स्याङ्जा, २२ जेठ– फेदीखोला गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आर्कषित गर्दै ब्यावसायीक बनाउने उद्देश्यले बुधबार अनुदानमा ४० ओटा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले किसानलाई कृषि क्षेत्रमा काम गर्न सहज होस भनेर हाते ट्याक्टर वितरण गरिएको बताए । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेको सुवेदीको भनाई छ । ‘अहिलेको जमाना भनेको प्रविधिको हो, यसको पहुँच सबै क्षेत्रका कृषकमा पुग्नुपर्छ भन्ने हाम्रो लक्ष्य हो’ अध्यक्ष सुवेदीले भने ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाका ५ वडाका कृषक समुहलाई गाउँपालिकाको २० लाख र समुहको २० लाख गरि ४० लाखको लागतमा हाते ट्याक्टर वितरण गरेको प्रशासकीय प्रमुख नन्दलाल शर्माले जानकारी दिए । गाउँपालिकाले कृषकलाई प्रोत्साहान गर्ने उद्देश्यले लकडाउनका कारण बिक्री नभएका तरकारी एवं फलफुल किसानको घर घरमै पुगेर खरिद गरेर स्थानीय बजारमा बिक्री समेत गर्दै आएको छ ।





