शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरीमा कोरोना प्रयोगशाला : हल्ला र वास्तविकता

धौलागिरीमा कोरोना प्रयोगशाला : हल्ला र वास्तविकता

आवश्यकता र अभावको चेपुवामा प्रयोगशाला


  • तारानाथ आचार्य
  • जेष्ठ ३१ २०७७, शनिबार

फाईल तस्विर

बागलुङ, ३१ जेठ– कोरोना परीक्षण गर्न क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाउँदा रिपोर्ट आउन हप्तादिन लाग्न थालेपछि बागलुङका स्थानीय तहले संयुक्त रुपमा जिल्लामै प्रयोगशाला स्थापनाको उद्घोष गरे । लामो समय क्वारेन्टाइनमा नागरिक राख्दा हुने खर्चभन्दा कोरोना परीक्षण गर्ने मेसिन खरिद गरेर ल्याव सञ्चालनमा ल्याउँदा लाग्ने खर्च कम हुने आँकलन स्थानीय सरकारको छ ।
नागरिकप्रतिको उत्तरदायित्व बोध गर्ने र खर्च कम गर्ने प्रयत्नस्वरुप जिल्लाका दश स्थानीय तहको संयुक्त बैठकबाट पिसिआर खरिदको प्रकृया थाल्ने निर्णय पनि भएको छ । तर, स्थानीय तहको निर्णयले हौसिएका नागरिकले समयमै कोरोनाको परीक्षण गर्न पाउने वातावरण बन्नका लागि भने तीनै तहका सरकारको बिचमा तारतम्य मिलेर सबैले योगदान गरेपनि दुई महिनाभन्दा बढी समय लाग्ने पक्का छ ।
प्रादेशिक प्रयोगशाला पोखराले गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्थापना गरेको पिसिआर मेसिनबाट कोरोनाको जाँच गरिरहेको छ । चाप बढेपछि प्रादेशिक क्षयरोग केन्द्रमा अर्को प्रयोगशाला स्थापना गर्न थालेको एक महिनाभन्दा धेरै भयो । प्रयोगशालाका लागि आवश्यक सुरक्षासहितका पूर्वाधार निर्माणको लागि मात्रै एक महिनाभन्दा धेरै समय लाग्ने गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, अस्पताल तथा चिकित्सक सेवा महाशाखाका निर्देशक डा. रामबहादुर केसी बताउँछन् ।
क्षयरोग केन्द्रको प्रयोगशालामा धेरै सुधार गर्नुपर्ने थिएन । कोरोना जाँचका लागि मेसिनको नजिक बस्ने प्राबिधिकहरुलाई संक्रमणबाट जोगाउन बनाइने ‘नेगेटिभ प्रेसर रुम’को पूर्ण निर्माणको लागि मात्रै यति धेरै समय लागेको हो । त्यसबाहेक प्रयोगशाला बनाउने भवनमा ‘बायोसेफ्टी क्याविनेट’ बनाउनुपर्छ, त्यसका लागि पनि समय लाग्छ । बागलुङमा निर्णय भएकोजस्तो स्थानीय सरकारले सहास गरेर पिसिआर मेसिन खरिद गरे पनि यहाँ पोखरामा जत्तिको पूर्वाधार छैन । स्थानीय तहले चाहेको धौलागिरी अस्पतालमा प्रयोगशाला स्थापना गर्न अनुकुल पूर्वाधारको अभावनै रहेको केसी बताउँछन् ।
प्रयोगशलाका लागि अर्को महत्वपूर्ण समस्या हो दक्ष जनशक्तिको अभाव । प्रादेशिक प्रयोगशलाका अनुसार एउटा पिसिआर मेसिनमा एक पटक कोरोनाको जाँचका लागि तयार भएर बस्नुपर्ने ८ जना दक्ष जनशक्ति चाहिन्छ । त्यसबाहेक २ जना सरसफाई कर्मचारीको आवश्यकता हुन्छ । ‘पिपिई लगाएका प्राबिधिकहरु बढीमा ३ घण्टाभन्दा धेरै नेगेटिभ प्रेसर रुमभित्र बसेभने बाफिन्छन्’ केसी भन्छन् ‘मेसिन नजिक बसेर काम गर्ने र बाहिरी फेरोमा काम गर्नेलाई दिनमा एक राउण्ड मात्रै काम गराउन सकिन्छ ।’
