पोखरा, ३० जेठ – प्रधानमन्त्री केपी ओलीले ‘यस देशको पानी अनेक मिनरल तत्वसँग खेल्दै रसाएर निस्केको पानी हुन्छ’ भन्दै स्वच्छ हावापानीकै कारण नेपालीको प्रतिरोधात्मक क्षमता बढी भएको तर्क गरे । संसदमा हिउँबाट, हिमालमाथि बसेर, त्यसपछि पग्लेर निस्केको पानीको चर्चा गर्दा उनले ताली पाए । विज्ञहरुले भने उनको कुरा पत्याएनन् । बरु, स्वच्छ पानीकै अभावमा झाडापखालाजस्ता रोगको संक्रमणबाट नेपाली पीडित हुँदै आएको तथ्य पेश गरे । तथ्य जे भए पनि वर्षौं अगाडि नै पोखरेलीले भने माटोकै पाइपबाट पानी खाने तथ्य रहेको छ ।
पोखराको सेती पारिको एउटा बस्तीको नाम हो, माटेपानी । काहुँका पुछारमा रहेको सो बस्तीको एउटा छेउमा सितालादेवीको मन्दिर पनि छ । आरोग्यताकी देवीको नाममा सो टोललाई सितलादेवी भनिए पनि बस्ती माटेपानीले नामले पनि चिनिन्छ । हो, उनै सितलादेवी मन्दिरकै अगाडि अहिले एउटा ढुंगेधारो र चौतारो छ । ढुंगाकै धाराबाट पानी पनि आउँछ तर त्यो पानी मूलको भने हैन । पोखरामा बितरण गरिएको खानेपानीकै धारालाई ढुगेधारामा जोडेर पानी खस्ने बनाइएको छ । तर, बूढापाकाहरु भन्छन्, त्यो धारामा कुनैबेला मूलकै पानी आउँथ्यो । काठमाडौंमा प्रचलनमा रहेको हिति ( ढुंगेधारा) परम्परासँग मेल खाने सो धारामा पानी भने अहिले मणिपाल अस्पताल बसेको फूलबारीको सिरानतिरबाट ल्याइएको थियो । मणिपालनेरको त्यो कुनो धाराबाट झण्डै २ किलोमिटरको दूरीमा रहेको छ । त्यहाँबाट माटोकै पाइपमा पानी ल्याइएको जानकारहरु बताउँछन् । प्राध्यापक डाक्टर जगमान गुरुङका अनुसार सितलादेवी मन्दिरको अगाडि रहेको सो ढुंगेधारोमा तीन तह रहेका थिए । जमिनको मुन्तिर बनाइएको धारोमा सिँढी झरेर जानुपथ्र्यो ।ढुंगा छापिएको पधेँरोमा पानीको निकास पनि थियो । त्यहाँबाट बगेको पानी नजिकैको पोखरीमा जम्मा हुन्थ्यो । पानी गाईबस्तु र चराचुरुङ्गीले खान्थे । तर, अहिले त्यो धाराको अस्तित्व मेटिएको छ ।उनले १८८९ सालमा सितलादेवीको मन्दिर बनेसँगै मन्दिर प्राङ्गणमा पानीको धारा पनि ल्याइएको दावी गरे ।
‘त्यो मन्दिर बनाउने कार्कीहरुले नै पानीको धारा ल्याएका हुन्,सभ्यताको केन्द्र काठमाडौं नै थियो भनेपछि पाइप बनाउन काठमाडौंबाटै सिके होलान् ,त्यो बेला गोलो २–३ हातको पाइप बनाउँदा रहेछन्, त्यसलाई पकाएर, अलिकति ओरालो बनाएर जोड्दै ल्याउने रहेछन्’ उनले भने,‘सितलादेवीको धारा त छ तर पहिले तल थियो, ढुंगेधारो राम्रो थियो, अहिले पुरेर माथि लगेर विकृत रुपले राखेको छ । साबिकमै जोडे हुन्थ्यो ।’ मन्दिरको शिलालेखमा कार्कीहरुको गोत्र लेखिएको छ । धनवीर र महावीरले मन्दिर बनाएको उल्लेख गरिएको छ । ि
धाराकै छेउमा घर भएका डाक्टर अनिल सुवेदीसँग त्यहाँको पुरानो पधेँरोका केही सम्झनाहरु बँचेका छन् ।
‘हाम्रा पिताजी शास्त्री देवीरमण सुवेदीले २०१४÷१५ सालतिर धारोकै अगाडि जग्गा किन्नुृभयो, २०२२÷२३ सालतिरको क्ुरा हो, जग्गालाई तिरेको पैसामध्ये प्रब्ुद्धहरु रुद्रबहादुर कार्कीहरु बसेर यो रकम सितलादेवीको अगाडि रहेको धारा मर्मत गर्नुपर्छ भनेर केही रकम त्यहाँ खर्च भएको हो’, उनले भने,‘ त्यो तीन तहको हिति थियो, बुबाको पालामा तीन तहकै थियो, पछि ५० सालतिर पुरिएको हो,बुबाले दिएको पैसाले नै त्यो धारा मर्मत भएको हो ,त्यो बेला त्यहाँ झ्याङ र फोहर थियो ।’
उनले धाराबाट पानी आएको भने देखेनन् रे । बरु बर्खामा पानी रसाएको भने हुन्थ्यो रे ! पछि स्थानीयहरुले छलफल गरे । हितिको घेरोदेखि करिब २५÷३० मिटरजति परसम्म पाइप कहाँबाट आएको रहेछ भनेर उत्तरतर्फ खनियो पनि रे !
