अबको केही दिनमा मनसुन सुरु हुन्छ । यो मौसममा रोगको संक्रमण बढी हुने गर्छ । त्यसैले खानपान तथा पानीमा विशेष सर्तकता अपनाउनु पर्ने हुन्छ । यसलाई रोग आमन्त्रण गर्ने मौसमको रुपमा पनि लिइन्छ । किनभने वर्षाको कारण हिलो, फोहोर हुने, खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ । सबैतिर ओसिलो हुने भएकाले व्याक्टेरिया पनि फैलन सक्छ । त्यसैले सागसब्जीको माध्यमबाट समेत त्यस्तो व्याक्टेरिया फैलने भय हुन्छ । बर्षात्को कारण बिभिन्न पिउने पानीको श्रोत तथा मुहानहरू प्रदुषित हुन्छ । पिउने पानीको मुहान तथा संकलन केन्द्रमा वर्षात्ले बिभिन्न पाखापखेरीबाट बगाएर ल्याएको हानिकारक बस्तुहरू मिसाउन सक्छ । उक्त दुषितताको कारण मानव स्वास्थ्यमा विभिन्न रोगहरू लाग्न सक्छ । त्यसैले आफ्नो पिउन, दैनिक सरसफाईमा प्रयोग हुने र भान्सामा प्रयोग हुने पानीको श्रोतको पुर्ण रूपमा सुरक्षित गराउनुपर्दछ ।
अतः वर्षात्मा निम्न रोगहरु लाग्ने सम्भावना रहन्छ ।
टाइफाइड
दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्रायः गर्मी र बर्खायामको समयमा बढी क्रियाशिल हुने गर्छ । मनसुनको बेलामा धेरैमा संक्रमण भनेको टाइफाइड ज्वरो देखिने हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् । दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु देखिन्छ । यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ । मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिँगाटा लाग्ने, वाकवाकी लागि कसै–कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ ।
मलेरिया
मलेरिया वर्षामा हुने आम तर गम्भीर संक्रामक बिमारी हो । जमेको पानीबाट फैलने लामखुट्टेले टोक्दा यस्तो रोग लाग्न सक्छ । यो रोग एनाफिलिज लामखुट्टेको टोकाइबाट सर्छ । यसबाट बच्नका लागि घर आसपासमा पानी जम्न दिनु हुँदैन ।
डेंगु (डेंगी)
डेंगुको ज्वरो पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसको संक्रमणबाट पूरै शरीर र जोर्नीमा अधिक पीडा हुन्छ । यसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । साथै घर बाहिर निस्कनुअघि पूरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । एडिस प्रजातीको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ । अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भए पनि एडिस प्रजातिको लामखुट्टेले तीन÷चार दिनदेखी जमेको पानीमा मात्र फूल पार्ने गर्छ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गर्छ ।
हैजा
भिब्रियो कोलेरा नामक जीवाणुको कारण फैलने यो रोग दूषित भोजन वा पेय पदार्थको कारण हुन्छ । पेट दुख्नुका साथै वान्ता, झाडा पखला लाग्न सक्छ । यसले शरीरमा पानीको मात्रा कम हुन्छ । मिनरल्सको मात्रा कम हुन्छ । त्यसैले रोगी एकदमै कमजोर हुन्छन् । यसबाट बच्नका लागि पनि खानपानमा ध्यान दिनुपर्छ ।
हेपटाइस ए, बी
