शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जेनजीको मनोदशा

जेनजीको मनोदशा

विदेश जाने इच्छा देशप्रतिको घृणाको परिणाम होइन । धेरै युवाको चाहना नेपालमै सम्मानजनक जीवन, प्रतिस्पर्धात्मक रोजगारी र सिर्जनशील वातावरण पाउनेछ ।


  • रामकृष्ण बोहरा
  • भाद्र ६ २०८३, शनिबार

स्केच : एआई

विश्वभर नै सार्वजनिक जीवनका पछिल्ला वर्षमा धेरै सुनिएको शब्दमध्ये पर्छः जेनजी पुस्ता । उनीहरुका माग, आन्दोलन, संघर्ष र त्यसले ल्याएको हलचल चर्चामा छन् । सामान्यतः सन् १९९७ देखि २०१२ बीच जन्मिएको यो पुस्ता प्रविधिसँगै हुर्किएको हो । विश्वलाई एउटै पर्दाबाट हेर्न सक्ने र पुराना मान्यतामाथि प्रश्न गर्न सक्ने पुस्ता हो यो । उनीहरू अघिल्लो पुस्ताभन्दा फरक छन् । फरकमात्र छैनन, हरेक कुरा भिन्न तरिकाले सोच्छन्; बुझ्छन्; तर्क गर्दछन् । किन कि उनीहरूको तुलना आफ्नै समाजसँग मात्र होइन; विश्वसँग हुन्छ । उनीहरूका अपेक्षा पनि विश्वस्तरकै अवसर, पारदर्शिता र सम्मानसँग सम्बन्धित छन् ।

नेपालमा जेनजी पुस्तालाई राजनीतिक ढंगले एक विद्रोही समूहमात्र भनेर बुझ्नु ठूलो भूल हुनेछ । उनीहरूको असन्तुष्टि कुनै राजनीतिक दल, नेता वा घटनाविरुद्ध मात्र होइन । यो दशकौंदेखिको शासनशैली, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितता विरुद्धको प्रश्न हो । जेनजी पुस्ता देशमा भ्रष्टाचार, नातावाद, ढिलासुस्ती र उत्तरदायित्वविहीन राजनीतिक संस्कृतिलाई अस्वीकार गर्छ ।

लेखक

यो विद्रोहको केन्द्रमा एउटा सरल प्रश्न हो–हामीले आफ्नो भविष्य कहाँ खोज्ने ?’ यही प्रश्नले हजारौं युवालाई हरेक वर्ष अध्ययन, रोजगारी र स्थायी बसोबासका लागि विदेशतर्फ धकेलिरहेको छ । नेपालका विश्वविद्यालयमा गरिएको एक अध्ययन अनुसार ६१.६ प्रतिशत नेपाली विद्यार्थी विदेश जाने आकांक्षा राख्छन् । यसो हुनुको प्रमुख कारण देशभित्र अवसरको कम हुनु, देशप्रति बढ्दो अविश्वास र सुशासनको अभाव छन् ।

विदेश जाने इच्छा देशप्रतिको घृणाको परिणाम भने होइन । बरु, धेरै युवाको चाहना नेपालमै सम्मानजनक जीवन, प्रतिस्पर्धात्मक रोजगारी र सिर्जनशील वातावरण पाउनेछ । समस्या अवसरको अभाव हो, आकांक्षाको होइन । सामाजिक सञ्जालमार्फत् विश्वका सफल अभ्यास हेरेको यो पुस्ताले अब आश्वासन होइन, परिणाम खोजिरहेको छ । अब समाधान पहिल्याउने राजनीति, राज्यव्यवस्था र कार्यान्वयन नीति नै समाधानको उपाय हुन सक्छ ।

जेनजी पुस्ता राजनीतिक परिवर्तनभन्दा धेरै प्रणालीगत उलटफेर चाहन्छ । उनीहरू योग्यता र क्षमताको सम्मान हुने राज्य, डिजिटल प्रविधिलाई प्राथमिकता दिने प्रशासन, उद्यमशीलतालाई प्रोत्साहन गर्ने अर्थतन्त्र, गुणस्तरीय शिक्षा र निष्पक्ष सार्वजनिक सेवा प्रणाली माग गरिरहेका छन् । उनीहरूका लागि लोकतन्त्र निर्वाचनमात्र होइन; उत्तरदायी शासन, पारदर्शिता र नागरिकको सम्मान पनि हो ।

