पोखरा, १० जेठ– अस्पताल हो,गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल गण्डकी अस्पतालमा बिरामी र बिरामीका आफन्तजनको बाक्लो भीड हुन्छ नै !
आफ्नाहरु छिट्टै निको हुने आशा बोकेर अस्पताल छिर्ने अनुहार त्यति उज्याला छैनन् । उल्टै त्रसित देखिन्छन् । गण्डकी अस्पताललाई कोरोना अस्पताल बनाएर कोरोना भाइरसको चेकजाँच गर्न थालेदेखि सबैमा संक्रमित होइन्छ कि ! भन्ने त्रास बढाएको छ ।
अस्पतालको मूल गेटबाट छिरेपछि पश्चिमपट्टिको भागमा रहेको प्रयोगशालमा शिरदेखि पाउँसम्म छोपिने गरि पीपिई लगाएर स्वाब संकलन र टेस्ट गर्न व्यस्त छन् । एम्बुलेन्स बत्तिदै आएर स्वाब छाड्छ । उसैगरि बत्तिदँै जान्छ । प्रयोगशाला नजिकै जान जो कोही पनि हिच्किचाउँछन्, आजकाल । कतै, संक्रमण सर्ने पो हो कि ?
भन्छन्,‘एउटा डाक्टरको लागि अपरेसन थियटरमा छिर्नु जत्तिको डर अरु केही पनि हुँदैन रे ! शल्यक्रिया सफल नहोउन्जेल उसको हुँटहुँटी कम हुन्न ।’ तर, यहाँ त परिस्थिति नै अलिक भिन्न छ । अपरेसन थियटरमा त शल्यक्रिया सफल नभए बिरामीको ज्यान जान्थ्यो । यहाँ त अलिकति तलमाथि भइहाले, आफै संक्रमित होइएला भन्ने डर छ, स्वास्थ्यकर्मीहरुलाई ! तर, पनि पेशागत धर्म निभाउँदै स्वाब लिने र टेस्ट गर्ने काममा स्वास्थ्यकर्मीहरु खटिइरहेका छन् ।
सधैजस्तो डाक्टर ‘मोनी सुवेदी’ ल्याबमा व्यस्त थिइन् । हामीलाई एकैछिन कुराई सकेपछि बल्ल उनलाई कुराकानी गर्ने समय मिल्यो । हामीसँग कुराकानी गर्नको लागि उनी राजी भइन् । कुरा डरबाटै सुरु भयो ।
‘डर त हुन्छ । किन नहुनु । हामी पनि मान्छे नै हो’, स्वाब टेस्ट गर्न ल्याबमा छिर्नुअघि कत्तिको डर लाग्छ ? यही प्रश्नबाट हामीले कुरा अघि बढायौं,‘तर, हामीले सुरक्षा सावधानी अपनाएका हुन्छौं । पीपिई लगाउछौं । ग्लोब्स लगाउँछौं ।’
सुरुआति समयमा ल्याब छिर्न डर लागे पनि अहिले अभ्यस्त बनिसकेको उनले सुनाइन् । बिरामीको उपचारको लागि आफूहरु बसेको हुँदा डरै लागे पनि उपचार गर्नुपर्ने उनी बताउँछिन् । ‘हामी त बिरामीको उपचारको लागि बसेको हो’, उनले अघि सुनाइन्,‘ डर लागेपनि उपचार त गर्नुप¥यो । गरिरहेका छौं ।’ जोखिम भए पनि सावधानी अपनाए बच्न सकिने उनले सुनाइन् । आफू पनि सुरक्षा सामग्री सहित सुरक्षा अपनाएर उपचारमा खटिएको हुँदा संक्रमण नसर्ने उनको तर्क छ । आफूले सावधानी अपनाउँदा÷अपनाउँदै पनि अर्को व्यक्तिको कारण संक्रमण सर्ने जोखिम भने उत्तिकै रहेको उनले सुनाइन् ।