हामीले खाने कुरा र पानीले गर्दा यस मौसममा देखिने अर्काे प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात् जन्डिस हो । बासी खानेकुरा तथा दुषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ । शरीरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाने गर्नाले पनि धेरैलाई जन्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने शरीर गर्दै जाने जन्डिसको प्रमुख लक्षण हो ।
आउँ
हामीले खाने दुषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ देखिने गर्छ । पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपुर्ण अंगहरुले काम गर्न छोड्न हुन्छ । जसले गर्दा यस मौसममा आउँबाट बच्न हामीले खाने पानी र खानेकुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
झाडापखला
यो मौसममा देखिने पानीजन्य अर्काे सरुवा रोग झाडापखला हो । बर्षाको समयमा हामीले खाने धेरैजसो पानी दुषित हुने हुँदा झाडापखला देखिने गर्छ । शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखला धेरै देखिने गर्छ । यस मौसमा खानेपानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुँदा झाडापखला धेरै देखिने गर्छ ।
झाडापखालाका लक्षणहरू
झाडापखाला हुँदा दिसामा नपचेको खानाका टुक्रा आउने, दिसा धेरै गन्हाउने, पेट गड्याङगुडुङ गर्ने र दुख्ने, हातखुट्टा र मांसपेशी दुख्ने, बाउँडिने र गल्ने, बच्चा हो भने झर्काे मान्ने, तिर्खा बढी लाग्ने, रिंगटा लाग्ने, कमजोरीको महसुस हुने, मुख सुख्खा र फोहोरी हुने, आँखा गाँडिने, पिसाब कम हुने, रुँदा आँसु नै नआउने, बच्चाहरूमा आँखा सुख्खा हुन्छ, शरीर चिसो हुन्छ । पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्ने समस्या हुन्छ । नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुने, रक्तचाप कम, श्वासप्रश्वास तीव्र र आलस्य हुने पनि झाडापखालाका लक्षण हुन ।
झाडापखाला हुँदा घरमा नै उपचार गर्न पनि सकिन्छ । प्रशस्त मात्रामा घरेलु गेडागुडीको झोल अन्य झोल पदार्थका खानेकुराहरू खुवाउने गर्नुपर्छ । यदि आमाको दूध खाने बच्चा हो भने अरू समयमा भन्दा बढीपटक खुवाउनुपर्छ । अलिकति ठूलो बच्चा भए प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू (दालको झोल, मसला कम भएको तरकारी, गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, भातको माड, अन्न पातलो लिटो) खुवाउनुपर्छ ।
यस्तो समयमा पानी प्रशस्त मात्रामा खानुपर्छ । झाडापखाला हुँदा हाम्रो शरीरबाट नुन र पानी खेर गएको हुन्छ त्यसैले यसको लागि पुर्नजलीय झोल बनाएर प्रशस्त खानुपर्छ । झाडापखाला मात्रै नभएर शरीर स्वस्थ राख्नका लागि पनि हामीले सधैँ राम्रो खानेकुरा खानुपर्छ । सधैँ साबुन पानीले राम्रोसँग हात धोई सफा गरेर मात्रै खानेकुरा खानुपर्दछ । पखाला लाग्दा पुर्नजलीय झोल एकदमै महत्वपूर्ण हुन्छ ।
जतिपटक पखाला लाग्छ, त्यति नै पटक खाँदा यसले राम्रो हुन्छ । घरेलु उपचार गर्दा झाडापखालाको अवस्था सुध्रिँदै जान्छ र ठीक हुन्छ । यदि २÷३ दिनसम्म राम्रो भएन भने दिसा धेरै पातलो गरे, तारन्तार वान्ता गरे, ज्यादै तिर्खाए, खाना खान नसके, ज्वरो आयो वा कम्पन (कामज्वरो) आउन थाले, मुख खुट्टा सुन्निए, नाडी कमजोर र छिटो–छिटो चलिरह्यो भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ ।