राज्य र राजनीतिक नेतृत्वले जेनजीको आवाजलाई क्षणिक असन्तुष्टि वा सामाजिक सञ्जालको प्रभाव भनेर बेवास्ता ग¥यो भने त्यसको मूल्य प्रतिभा पलायनका रूपमा चुकाउनुपर्ने छ । यदि यो पुस्ताको ऊर्जा, सीप र आकांक्षालाई नीति र विकाससँग जोड्न सकियो भने सबैभन्दा ठूलो जनशक्तिलाई राष्ट्रिय रूपान्तरणको आधार बनाउन सकिन्छ ।
जेनजीले देशसँग सम्बन्ध तोड्न खोजेको होइन, नयाँ सामाजिक सम्झौताको माग गरेका हुन् । उनीहरूको सन्देश स्पष्ट छ–नाराभन्दा अवसर, आश्वासनभन्दा परिणाम र भविष्यविहीन प्रतीक्षाभन्दा परिवर्तनको विश्वास । अहिलेको राज्य जेनजीकै बलमा स्थापित भएकाले समस्याको सहज समाधानमा लाग्न लागी उनीहरू माग र मुद्दालाई नीतिगत सम्बोधन गर्नुपर्छ ।

भाषण होइन, व्यवहार चाहियो
विकल्प घर्तीमगर
विद्यार्थी नेता

नेपालमा धेरै राजनीतिक आन्दोलन भए । आर्थिक समानता, सामाजिक न्याय र जनमुखी विकासका लक्ष्यहरू पूर्ण रुपमा हाँसिल हुन सकेनन् । यही अपूर्णता र असन्तुष्टिबाट जन्मिएको जेनजी पुस्ताको आवाजले आन्दोलनको रुप लियो । यो पुस्ताको विद्रोह र आन्दोलन कुनै एउटा दल वा नेता विरुद्वको थिएन । यो भ्रष्टाचार, बेरोजगारी, दलाल पुँजीवाद, अवसरमा असमान पहुँच र जनअपेक्षा अनुसार काम गर्न नसकेको राज्य संयन्त्र प्रतिको असन्तुष्टि थियो । यो पुस्ता भाषण होइन; जीवनमा प्रत्यक्ष परिवर्तन चाहन्छ ।

जेनजी पुस्ताको सबैभन्दा ठूलो अपेक्षा श्रमको सम्मान हुने, उत्पादनमुखी अर्थतन्त्र विकास हुने र राज्यले आम नागरिकको पक्षमा काम गरोस् र युवाले शिक्षा पूरा गरिसकेपछि आफ्नै देशमा सम्मानजनक रोजगारी, किसानले उत्पादनको उचित मूल्य र मजदुरले न्यायपूर्ण ज्याला पाउनुपर्छ भन्ने देखिन्छ । राज्यका स्रोत, साधनमा सीमित व्यक्तिको होइन, सबै जनताको हितमा प्रयोग हुनुपर्छ भन्ने हो । तर धेरै युवाले नेपालमा भविष्य देखिरहेका छैनन् । यसको प्रमुख कारण उत्पादनभन्दा आयातमुखी अर्थतन्त्र, भ्रष्टाचार, नातावाद, कृपावाद, राजनीतिक अस्थिरता र सार्वजनिक सम्पत्तिको दुरुपयोग हो । परिणाम स्वरुप लाखौं युवा आफ्नो श्रम र प्रतिभा विदेशमा बेच्न बाध्य भएका छन् ।

जेनजी विद्रोहपछि बनेको सरकारले सुशासनलाई व्यवहारमा उतार्नुपर्ने हुन्छ । भष्टाचार र कालोबजारीविरुद्व कठोर कदम चाल्नुपर्छ । कृषि, उद्योग पर्यटन र सूचना प्रविधिमा लगानी बढाएर उत्पादन र रोजगारी विस्तार गर्नुपर्छ । शिक्षा प्रणालीलाई उत्पादन, अनुसन्धान र सीपसँग जोड्नुपर्छ । नीति निर्माणमा युवा, महिला, किसान, मजदूर र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ ।

जेनजी पुस्तालाई देशमै टिकाउने सबैभन्दा प्रभावकारी उपाय भनेको न्यायपूर्ण समाज निर्माण हो । कानुन सबैका लागि समान रुपमा लागू हुन्छ र राज्य जनताको पक्षमा उभिन्छ, नागरिकमा लगानी गर्छ भन्ने आभास दिलाउनुपर्छ । तब जेनजी र युवा पुस्ताले नेपालमै आफ्नो भविष्य देख्न थाल्छ ।