अनि परिवारको चिन्ता नि ? घरपरिवारले हरेक पटकको फोन कलमा परिवारले आफ्नो ख्याल राख्न भन्छन् रे, उनलाई । जेजस्तै भए पनि पेशागत धर्म त निभाउँनै पर्नेमा उनी दृढ छन् रे ! ‘फ्याम्लीले त आफ्नो केयर गर्न भन्नुहुन्छ । हरेक चोटी फोन गर्दा’, डाक्टरी लवजमा अंग्रेजी मिसाउँदै उनले भनिन्,‘धेरै समय भयो परिवारसँग भेट नभएको पनि, जान्छु भनेर जान पनि पाएको छैन ।’ आफू एक्लैले सबै काम गर्न नसक्ने हुँदा अरु स्टाफलाई पनि कन्भिन्स गर्नुपर्ने थप जिम्मेवारी रहेको उनले सुनाइन् । अरु स्टाफ पनि सहयोगी भएको हुनाले मानशिक तनाव भने नभएको उनले बताइन् । सबै मिलेर काम गर्छन् रे, उनीहरु । गण्डकी प्रदेशको कोरोना अस्पतालमा बिहान १० बजेदेखि २ बजेसम्मको समयमा स्वाब संकलन र परीक्षणको काम भइरहेको छ । स्वाब संकलन र परीक्षणसँगै बिहान १० बजेदेखि २ बजेसम्म ज्वरो आएकाहरुको जाँच पनि हुन्छ । ज्वरो परीक्षणपछि आवश्यकता अनुसार बल्ल प्रयोगशालातिर पाइला बढाउने हो । त्यो आधारमा १ बजेदेखि २ बजेसम्म स्वाब संकलन गर्ने’, उनले भनिन्,‘त्यो समयमा जति कलेक्सन हुन्छ त्यति गर्र्छौं ।’एउटै पीपीईले केही समय काम गर्न सकौं भन्ने सोचेर १ घण्टाको समयमा मात्रै स्वाब लिने गरिएको उनले सुुनाइन् । पर्याप्त साधन नभएको कारण एउटै पीपीईबाट धेरै काम लिऔं भनेर १ घण्टाको समयलाई मात्रै स्वाब लिने समय छुट्याइएको उनले प्रस्ट्याइन् । ‘ग्लब्सहरु ( पञ्जा) हामीले चेञ्ज गर्छौँ,पीपीई एउटै हुन्छ किनभने हामीसंग पर्याप्त रिसोर्स पनि छैन’, उनले भनिन् ।
पछिल्लो तथ्याङ्क गण्डकी प्रदेशको कोरोना अस्पतालले १ हजारभन्दा माथि नै टेस्ट गरि सकेको छ । बागलुङका २ र पूर्वी नवलपरासीका २ जनामा कोरोना पोजेटिभ भेटिएको थियो । काठमाडौं बस्ने लमजुङका बालकमा पनि कोरोना पोजेटिभ आएको थियो । उनको उपचार काठमाडौंमै चलिरहेको छ । अन्य ठाउँमा फैलिएको कोरोनाको हिसाबले गण्डकी सुरक्षित नै भए पनि, हजार वटा रिपोर्ट नेगेटिभ आयो भन्दैमा गण्डकी प्रदेश ग्रिन जोनमा छ भनेर भन्न नमिल्ने डाक्टर मोनीको तर्क छ । ‘एकचोटी टेस्ट गरेर भन्न मिल्ने भए हामी भन्न सक्छौँ कि, उसलाई त लाग्दैन, उसलाई त होइन’, उनले भनिन्, ‘यो त जुनसुकै समय लाग्न सक्ने रोग हो । तर, आजसम्मको रेकर्डमा ग्रिन जोन नै भनेर भन्नुप¥यो ।’
