म्याग्दी, २० जेठ– म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गस्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्वारेन्टाइनमा बस्दै आएका एक युवालाई पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाएको छ । आज दिउँसो म्याग्दी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापा बेपत्ता भएका हुन् ।
एक्लै म्याग्दी नदिनमा पौडी खेल्न गएका थापालाई नदिले बगाएको इलाका प्रहरी कार्यालय दरबाङ्गका सई बलराम पौडेलले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरसहित सई पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयबासीको टोलीले बेपत्ता युवाको खोजी गरिरहेको छ । थापा तीन दिनअघि क्वारेन्टाइनमा बस्न आएका थिए ।





