बागलुङ, ३१ वैशाख– गलकोट नगरपालिका–८ काँडेबास पचुवादेखि देउखर्कहुँदै ज्यामिरे जोड्ने सडक निर्माण कार्य सुरु भएको छ । गलकोट नगरपालिकाले विनियोजन गरेको १२ लाख बजेटबाट उक्त सडक निर्माण कार्य सुरु गरिएको गनपा–८ का वडा अध्यक्ष राम प्रसाद कँडेलले जानकारी दिए । यो वर्ष झण्डै २ किलोमिटर सडक निर्माण गरिने वडाध्यक्ष कँडेलले बताए । अहिले ज्यामिरे देउखर्क जिरोकिमीदेखि पचुवा चौतारासम्म सडक निर्माणको काम सम्पन्न गरिने अध्यक्ष कँडेलले बताए । यसअघि सडक विभागको ८ लाख र स्थानीयको १२ लाखको लागतमा सडकको ट्रयाक खोलिएको थियो ।
गतवर्ष संघीय सांसद क्षेत्र विकास कोषमार्फत १० लाख बजेटमा बराबोटदेखि चौतारासम्म झण्डै ४ किमी सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुनदत्त कँडेलले बताए । सडक निर्माण भएपछि गलकोट नगरपालिका–८ को पचुवा, ज्यामिरे, थालेपोखरा, उचाका, फूलबारी, बतासेसँगै बरेङ गाउँपालिका, प्रदेश ५ गुल्मीको चन्द्रकोट गाउँपालिकालाई मध्यपहाडी लोकमार्गमा जोडिन छोटो सडक हुने समितिका उपाध्यक्ष जंग बहादुर कँडेलले बताए ।