संक्रमण सर्ने खतरा भए पनि आफू सतर्क बन्नु पर्ने उनको तर्क छ । केही समय अघिमात्रै सरकारले शुल्क तिरेर कोरोना जाँच गर्न सकिने नियम पनि बनाएको थियो । कोरोना संक्रमण छ कि भन्ने डरले जाँच गराउन चाहनेहरु पनि छन् । तर, डाक्टर मोनीका अनुसार कोरोना भाइरसको लक्षण नदेखिएसम्म जाँच गर्न जानु हुँदैन । ‘कोही जाँचिहालौं न भन्ने पनि छन् । तर, लक्षण देखिए मात्रै आई दिनुुुस् । रिसोर्स कम छ, जुनबेला पनि आउन सक्नुहुन्छ’, उनले भनिन्, ‘यदि तपाईंलाई त्यो फिल भयो भने,गरि हालौं,हेरि हालौं न त भनेर नआउनुस् ।’
कोरोना जाँचेर मात्रै निको नहुने हुँदा आफैं सतर्क बनेर रोगलाई जित्न सकिने उनले सुनाइन् । ‘केही चिज लगाउन पाए, टेस्ट गर्दा पनि हुन्थ्यो । तर, म्यानेजमेन्ट पार्ट त होइन नि त । यो त जस्ट डाइग्नोस्टिक पार्ट मात्रै हो’, उनले भनिन्, ‘त्यसैले जाँच्नको लागि मात्रै भनेर नआइदिनुस् । हेर्ने बित्तिकै लाग्ने रोग त होइन । आफैं सुरक्षित हुनुप¥यो । मास्क लगाउनु प¥यो । सेनिटाइज गर्नुप¥यो । पब्लिक दूरी टाढा राख्नुपर्छ भनेर नेगेटिभ रिपोर्ट आएकाले पनि दिमागमा राख्नुप¥यो ।’
केही दिन अघिमात्रै पोखरा महानगरका कर्मचारीको आइरडिटी टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । पिसिआर विधिबाट जाँच गर्दा रिपोर्ट शंकास्पद आएपछि पुन ः परीक्षण पनि गर्नु परेको थियो । पोखरामा कोरोना संक्रमित भेटिएको त्रास पोखरेलीमा फैलिएको थियो । यस विषयमा बुझ्न खोज्दा उनले भनिन्, ‘टेक्निकल्लि रुपमा डिजिज नयाँ, अनेस्टिली भन्नुपर्दा यो रोग हाम्रो लागि नयाँ हो । स्कुलमा पढ्दा यो प्रयोग गरिएन । एउटा दुई वटा गर्नु र दुई तीन सय वटा गर्दा कहिलेकाहीँ इरर आउन सक्छ ।’
अहिले गण्डकी प्रदेशको कोरोना अस्पताल ल्याबमा २२ जना कर्मचारी कार्यरत छन् । डाक्टर २ जना, प्याथलोजिस्ट, बिएमएलटी, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगी गरि विभिन्न फ्याकल्टीका २२ कर्मचारी रहेको डाक्टर मोनीले जानकारी दिइन् । स्वाब लिने र टेस्ट गर्नेमा भने ७ जना छन् । अस्पतालमा पिसिआर मेसिन आएदेखि डाक्टर श्रीराम बास्तोलाले टेस्ट गरि रहेको उनले सुनाइन् । उनी अहिले अस्पतालको मुख्य डाक्टर हुन् । काठमाडौंबाट आएका थिए । स्वाब लिने र टेस्ट गर्न बिएमएलटी लेभलका साथीहरुले सहयोग गरेर काम गरिरहेको भए पनि माइक्रो बायोलोजिस्ट भए अझ राम्रो हुने उनले सुनाइन् । माइक्रोबायोलोजी लेभलको स्टाफ पनि राखेको उनले जानकारी दिइन् । कोरोना संक्रमित बिरामीको उपचारमा खटिन अस्पताल प्रशासनदेखि परिवार र सरकारको उत्तिकै साथ मिलेकाले काम गर्न थप हौसला पनि मिल्ने गरेको उनको भनाई छ ।




