पोखरा, १५ जेठ – गण्डकी प्रदेशको कोरोना अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामी ल्याइएको छ । स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारको लागि गण्डकी प्रदेशको कोरोना अस्पताल पोखरामा ल्याइएको हो ।
बिहीबार बिहान कोरोना पुष्टि भएका स्याङ्जाका ३ जना संक्रमितमध्ये ३९ वर्षिय महिलालाई उपचारका लागि पोखरा ल्याइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार आइसोलेसनका अभाव भएकाले स्याङ्जाकी संक्रमितलाई पोखरा ल्याइएको हो । ‘अहिले उहाँको अवस्था एकदमै ठिक छ’, उनले भने, ‘स्याङ्जाबाट पोखरा ल्याई सक्यो ।’
प्रदेशको कोरोना अस्पतालमा संक्रमित विरामी लिन नमानेको भन्दै चौतर्फी आलोचना भइरहेको वेला ती महिलालाई विहिवार दिउसो पोखरा ल्याइएको छ । पछिल्लो तथ्यांक अनुसार स्याङ्जामा ५ जना संक्रमित छन् । ति सबै वालिङ नगरपालिकाका हुन् ।




