म्याग्दी, १ जेठ– कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको पनि ५० दिन नाघिसकेको छ । सबै आ–आफ्नो घरमा बसेर समय व्यतित गरिरहेका छन् । तर, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डोले गाउँका बृद्धबृद्धा र युवा–युवतीहरुलाई भने घरमा बसेर समय कटाउने फुर्सद नै छैन । उमेरले करिब ७० वर्ष हुन लागेका बृद्धबृद्धाहरुसमेत युवा जोसका साथ विकासको तिर्खा मेट्न समाजिक कार्यमा व्यस्त छन् ।
लामो बन्दाबन्दीमा गाउँको विकासमा कस्सिएका भकिम्ली डोलेका ६९ बर्षिय चन्द्र पुनको जोस युवाहरूको भन्दा कम छैन् । खेल मैदान निर्माणका लागि ६५ बर्षिया पातली नेपाली, ६२ बर्षिय अम्मर थापा, ६० बर्षिय भीम थापा मगरजस्ता उमेरले डाँडो काटेका बृृद्धबृद्धा दिनभरी ढुंगामाटोसँगै रमाउँदै प्याराफिट निर्माणमा जुटेका छन् । उमेरले ७० बर्ष नजिक पुगेका बृद्धबृद्धाले खेलकुद मैदानमा मर्मत तथा प्याराफिट निर्माणमा तन्नेरीसंगै प्रतिस्पर्धामा काम गरेको दृष्य हेर्न लायकको छ । 
‘गाउँको विकास निर्माणका काम हुँदा घरभित्रै बस्न सकिदैन, उमेर बुढो भएपनि गाउँ विकासको तिर्खा कहिल्यै मेटिदैन’ ६२ वर्षिय बृद्ध अम्मर थापाले भने । बेनी बजारको नजिक भएपनि खेलकुदसहित अन्य विकास निर्माणमा पछाडी रहेको भकिम्लीमा बृद्धबृद्धा दिनभरी जनश्रमदानमा जुट्ने गरेका छन् ।
सरकारले लकडाउन गरेपनि गाउँमा विकास निर्माणका गतिविधिलाई निरन्तरता दिइरहेको स्थानीय युवा कृष्ण थापाले बताए । स्थानीय गणेश स्मृति क्लब डोलेको पहलमा शुरु भएको श्रमदान सहितको अभियानमा करिब ४५ जनाको सहभागिता रहेको क्लबका अध्यक्ष विष्णुप्रसाद थापाले बताए । ‘समुदायको साथमा क्लबका गतिविधिलाई निरन्तर सञ्चालन गर्न सहज भएको छ, ‘बुढापाकाको साथले युवामा उर्जा थपिएको छ’ थापाले भने । थापाका अनुसार, २२ दिनदेखि गाउँले खेलमैदान निर्माणका लागि श्रमदानमा जुटेका छन् ।
करिब १ सय ३० मिटर लम्बाईको प्याराफिट निर्माणमा समुदायको सक्रियताले विकासमा निरन्तर सक्रियताको नमुना प्रस्तुत गरेको वडा अध्यक्ष पदम पुनले बताए । ‘बृद्धबृद्धाले श्रमदान गर्नु रहर नभई बाध्यता बनेको छ, जनश्रमदानमा आफ्नो घरको कामसमेत छोडेर आउनुहुन्छ’ पुनले भने । भकिम्लीका हरेक विकास निर्माणमा स्थानीयको धेरै पसिना बगेको अध्यक्ष पुनको भनाई छ ।






