`

मिथक र रहस्यको अनुपम उपहार : बिमको बराह ताल


  • ध्रुवसागर शर्मा
  • सोमवार, जेष्ठ ५, २०७७

म्याग्दी, ५ जेठ– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बराहा ताल देशमा जारी बन्दाबन्दीका कारण सुनसान छ । विगतका वर्षहरुमा यो समय तालको अवलोकन गर्नका लागि मानिसहरुको भीड लाग्थ्यो । म्याग्दीकै प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाने पर्यटकलाई बाटोमै रोकेर केही समय तालमै रमाउन बाध्य बनाउने बराह ताल मिथक र रहस्यहरुको एक अनुपम उपहार पनि हो । तर प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
करिब आधा रोपनी क्षेत्रफलमा फैलिएको यो तालमा प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिबिम्ब देखिन्छ । त्यसका साथै गुर्जा हिमालको मनमोहक दृश्य र सुन्दर ग्रामीण बस्तीहरु, वनजंगल, पहाड यहाँबाट देख्न सकिने मालिका गाउँपालिका–७ का वडाध्यक्ष रेशमा जुग्जाली (सुविन) बताउँछन् । जैविक विविधताका अनेक सम्पदाहरुलाई समेटेको बराह ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिने बिमका नविन जुग्जालीको बुझाई छ ।


बाइन्दाफाँट गाउँको शिरमा अवस्थित बराह ताल गोलाकारमा फैलिएको छ । आधा रोपनी क्षेत्रफलमा फैलिएको, तीन मिटरभन्दा गहिरो र समुन्द्री सतहदेखि दुई हजार तीनसय मिटरको उचाइमा अवस्थित यस तालको माथिल्लो पट्टी बराह थान रहेको छ । बराह थानको नजिकै रहेको पानीको मूलबाट ताल बनेको छ । तालमा रहेको जलबराहको पूजाआजा तथा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
वडा कार्यालयले मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि तालसम्म पुगेको सडकलाई विस्तार गरेर प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीसम्म जोड्ने तयारी गरेको र यसको संरक्षण तथा प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको मालिका गाउँपालिका–७ का वडअध्यक्ष जुग्जालीले बताए । ताल आसपासबाट मालिकाधुरी जाने सडक विस्तार भएकाले भविष्यमा ताल पर्यटकीय गन्तब्यको रुपमा विकास हुने मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology