आजभोली जाडो पुर्ण सकिएर गर्मीको मौसम सुरू भईसकेको छ । मौसम फेरिने क्रमसंगै भाइरलको संक्रमण जोखिम पनि बढी हुन्छ । एउटा मौसममा स्वास्थ्य एकनासले चलिरहेको हुन्छ । मौसम परिवर्तन हुनेबित्तिकै स्वास्थ्यमा त्यसको प्रभाव पर्छ । एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन समय लाग्छ । यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ । जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकीलगायत मौसमी संक्रमणको जोखिम बढ्छ ।
त्यसैले यस्तो समयमा स्वास्थ्यमा विषेश ध्यान दिनुपर्छ । मौसम परिवर्तन हुँदैमा सबै बिरामी हुने होइनन् । तर, जसको रोग प्रतिरोधात्मक क्षमता कजोर हुन्छ तिनीहरूलाई भाइरसले चाडो आक्रमण गर्छ । यसमा पनि कडाखाले संक्रमण आउँदा विरामीको संख्या बढ्ने जोखिम हुन्छ ।
जस्तो कुनै कोठामा पाँच जनामध्ये एक जनालाई रुघाखोकी लागेको छ । रुघा लागेको व्यक्तिले हाच्छु गर्दा कोठाभित्रका दुई जनामा सर्यो । दुई जनालाई केही भएन भने रुघा सरेका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कजोर छ भन्ने हो । त्यसैले मौसमी संक्रमणबाट आत्तिहाल्नु पर्दैन । यसो भन्दैमा लापरबाही नै गर्ने होइन । कडाखाले संक्रमण देखियो भने चिकित्सकको सम्पर्कमा गइहाल्नुपर्छ ।
जस्तो अहिलेको मौसमको नै कुरा गर्ने हो भने पनि हामी जाडो मौसमबाट विस्तारै गर्मी मौसमा टेक्दै छौं । यो मौसमा पनि पहिला देखिने भनेको रुघाखोकी नै हो । अर्को, हामीमा खाना पकाएर बासी राखेर अर्को दिन खाने बानी हुन्छ । यस्तो बेलामा सफा र हाइजेनिक फुड खाइएन भने झाडापखाला लाग्ने जोखिम हुन्छ । यस्तै मौसम परिवर्तन हुँदा ज्वरो आउने पनि हुन्छ ।
कसरी जोगिने
यस्ता खाले संक्रमणबाट जोगिनका लागि हामीले हाम्रो आनीबानीमा सुधार गर्नुपर्छ । सधै साबुनपानीले राम्रोसँग हात धोएर मात्रै खानेकुरा खाने । कतै बाहिरबाट आउँदा आफ्नो सरसफाइमा ध्यान दिने ।
शरीरमा मात्रा पुग्ने गरी सफा र उमालेको पानी पिउने । भीड भएको ठाउँमा जानुपरे माक्सको प्रयोग गर्ने । कसैलाई मौसमी संक्रमण भएको थाहा पाए उससँगको सम्पर्कबाट टाढा रहने । आफूलाई रुघा लागेको छभने पनि अरुलाई नसरोस् भन्ने कुरामा सचेत हुनुपर्छ । बरु एक दुई दिन बिदा लिएर घरमै बसेर सावधानी अपनाउनु राम्रो हुन्छ । कडा संक्रमण देखिए चिकित्सकको परामर्शमा औषधी सेवन गर्नुपर्छ ।
सामान्य रुघाखोकी लाग्दा घरमा तातोपानीका साथै ज्वानो पानी, अदुवा पानी लगायतका घरेलु उपचार गर्ने । यसले हाम्रो रोगप्रतिरोधक क्षमता बढाउँछ । जस्तो जिरापानीले शरीरको तापक्रमलाई बढाउँछ । यसले शरीरलाई उर्जा प्रदान गरिराख्छ र भाइरललाई बढ्न दिँदैन ।
यस्तै, हामीले पानी बढी पिउनुपर्छ । जसले घाटी सुख्खा हुन दिँदैन । यसरी धेरै पानी पिउँदा रक्तसञ्चार पनि राम्रो भइराख्छ । हाम्रो शरीरको बेकार तत्व दिशा र पिसाबबाट बढी निस्किन्छ । हामीले धेरै पानी पिउँदा पिसावको माध्यमबाट यस्ता बेकार तत्व जान्छ र शरीरलाई स्वस्थ रहन मद्दत पुग्छ ।
के कोरोना र सामान्य रुघालाई आफै छुट्याउन सकिन्छ ?