ल्याव स्थापना गर्ने भनिएको धौलागिरी अस्पतालमा रहेका प्राबिधिकसमेत प्रदेश सरकारले पोखराकै ल्यावमा काम गर्न बोलाईरहेको छ । ‘एउटा हामीसँग कोरोना जाँच्न सक्ने जनशक्तिको पनि अभाव छ, अर्को पक्ष भनेको धेरैले मेसिनको नजिक बस्नै मान्दैनन्’ उनले भने ‘ल्याब स्थापना गर्न सकिएला तर चलाउन कठिन छ, कोरोना भूतले सबैलाई छोएको छ कसैले काम गर्नै मान्दैनन् ।’
प्रयोगशालामा जाँचको लागि बिएमएलटी अध्ययन गरेको जनशक्ति आवश्यक हुन्छ । गण्डकी प्रदेशमा १६ जना यस्ता स्थायी प्राबिधिक छन्भने कोरोना महामारीपछि करारमा लिईएका नौ जनाले काम गरिरहेको निर्देशनालयले जनाएको छ । अहिले उपलव्ध जनशक्तिले पोखराकै दुईवटा ल्यावको काम नभ्याईरहेको केसीले बताए ।
बागलुङमा प्रयोगशालाको लागि अर्को चुनौती पिसिआर मेसिन र त्यससँग सम्बन्धित सामग्रीहरुको खरिद तथा जडान हो । विश्व बजारमा पिसिआर मेसिनको मुल्य दिन–दिनै घटबढ भैरहेको भएपनि नेपाली ३५ देखि ४० लाख मुल्यमा खरिद गर्न सकिन्छ । तर, त्यससँगै आवश्यक पर्ने अन्य सामग्री र त्यसको जडानको काम निकै महंगो हुने अनुभव प्रदेश सरकारसँग छ । ‘नहुँदा पनि साढे दुई करोड खर्च आउँछ’ केसी भन्छन् ‘मेसिनभन्दा महंगो नेगेटिभ प्रेसर रुम बनाउँदा पर्छ ।’ एक जना व्यक्तिको कोरोना जाँचका लागि लिईने स्वावलाई व्यक्तिदेखि प्रयोगशाला पु¥याउँदा सम्मको खर्च मात्रै १५ हजार रुपैयाँभन्दा धेरै आउँछ । पिपिइ, यातायात, केमिकल रिएजेण्ट, भिटिएम, भाईरस ट्रन्सपोर्ट मिडियालगायतका सामग्री खर्चमा आउने केसी बताउँछन् ।
कयौं चुनौतीका बाबजुद बागलुङका स्थानीय तहले भने प्रदेश र केन्द्र सरकारले सहयोग गरे ल्याव स्थपना गरेरै छाड्ने अडानमै छन् । ‘नागरिकप्रति राज्यको दायित्व पुरा गर्ने बेला आएको छ, आवश्यकताले नै उपलव्धताको खोजी गर्छ’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘इच्छाशक्ति हुने हो भने जनशक्ति र पूर्वाधार हायर गर्न सकिन्छ ।’
अहिले झण्डै दुई हजारको हाराहारीमा क्वारेन्टाईनमा रहेकाहरुको जाँचमा ढिलाई भैरहेको भन्दै त्यसले भयावह रुप सिर्जना भएकाले प्रयोगशाला स्थापना गरेर धमाधम जाँच गर्नुको विकल्प नरहेको उनले बताए । ‘तेस्रो मुलुकबाट समेत आउनेको संख्या थपिन्छ । हाम्रा क्वारेण्टाइनमा दशहजार जनाभन्दा धेरै पुग्छन्’ पौडेल भन्छन् ‘यहि पारा हो भने उनीहरुको जाँच गर्न छ महिना लाग्छ । कसरी धान्न सकिन्छ र नागरिकको स्वास्थ्य के हुन्छ ?’ उनले राज्य भएको नागरिकलाई महशुस गराउनकै लागि तत्काल प्रयोगशाला स्थापना गर्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->