रक्तचाप कम भएमा र दिसामा रगत देखिएमा, नजिकको स्वास्थ्य संस्था वा चिकित्सककहाँ लैजानुपर्छ । सरुवा रोग मध्येको एक रोग हो झाडापखाला, यो गर्मीमा हुन्छ । झाडापखालाको प्रमुख कारण खानेकुरा हो र यस सँग–सँगै पानीको कारण पनि झाडापखाला लाग्दछ । हरेक वर्ष झाडापखाला लाग्ने भनेको खानेपानी र खानेकुरामा भएको संक्रमणले गर्दा हो ।
झाडापखालाबाट बच्न हाम्रो बानी परिवर्तन गर्न जरुरी छ । पानी र खानेकुराबाट नै झाडापखाला हुने भएकाले पानीलाई राम्रोसँग उमालेरमात्रै खानुपर्दछ । त्यस्तै बासी खानेकुरा खानुहुँदैन यो नै झाडापखालाबाट बच्ने मुख्य उपाय हो । गर्मीमा खानेकुरालाई फ्रिजमा राखेर खानु उपयुक्त हुन्छ । धेरै समयसम्म बाहिर राखेर खाँदा असर गर्छ, यसले गर्दा (फुटप्वाइजिङ÷खाना बिषाक्त) भएर झाडापखाला हुन्छ ।
कसै–कसैलाई धेरै चिसो पानी खाँदा पनि घाँटी दुख्ने समस्या हुन्छ तर सबैलाई यस्तो हुन्छ भन्ने हुँदैन । झाडापखाला बढी भएर बेहोस हुन सक्ने र अझ उपचार ढिलो गर्यो भने मृत्युसमेत हुने भएकाले यसलाई सामान्य रूपमा लिनुहुँदैन । खानेपानीमा समस्या, प्रदूषण र सरसफाइमा समस्याका कारण झाडापखाला निम्तिने गर्दछ । झाडापखालाकै कारण बर्सेनि हजारौँ बच्चाको अकालमै मृत्यु पनि हुने गरेको छ ।
नेपालका लागि चुनौतीको रूपमा रहेको झाडापखाला गर्मी मौसमको सुरुआतसँगै गर्मी र वर्षात्को समयमा झिंगाहरू धेरै हुने हुँदा झाडापखालाको सम्भावना बढी हुन्छ । आफ्नो शरीर र वातावरणीय सरसफाइमा पर्याप्त ध्यान नपुग्दा झाडापखाला हुने हुनाले यसमा ध्यान दिनुपर्दछ । अहिले वर्षात्को समय छ, पानी परिरहन्छ यसले गर्दा ठाउ–ठाउँमा बाढी आउने हुन्छ । बाढीले जीवजन्तुहरू मर्ने र पानी प्रदूषित भई वातावरणसमेत फोहोर हुन्छ, त्यसले झाडापखालाको महामारीसमेत फैलिन सक्छ् ।
भाइरल–रोटा, ब्याक्टेरिया–भी कोलेरी, सालमोनेला, क्लोस्ट्रोडियम आदि, प्रोटोजोबल–इ, हिस्टोलाइटिका, जियारडिया लाम्बलिया आदि र विषाक्त खाना (फुड प्वाइजनिङ)बाट हुने पखाला एक्कासी हुने झाडापखाला हो । दीर्घकालीन हुने झाडापखाला मधुमेह, पाकस्थली वा ठूलो आन्द्रामा सुजन (सुन्निनु), पित्तशयमा सुजन, पित्तथैलीमा पत्थरी, शरीरमा भिटामिन ‘बी’ को कमी, क्षयरोग, क्यान्सर आदिमा देखिन्छ ।
जलश्रोतमा विश्वमै दोस्रो धनी भएता पनि काठमाडौंलगायत अधिकांस सहरहरूमा पानीको एकदमै समस्या छ । जारको शुद्वीकरण गरिएको भन्ने पानीमा समेत धेरै समस्या आइरहेको हुन्छ ।
सामान्य घरेलु उपचार
कुपोषणबाट जोगाउने, साविककै जस्तो खानेकुरा दिने गर्नुपर्छ ।
प्रशस्त मात्रामा घरेलु झोल कुराहरू खुवाउनु पर्दछ । आमाको दूध खाने बच्चा भए साविकको भन्दा बढी पटक दूध खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा कम उमेरको भए ५–६ पटक आमाको दुध र नपुग्ने भए गाईभैंसीको वा बट्टाको दूधमा आधा पानी मिसाई खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा बढी उमेरको भए वा ठोस आहार खाने बच्चा भए बिरामीलाई प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू जस्तैः दालकोझोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, फिका चिया, भातको माड, अन्न पातलो लिटोसमेत नभएमा सादा पानी प्रशस्त मात्रामा दिनुपर्छ । समुदायमा झाडा पखाला लाग्दा पानी पिउन नदिने अत्यन्त गलत धारणा छ, जसले गर्दा खेर गएको पानी आपूर्ति नभई जलवियोजन हुन्छ । झाडा पखालाबाट खेर गएको लवण, पोषक तत्वहरू र पानी क्षतिपूर्ति गर्न पुर्नजलीय झोल बनाएर खुवाउनुपर्दछ ।