सुशासनमा अर्जुनदृष्टि देऊ
रोहित सुनार ‘मार्टिन’
अध्यक्ष, प्रबुद्व युवा समूह

जेनजी आन्दोलनका सहिदलाई न्याय दिँदा सुशासनको यात्रा त्यहीँबाट सुरु हुन्छ । जेनजी आन्दोलनका एजेन्डा सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारको अन्त्यलाई प्राथमिकतामा राखेर काम गर्नसके देश सही दिशामा अघि बढ्छ । जेनजी पुस्ताको अपेक्षा कुनै व्यक्ति विशेषको शासन होइन, विधिको शासन हो । सबै नागरिकका लागि समान कानुन, पारदर्शी राज्य व्यवस्था र जिम्मेवार नेतृत्व हो । पुराना राजनीतिक दलले बनाएको संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा जेनजी आन्दोलन जन्मिएको हो । यो सरकारले विगतका कमजोरी नदोहो¥याई जनताले परिवर्तनको अनुभूति गर्नेगरी काम गर्नुपर्छ ।

अहिलेको संविधान प्रगतिशील छ । संविधान सदियौंदेखि विभेद र शोषणलाई सम्बोधन गर्न बनेको थियो । संविधानलाई कार्यान्वयन गर्ने विचार र परिस्कृत लोकतान्त्रिक चरित्रलाई पुराना दलले अवलम्बन गर्न नसकेकै कारण जनतामा सुशासनको प्रत्याभूति हुन सकेन । जेनजी विद्रोह हुन पुग्यो । विद्रोहले सही मार्ग अवलम्बन गर्न नसक्दा आन्दोलन हिंसात्मक हुन पुग्यो; असली जेनजी सडकमै छुटे ।

सुशासन कायम गर्न मौलिक विषयहरूको व्याख्या हुन जरुरी छ । धर्म निरपेक्षता जस्तो प्रगतिशील विचारको सही व्याख्या हुन नसक्दा समाज साम्प्रदायिक हिंसातर्फ अग्रसर छ । समाजवाद र समावेशिता जस्तो प्रगतिशील विचारलाई राज्यले मुल मुद्दा बनाउन नसक्दा विकासको नाममा विनाशसँगै, धनी र गरिब बीचको अन्तर बढ्दै गएको छ । सीमान्तकृत वर्गले पाइरहेको विशेष अधिकार कागजमा सीमित बनेको छ ।

जेनजी विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने नेपाल चाहन्छ । गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, प्रविधिमैत्री वातावरण, उद्यमशीलताको अवसर, अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष प्रणालीमा यो पुस्ताले आफ्नो भविष्य देखेको छ । जेनजीको सपना विदेश जानुमात्र होइन; देशमै सम्मानपूर्वक जीवन हो । प्रतिभा र मेहनतभन्दा पहुँच र शक्ति प्रभावकारी हुने परिस्थितिले धेरै युवामा निराशा बढाएको छ ।

सरकारले सबैभन्दा पहिले भ्रष्टाचार नियन्त्रणमा व्यवहारमै देखिने गरी कडाइ गर्नुपर्छ । सरकारी सेवा पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउनुपर्छ । सार्वजनिक पदमा योग्यता र क्षमता अनुसार नियुक्ति सुनिश्चित गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै नीति निर्माण गर्नुपर्छ । युवालाई स्थानीयदेखि राष्ट्रिय तहसम्म निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ ।

युवाको आवाज कार्यान्वयन होस्
स्वीकृति भारी
विद्यार्थी

जेनजी विद्रोहपछि बनेको सरकारसँग नयाँ पुस्ताको मुख्य अपेक्षा भनेको सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिता हो । हामी जस्ता युवाको चाहना देशभित्रै राम्रो शिक्षा, सम्मानका साथ काम गर्ने अवसर, केही गर्ने उद्यमशीलताको वातावरण, आर्थिक रूपमा आत्मनिर्भर बन्ने र सुरक्षित भविष्य बनाउनेतिर केन्द्रित छ ।

अहिलेको बेरोजगारी धेरै छ, कामका अवसर सीमित छन्, भ्रष्टाचार बढेको छ, सेवा प्रवाह कमजोर छ । नेतृत्वप्रति विश्वास पनि घट्दै गएको छ । यीनै कारणले हामीमध्ये धेरैले आफ्नो देशमै भविष्य सुरक्षित छ भन्ने महसुस गर्न सकेका छैनौं ।

