बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको दुखुमा बाँझो जमिनमा सामूहिक तरकारी खेती

म्याग्दीको दुखुमा बाँझो जमिनमा सामूहिक तरकारी खेती

बाँझो जमिनमा खेती गर्नेलाई धवलागिरी गाउँपालिकाले अनुदान दिने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७७, मंगलबार
फाईल तस्विर

म्याग्दी, ६ जेठ– मालिका गाउँपालिकाको दुखु गाउँमा रहेको बाँझो जमिन जोतेर स्थानीयले सामुहिक तरकारी खेती र नगदेबाली लगाउन शुरु गरेका छन् । मालिकाको एक घर एक आत्मनिर्भर अभियानअन्तर्गत स्थानीयले बाँझो जमिनमा तरकारी र नगदेबालीको खेती शुरु गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुलाई संलग्न गरी १ सय ७० रोपनी बाँझो जमिनमा सामाजिक दुरी कायम गरी नगदे र तरकारी बाली शुरु गरिएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले जानकारी दिए ।
‘उत्पादित वस्तुको बजारीकरणमा पनि सघाउँछौं, हरेक घरधुरीलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गरेका छौं’ अध्यक्ष सुवेदीले भने । वडाभित्र बाँझो खेतमा तरकारी र खेतीपाती गर्न चाहनेलाई अनुदानसहित आवश्यक सहयोग गर्ने अध्यक्ष सुवेदीले बताए ।
समुदायलाई तरकारी खेतीमा आर्कषित गर्न गाउँपालिकाले ३ लाख र वडाबाट समेत ३ लाख गरी ६ लाख विनियोजन गरिएको छ । वर्षौदेखि बाँझो रहेको जमिनलाई हरियाली बनाउने अभियानमा समुदायले समेत साथ दिएका छन् । सामुहिक खेतीमा दैनिक ६ हल गोरुले जोतेर अभियानको शुरुवात गरिएको छ । अध्ययन, रोजगारी, व्यवसायको खोजीमा गाउँ छाडेर शहर र विदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिनको खोजी गर्न थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
कृषकको उत्पादनलाई दरवाङ बजारमै खपत गर्न सकिने भएकाले सबै वडामा तरकारी, फलफूल लगाएत नगदेबालीमा समुदाय आकर्षित भएको अध्यक्ष रोकाले बताए । रोकाका अनुसार, मालिका गाउँपालिकाका विभिन्न वडामा माटो र मौसम सुहाउँदो सतुवा, अलैंची, सुन कागती, एभोकाडो, सुन्तला, टिमुर, किबी र तरकारी खेती गर्न सिफारिस गरिएको छ ।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान 


म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको छ । धवलागिरी गाउँ कार्यपालिकाको बैठकले खेती हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरि बाँझो जमिन प्रयोगमा ल्याउने सम्बन्धी कार्यबिधि ल्याएर कार्यान्वयन गर्ने कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिए । जमिन बाँझो राख्ने समस्या घटाउने, खेतीतर्फ आर्कषित गरेर उत्पादन बढाउने, आयात घटाउने, रोजगारी र आयआर्जन बढाउन जस्ता नीति लिने निर्णय गरेको उनले बताए ।
बैदेशिक रोजगारी, बसाइसराइका कारण जनशक्तिको अभाव, कृषि उपज बिक्री गर्दा उत्पादन लागत पनि नउठ्ने, प्राकृतिक प्रकोप, बाँदर आतंक, बजारको अभाव लगायतका कारणले बस्तीदेखि टाढाको जमिनमा खेती नगर्ने प्रचलन बढ्दै गएको छ । खाद्यबालीको साथै उच्च बजार मूल्य भएका दलहन, तरकारी, फलफुल, जडिवुटीको ब्यवसायिक खेतीतर्फ आकर्षित गर्न लागिएको प्रवत्ता छन्त्यालले बताए । तल्लो क्षेत्रमा केरा, सुन्तला र उच्च पहाडी क्षेत्रमा सतुवा, टिम्मुर लगायतका जडिवुटी खेती गर्न कृषकलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->