अहिले विश्वव्यापी रुपमा कोरोना भाइसर (कोभिड–१९) को महामारी फैलिरहेको छ । कोरोना र रुघाको लक्षण केही हदसम्म मिल्दाजुल्दा छन् । यसो भन्दैमा जाँचबिनै हामी रुघा लागेको वा कोरोना भएको छुट्याउन सक्दैनौं ।
सबै भाइरसको सिमिलर क्यारेक्टर हुन्छ । जस्तो रुघा लाग्ने, वाकवाकी आउने, ज्वरो आउने, टाउको दुख्ने, नागबाट सिकान आउने, घाँटीको पछाडि दुख्ने, शरीरमा आलश्यता आउने, ज्वाइन्टहरू दुख्नेलगायत भाइरल संक्रमणका लक्षण हुन् । डाक्टरले पनि आँखाले हेरेरयो कोरोना हो होइन भन्न गाह्रो हुन्छ ।
चीन लगायतका देशका कोरोना संक्रमित देशको डेटा हेर्दा यसमा संक्रमित बढी सिक हुने । स्वासप्रस्वासमा समस्या चाँडो हुने देखिएको छ । ज्वरोमा पनि कडा १०४ डिग्री फरेन्हाईटभन्दा कडा ज्वरो आउने, घाँटीको पछाडि दुख्ने, स्वासप्रस्वास छिटो–छिटो हुने हुन्छ । कोरोनाका संक्रमितहरूलाई तीन÷चार दिनसम्म त छुट्याउनै गाह्रो हुन्छ ।
त्यसैले चेकनै नगरी रुघा र कोरोनाको लक्षण छुट्याउन सकिदैन । यस्तो संक्रमणकालिन अवस्थामा रुघा लाग्दैमा धेरै आत्तिहाल्नु पनि हुँदैन । तर, माथी उल्लेखित लक्षण देखापरे चिकित्सकको सम्पर्कमा भने आइहाल्नु राम्रो हो । यदि कोरोनाको संक्रमण देखियो भने क्वारेन्टाइनको व्यवस्था गरेर त्यही बस्नु राम्रो हुन्छ ।
अहिले को अवस्थामा रुघाखोकीलाई सामान्य रुपमा लिनु हुँदैन । विश्वमा कोरोनाको महामारी फैलिएको बेला हामीले सामान्य रुघाखोकी त हो भनेर बस्यौं भने त्यो जटिल समस्या बन्न सक्छ ।
रुघाखोकी भाइरलले नै हुने हो । तर, कुनै बेला यही भाइरल पनि बलियो भइदिन सक्छ । भाइरसको संक्रमणले स्वासप्रस्वास सामान्य भयो, मुटुको चाल बढेन, प्रेसर बढेन भने त्यसलाई सामान्य रुपमा लिन सकिन्छ । तर, यसको संक्रमणले ति प्रक्रियामा असर गर्यो भने त्यो कडाखाले भयो । यसको असर व्यक्तिअनुसार फरक पनि हुनसक्छ । लक्षण एउटै भए पनि हेमोडाइनामिक अनुसार यसको असर फरक हुनसक्छ ।
मौसम समयअनुसार परिवर्तन भइराख्छ । मौसमलाई दोष दिने होइन । तर, मौसम अनुसार आउने भाइरलले समस्या गर्ने हो । त्यसैले हामीले समय अनुसार सावधानी अपनाउने हो । भाइरल बेला हेरेर आउँदैन । भाइरल जहिले सुकै आउने भएकाले सधै स्वास्थ्यप्रति सजग भइराख्नुपर्छ ।
के हो इन्फ्लुएन्जा ?