‘त्यो खन्दाखेरि माटोको पाइप देखेको हो, त्यो पाइप मैले पनि खुद देखेको हुँ’, उनले भने,‘त्यति खन्दा माटोको पाइप फुटेको पाइयो,त्यसपछि फुटेको होला भनेर खनिएन, त्यो बेला संरक्षण गर्नुपर्छ भन्ने सोच भएको भए खोज हुन्थ्यो होला, मुहानसम्म खन्ने अवस्था थिएन ।’ उनका अनुसार यो २०२४ सालतिरको कुरा हो । आफूहरु सानै हुँदा मूलसम्म जाने भनेर आफ्ना पिताजी, रुद्रबहादुर कार्की, वीरबहादुर कार्कीहरु गएका र आफू पनि पछि लागेर गएको उनले सम्झिए । उनका अनुसार माटोका पाइपहरु निकालिएको भए पनि कता गए भन्ने अहिले संरक्षणमा छैनन् । माटोकै पाइपबाट पानी ल्याइएकोले माटेपानी नाम रहेको सम्भावना भए पनि त्यसको आधिकारिता पुष्टि भने नभएको उनले सुनाए । यता सामाजिक अध्येता विश्व सिग्देलेले सितलादेवीको मन्दिर बनेपछि त्यहाँ धारा ल्याइएको अनुमान लगाए । ‘मन्दिरमा जानेहरु शुद्ध हुनुपर्ने, मन्दिरमा चढाइने प्रसाद खान चराहरु आउने र उनीहरुलाई पनि पानी चाहिने भएकाले त्यो बेला त्यहाँ दुःख गरेर पानी ल्याइएको हुनुपर्छ’, उनले भने,‘मूलबाट ल्याइएको पानी भएकाले त्यो शुद्ध थियो भन्न सकिन्छ ।’ उनले प्रधानमन्त्रीको हावाको शुद्धताबारेको अभिव्यक्ति गलत भए पनि पानी कस्तो ठाउँबाट बग्छ भन्नेले पानीको शुद्धता निर्धारण गर्ने भने बताए ।
यता, प्राध्यापक डाक्टर जगमान गुरुङकै अनुसार पोखराको नालामुखमा पनि यस्तै धारो रहेको थियो । सराङ्कोटको फेदीको मूलबाट माटोकै पाइपबाट ल्याइएको नालामुखको ढुंगेधारो भने मासिएको छ । नालामुख चोकमा अहिले गणेशमानको शालिक भएको ठाउँनेर पौवा थियो रे ! त्यो पौवानेर अदालत, विन्ध्यवासिनीमा माल अड्डा थियो,गोस्वारा पनि त्यतै थियो । अर्को धारो ल्याएपछि त्यो पुरेर हुलाकको भवन बनाइयो रे । उनले संकेत गरेको समयकाल १९७७ सालतिर हो । पोखरामा १९७७ सालदेखि नै योजनावद्ध रुपले खानेपानी बितरणको थालनी भएको हो । पोखराका बडाहाकिम बवर समसेरले बाल्यकालमै बितेका आफ्ना छोरा बालसमसेरको सम्झनामा सराङकोटको पुछारमा रहेको मुलको पानी पोखराको विभिन्न ठाउँमा बितरण गरेका थिए ।पोखरामा आधुनिक रुपले खानेपानी परियोजना भने २०४४ सालमा मर्दीबाट १६ इञ्चको पाइमा पानी ल्याएर सुरु भएको हो ।
जानकारका अनुसार १९७६ आसपासमा पोखराका विभिन्न १२ स्थानमा र ढुङ्गेधारा निर्माण गरिएको थियो । तत्कालीन समयमा पोखराको बगर, विन्दवासिनी, नालाको मुख, रामकृष्ण टोल, बगालेटोल, गणेशटोल, जाल्पामाई, साँघुको मुखलगायतका १२ वटा स्थानमा ढुङ्गेधारा सञ्चालनमा आएका थिए ।पोखराको भैरवटोलस्थित एक ढुङ्गे धारामा रहेको शिलालेखमा १९६२ साल फागुनमा जन्म भई १९७६ साल असारमा परलोक भएका बाल समसेरको स्वर्गवास होस् भन्दै १९७७ मा धारा निर्माण सम्पन्न भएको उल्लेख छ । अहिले भने पोखरामा जाइकाको सहयोगमा बृहत खानेपानी योजनाको काम चलिरहेको छ ।
‘मिनिरल्स’ मिसिएको पानीले रोग प्रतिरोधात्मक क्षमता बढाएको प्रधानमन्त्रीले दावा गरिरहँदा मानव विकास सूचांकमा अघिरहेको गण्डकीको राजधानी पोखरामा पनि शुद्ध खानेपानीको व्यवस्था छैन । पोखरामा मर्दी खोलाबाट ल्याइएको पानी क्लोरिन हालेर सोझै बितरण हुँदै आएको छ । यता, नेपाल सरसफाई र पिउने पानीको स्वच्छतामा १८० देशमध्ये १३० औं नम्बरमा रहेको छ । सन् २०१४ मा प्रकाशित मानव विकास सूचांकले गण्डकीमा मात्रै कुल जनसंख्यामध्ये करिब १० प्रतिशत घरधुरी शुद्ध हैन पाइपको पानी खान बञ्चित रहेको औंल्याएको थियो । प्रदेश सरकारले एक घर एक धाराको नारासहित आर्थिक वर्ष २०७६÷०७७ मा २ अर्ब २० करोड विनियोजन गरेको थियो । यो परियोजनाअन्तर्गत ९५ परियोजनाबाट २९ हजार ७ सय धारा निर्माण भएको जनाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा पनि एक घर एक धारा अभियानलाई निरन्तरता दिइएको छ । गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुद्ध हैन कि सबै घरमा पाइपको पानी पु¥याउने गण्डकीको लक्ष्य रहेको बताउँदै आएका छन् ।