यसरी घरेलु उपचार गरेमा सामान्यतः तीनचार दिनमा झाडापखालाको अवस्था सुध्रिदै जान्छ र ठीक हुन्छ । तर तीन दिनसम्म सुधारोन्मुख नभएमा, धेरै पातलो दिसा गरेमा, तारन्तार बान्ता गरेमा, ज्यादै तिर्खाएमा राम्ररी खान पिउन नसकेमा, ज्वरो आएमा कम्पन हुन थालेमा, मुख–खुट्टा सुन्निएमा, नाडी कमजोर र छिटो–छिटो चलिरहेमा, रक्तचाप कम भएमा, दिसामा रगत देखिएमा, मुखबाट पुर्नजलीय उपचार गर्न नसकिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा वा स्वास्थ्यकर्मी वा चिकित्सककोमा लैजानुपर्छ । यसो गर्दा धनजनको क्षतिमा न्यूनीकरण गर्न सकिन्छ ।
यस्ता रोगबाट कसरी बच्ने ?
पानी उमालेर पिउने
बर्षाको बेलामा धेरै बाढी पहिरो आउने गर्छ । जसले गर्दा हाम्रो घरवरपरको खानेपानीको मुहानहरुमा बाढी पसेर खानेपानीको मुहान दुषित पार्ने गर्छ । यसरी बाढी पसेको पानी हामीले सेवन गर्न बाध्य हुन्छौँ जसले गर्दा हामीलाई झाडापखला, आउँजस्ता संक्रमण देखिने गर्छ । त्यसैले पानीलाई उमालेर पिउने गर्नुपर्छ । यदि पानी उमालेर पिउन नसक्ने अवस्था आएमा पानीलाई निर्मलिकरणमार्फत पानीमा कोलोरिन भए पनि राखेर पिउने गर्नुपर्छ । पानीलाई कम्तिमा पनी एक मिनेटसम्म उमालेर पिउने गर्नुपर्छ ।
व्यक्तिगत सरसफाइमा ध्यान दिने
सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ । बर्षातको मौसममा अझ बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तीमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुँदा हामीले खाने पानीको शुद्धतामा बिशेष ध्यान दिनु आवश्यक हुन्छ । बर्षात्मा दुषित पानीबाट लाग्ने रोगहरुबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दुषित पानीको सेवन नगर्नु र हात धोएर मात्र खानेकुरा खाने गर्नुपर्छ । जथाभावी दिसापिसाब गर्नु हुँदैन । खानेकुरालाई राम्रोसंग पकाएर खानु पर्छ । यसका साथै साबुन पानीले हात धुने गरेमा पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरिसकेपछि, खाना खानुभन्दा पहिला, खाना बनाउनुअघि र खाना सर्भ गर्नु पहिला साबुन पानीले हात धुनु आवश्यक हुन्छ ।
घरबाहिर निस्कदा माक्स प्रयोग गरौँ
यस मौसममा बासी खानेकुरा तथा काँचो खानेकुरा खानु हुदैन । घरबाहिर निस्कदा माक्सको प्रयोग गर्ने गर्नुपर्छ । यस मौसममा बाढीले विभिन्नखालका जिवजन्तुहरुलाई बगाएर ल्याउने धेरै सम्भावना हुन्छ । जसले गर्दा दुर्गन्ध फौलिने गर्छ यस्ता खालका दुर्गन्धले हाम्रो स्वास्थ्यलाई असर गर्ने गर्छ । त्यसैले बाहिर निस्कदा माक्सको प्रयोग गर्नु राम्रो हुन्छ ।
सावधान : यो स्वास्थ्य सामग्री पढेर तपाईले आफुखशी औषधिको प्रयोग तथा परिवर्तन नगर्नुहोला