एक प्रकारको भाइरस हो, ‘इन्फ्लुएन्जा’। इन्फ्लुएन्जालाई ‘फ्लु’का नामले समेत चिनिन्छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार किसिमका इन्फ्लुएन्जा हुन्छन् । ‘ए’, ‘बी’, ‘सी’ इन्फ्लुएन्जाले व्यक्तिमा संक्रमण गर्छ । कडा किसिमका ‘ए’ र ‘बी’ इन्फ्लुएन्जाको जोखिम प्रत्येक मौसमको परिवर्तनमा हुन्छ । ‘बी’को तुलनामा ‘ए’ विश्वव्यापी रुपमा फैलिने जोखिम हुने चिकित्सक बताउँछन् । ‘सी’ भने कडा रुपमा देखिँदैन । इन्फ्लुएन्जा ‘ए’ भाइरसको स्वरुप छिटो परिवर्तन हुने भएकाले व्यक्तिको मृत्युको जोखिम बढी हुन्छ ।
नेपलमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतका ‘एच वान एन वान पीडिएम–०९’ र ‘एच थ्रि एन टु’ भाइरस देखिँदै आएका छन् । ‘एच वान एन वानपीडिएम–०९’ लाई स्वाइन फ्लु र ‘एच थ्रि एन टु’ लाई हङकङ फ्लुका नामले चिनिन्छ । त्यसैगरी इन्फ्लुएन्जा ‘एच फाइफ एन वान’को जोखिम पनि त्यत्तिकै हुन्छ ।
जोखिम
रुघाखोकी त हो नि भनेर हेलचक्र्याइँ गर्नु हुन्न । मौसमी फ्लुको संक्रमण भएको खण्डमा श्वासप्रश्वासमा जटिलता निम्तिएर व्यक्तिको मृत्युसमेत हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन् । निमोनियाको जोखिम त्यत्तिकै हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा संक्रमणको जोखिम बढी हुन्छ । त्यसैगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिका र पाका उमेरका व्यक्तिमा इन्फ्लुएन्जाले छिटो आक्रमण गर्छ । बालबालिका र ६० वर्ष उमेर नाघेका व्यक्ति बढी सचेत हुनुपर्छ ।
विभिन्न किसिमका दीर्घ रोगको समस्या भएका व्यक्तिमा इन्फ्लुएन्जाको संक्रमण छिटो हुन सक्छ । त्यसैगरी छातीको रोगसँग सम्बन्धित दम, श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिमा इन्फ्लुएन्जाको संक्रमणको जोखिम बढी हुन्छ ।
फ्लुको संक्रमण भएका बिरामीमध्ये करिब दुई प्रतिशत व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ । फ्लुको संक्रमणका कारण शरीरका विभिन्न अंगले काम गर्न नसक्दा व्यक्तिको ज्यान जान सक्ने संभावना रहन्छ ।
लक्षण र परीक्षण
मौसमी ‘इन्फ्लुएन्जा’ (फ्लु) र कोरोनाको लक्षण लगभग उस्तै हुन्छ । इन्फ्लुएन्जा र कोरोनाका लक्षण मिल्दाजुल्दा भएकाले लक्षणका आधारमा समस्या पहिचान गर्न मुस्किल पर्छ । तर स्वास्थ्य परीक्षणपछि भने एकिन गर्न सकिन्छ ।
इन्फ्लुएन्जाको संक्रमण भएको अवस्थामा रुघाखोकी लाग्ने, ज्वरो आउने, छाती दुख्ने घाँटी दुख्नेजस्ता लक्षण देखिन्छन् । कतिपय संक्रमित व्यक्तिमा पातलो दिसा पनि हुन् सक्छ ।
