म्याग्दी, २३ जेठ– मालिका गाउँपालिकाको क्वारेन्टिनबाट म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखेरको टोली परिचालन गरिएको छ ।
मंगलबार दिउँसो खोलामा नुहाउन जाने क्रममा बेपत्ता भएपछि जनप्रतिनिधि, प्रहरीसहितको टोलीले पत्ता लगाउन नसकेपछि पोखराबाट आएको सशस्त्र प्रहरीको गोताखोरसहित १८ जनाको टोली परिचालित गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
सशस्त्रको टोलीले घटनास्थलदेखि रातढुंगासम्म खोजी गरेको भएपनि फेला पार्न नसकेको मालिका गाउँपालिका–१ का वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए । बेपत्ता थापासहित भारतबाट फर्किएका १८ जनाको पिसिआर नेगेटिभ आएपछि मालिकाको क्वारेन्टाइनमा राखिएको थियो । गोताखर टोलीलाई स्थानीय जनप्रतिधिले समेत सघाइरहेका छन् । खोज तथा उद्धारमा सशस्त्रको गोताखोर टोलीलाई निकै भरपर्दो मानिन्छ ।





