलेले नटेरेपछि सेराबजार ल्याउने प्रयास गरियो ।
शान्ति मा. वि. क्वारेन्टाइनमा समेत स्थानीयको बिरोधकै कारण उनलाई राख्न नसकेपछि अन्ततः होम क्वारेन्टाईनमा पठाईयो । अहिले घरमा उनी सुरक्षित तरिकाले बसे–नबसेको हेर्न पुग्ने जनप्रतिनिधि तथा स्थानीयलाई उनले टेर्दैनन् । उनी बसेको ठाउँमा पुग्ने सुरक्षाकर्मी जैमिनीमा छैनन् । लकडाउनको समयमा नगरभित्र कसैलाई भित्रिन नदिन सर्वसाधारणले अनुरोध गर्छन् । बाहिरबाट आएकासँग नगरबासी तर्सिन्छन् । तर, सिमा नाकामा ज्वारोसम्म चेकजाँच गरेर प्रबेश गराउन पनि नगरले सकिरहेको छैन ।
जैमिनीमा छिमेकी स्थानीय तहसँग जोडिएका २० भन्दा धेरै यस्ता सिमानाका छन् । जसमा प्रदेश नम्बर पाँचसँग जोडिएको सिमानासमेत पर्छ । जैमिनीको जस्तै समस्या बरेङमा पनि छ । त्यहाँका सिमानाकाबाट गाउँ भित्रिनेको संख्या धेरै छ । छिमेकी प्रदेश गुल्मी जिल्लामा सडकमार्गमार्फत जोडिने सिमानाका मात्रै बरेङमा २८ वटा छन् । त्यहीँ बाटो भएर आएका ४२ जना अहिले पनि बरेङमा होम क्वारेन्टाईनमा रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । त्यो बाहेकका पैदलमार्गबाट भित्रिने नाकाको बिषयमा तथ्यांक नै छैन् ।
खुल्ला सिमाबाट गाउँमा भित्रिनेहरुले स्थानीय र जनप्रतिनिधिलाई समेत नटेर्ने गरेको उनीहरुको गुनासो छ । सुरक्षाकर्मीको जनशक्ति कम रहेकाले लकडाउनमा पालिका प्रबेश गर्नेहरुको व्यवस्थापन गर्न कठिन भैरहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । दुवै पालिकाले सिमानाकामा सुरक्षाकर्मी खटाउन नसकेका कारण बाहिरबाट प्रबेश गर्नेहरुको संख्या बढेको जनाएका छन् ।
संक्रमण फैलिएको क्षेत्र र विशेषगरी भारतबाट पैदल आउनेहरुका कारण गाउँमा उत्पन्न त्रास व्यवस्थापन र जोखिम घटाउन कठिन भैरहेको जैमिनी नपाका प्रमुख इन्द्रराज पौडेलले बताए । बरेङमा एक इलाका प्रहरी कार्यालय छभने जैमिनीमा दुई प्रहरी चौकी छन् ।
स्थानीय तहले चाहेको स्थानमा खटाउनेगरी ति चौकीहरुमा जनशक्ति नरहेको जिल्ला प्रहरी कार्यालय बागलुङ स्विकार्छ । प्रहरी चौकी कुश्मीशेरा र बेलबगरमा ११÷११ जनाको दरवन्दी भएपनि दुवै ठाउँमा गरेर जम्मा १५ जनामात्रै सुरक्षाकर्मी रहेको प्रहरी निरीक्षक हेम केसीले बताए । ४५ जना दरवन्दी रहेको बरेङ इकाला प्रहरी कार्यालयमा १९ जना मात्रैले काम गर्नुपर्ने अवस्था रहेका कारण स्थानीय तहले चाहेअनुसारको सुरक्षाको प्रबन्ध नहुने उनले बताए ।
‘जनशक्तिनै छैन, सकेको गरेकै छौं’ केसीले भने ‘उहाँहरुले चाहेकोजस्तो सबै नाकामा प्रहरी पुग्न हामीसँग भएको दरवन्दीले पुग्दैन् ।’ ४ सय ९० जनाको दरवन्दी रहेको जिल्लामा २ सय ९१ जना प्रहरी मात्रै उपलव्ध छन् । बरेङ लगायत जिल्लाका केही पालिकामा सशस्त्र प्रहरीको टोली पुगेको भएपनि परिचालनमा समस्या हुने गरेको स्थानीय तहको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->