सरकारसँग हाम्रो स्पष्ट अपेक्षा के छ भने रोजगारी सिर्जना, सीपमूलक शिक्षा, उद्यमशीलता, स्टार्टअपलाई प्रोत्साहन र निजी क्षेत्रलाई मजबुत बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्छ । सरकारी सेवामा पारदर्शिता ल्याएर भ्रष्टाचारप्रति शून्य सहनशीलता लागू गर्नुपर्छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरूलाई जवाफदेही बनाउने र कानुनी रूपमा उत्तरदायी बनाउने व्यवस्था हुनुपर्छ । अनियमितता भए निष्पक्ष छानबिन र कडा कारबाही हुनैपर्छ । युवाको पनि नीति निर्माण तहमा सहभागिता हुनुपर्छ, ताकि हाम्रो आवाज केवल सुन्नेमत्र होइन, निर्णयमा पनि देखियोस् ।

जेनजी देशमै भविष्य खोजिरहेका छन्
रमा कँडेल
विद्यार्थीच

सामाजिक सञ्जाल र प्रविधिसँगै हुर्किएको जेनजी पुस्ता राजनीतिक भाषण भन्दा परिणाम, पारदर्शिता र जवाफदेहितालाई बढी महŒव दिन्छ । जेनजी विद्रोहपछि बनेको सरकारले युवाको आवाजलाई आन्दोलनका रूपमा होइन, देश निर्माणको अवसरका रूपमा बुझ्न आवश्यक छ । युवाको अपेक्षा पूरा गर्न नसकिए प्रतिभा र श्रम पलायन हुने क्रम अझ तीव्र हुन सक्छ । जेनजी पुस्ताको पहिलो अपेक्षा सुशासन र जवाफदेहिता हो । सरकारमा रहेका व्यक्तिहरूले आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्नुपर्छ । भ्रष्टाचार, नातावाद, राजनीतिक संरक्षण र अनियमिततामाथि प्रभावकारी नियन्त्रण हुनुपर्छ । कानुन सबैका लागि समान रूपमा लागू भएको अनुभूति हुनुपर्छ ।

दोस्रो अपेक्षा रोजगारी र अवसर हो । पढेपछि स्वदेशमा अवसर नपाउने अवस्था अन्त्य गर्नुपर्छ । युवाले सरकारी जागिरमात्र होइन, निजी क्षेत्र, उद्यमशीलता, प्रविधि, पर्यटन, कृषि तथा सिर्जनात्मक क्षेत्रमा पनि सम्मानजनक रोजगारीको अवसर खोजिरहेका छन् । उनीहरूको सपना विदेश जानुपर्ने बाध्यता नहोस् भन्ने हो । आफ्नो देशमै प्रतिभा र सिर्जनशीलताको सम्मान होस् ।

उच्च शिक्षा हाँसिल गरेपछि पनि योग्यता अनुरूपको काम नपाउनु र कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यताले युवालाई विदेशतर्फ आकर्षित गरेको छ । अस्थिर राजनीति र नेतृत्वप्रतिको अविश्वास अर्काे कारण हो । सरकार परिवर्तन भइरहने, नीतिमा निरन्तरता नहुने र राजनीतिक भागबन्डाले युवामा निराशा बढाएको छ । मेहनत र योग्यताभन्दा राजनीतिक तथा व्यक्तिगत सम्बन्ध महŒवपूर्ण हुन्छ भन्ने अनुभूति युवाले गरेमा उनीहरू देशबाहिर विकल्प खोज्न थाल्छन् ।

युवालाई देशमै टिकाउने सबैभन्दा प्रभावकारी उपाय यही भविष्यको विश्वास निर्माण गर्नु हो । ‘देशमै बस’ भनेर युवालाई रोक्न सकिँदैन । सबैभन्दा पहिले रोजगारी सिर्जना गर्नुपर्छ । उद्योग, पर्यटन, सूचना प्रविधि, कृषि, जलविद्युत् तथा सेवा क्षेत्रमा लगानी बढाउनुपर्छ । युवाले आफ्नै व्यवसाय सुरु गर्न चाहँदा सहज ऋण, प्रविधि, तालिम र बजारको व्यवस्था हुनुपर्छ । शिक्षालाई रोजगारीसँग जोड्न आवश्यक छ । विदेशमा रहेका युवाको सीप र पुँजी नेपालमा प्रयोग गर्ने वातावरण पनि बनाउनुपर्छ । राज्यले न्याय गर्छ, मेहनतको मूल्य हुन्छ, योग्यता अनुसार अवसर पाइन्छ र भविष्य सुरक्षित छ भन्ने विश्वास स्थापित गर्न सके युवा पुस्ता देशमै अडिन्छ । यसो गर्न सके जेन्जी पुस्ताले देशका समस्या पहिल्याएर समाधान गर्दै यही सम्भावनाहरू खोज्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->