इन्फ्लुएन्जा भएको अवस्थामा शरीरका मांशपेशी तथा हाडजोर्नी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी, ख्याप्प बस्ने, आँखाका गेडी दुख्नेजस्ता लक्षण देखिने हुन्छ । पशुपंक्षीबाट यस्तो भाइरस संक्रमणको जोखिम बढी हुन्छ ।
व्यक्तिमा फ्लुको संक्रमण भएको अवस्थामा सामान्यतः सुरुवाती लक्षणको रुपमा रुघा लाग्छ । संक्रमण कडा बन्दै गएको अवस्थामा श्वासप्रश्वासमा समस्या बढ्दै जान्छ । तर कोरोना भाइरसको संक्रमण भएको अवस्थामा सुरुमै श्वासप्रश्वासमा समस्या आउने, उच्च ज्वरो आउने त्यसपछि रुघाखोकी लाग्न सक्ने हु्न्छ ।
नेपालमा सबै (११) किसिमका इन्फ्लुएन्जाको परीक्षण हुन्छ । इन्फ्लुएन्जाको लक्षण देखिए चिकित्सकको सिफारिसमा बिरामीको निःशुल्क ल्याब टेस्ट गर्न पाइन्छ ।
उपचार र सावधानी
मौसमी ‘इन्फ्लुएन्जा’(फ्लु) को संक्रमण भएको अवस्थामा लक्षणको आधारमा उपचार विधि अपनाइन्छ । विशेष औषधि हुँदैन । संक्रमणकडा भए ‘ओसेलटेमिभिर’ औषधि प्रयोग गरिन्छ । यो ‘एन्टिभाइरल’ औषधि हो । यो एन्टि भाइरल औषधिको प्रयोगले भाइरस बढ्न दिदैन । सबै भाइरलमा एन्टी भाइरल औषधि चलाउनु नै पर्छ भन्ने हुंदैन । कडा किसिमको इन्फ्लुएन्जामा भने औषधि चलाउनुपर्ने हुनसक्छ ।
सामान्यतः यस्ता मौसमी इन्फ्लुएन्जाको संक्रमण भएको एक हप्तादेखि दस दिनमा ठिक हुन्छ । रुघाखोकी लागेको अवस्थामा पनि हेलचेक्र्याइँ गर्नु हुन्न । दस दिनसम्म पनि रुघाखोकी तथा ज्वरो कम नभए भाइरसको संक्रमण फैलिएर व्यक्तिको ज्यानै जाने जोखिम हुन्छ । इन्फ्लुएन्जाबाट बच्न पटक–पटक नाकमा हात लगाउनु हुन्न । भीडभाडमा बस्नु हुन्न । माक्स लगाउनुपर्छ ।
इन्फ्लुएन्जाबाट बच्न इन्फ्लुएन्जा हुनुपूर्व नै भ्याक्सिन लगाउन सकिन्छ । भ्याक्सिनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले इन्फ्लुएन्जाले सजिलै आक्रमण गर्न सक्दैन । भ्याक्सिनको प्रयोगले सतप्रतिशत इन्फ्लुएन्जाबाट नबचाउने भए पनि करिब ६० प्रतिशतसम्म बच्न सघाउँछ । वर्षमा एक पटक फ्लु विरुद्धको खोप लगाउन सकिन्छ ।
इन्फ्लुएन्जाबाट बच्नका लागि राम्रोसँग हात धोएर खानापान गर्नुपर्छ । यस्तो समस्या भएको अवस्थामा प्रशस्त मात्रामा झोलिलो तथा पोषिलो खानेकुरा खानु पर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ । इन्फ्लुएन्जाको लक्षण देखिए तुरुन्तै चिकित्सकको परामर्शमा जानुपर्छ ।
सावधान :यो स्वास्थ्य समाग्री पढेर तपाँईले आफुखुसी औषधीको प्रयोग तथा परिवर्तन नगर्नुहोला ।




