म्याग्दी, ३१ जेठ– म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट पुनः सुचारु भएको छ । गत चैत १ गते परेको चट्याङले उक्त इन्टेरनेटको टावरमा क्षति पु¥याएको थियो । महभिर घर भई हाल बेलायतमा बस्दै आएका गणबहादुर पाइजा र जसी पाइजाका छोरा रुद्र पाइजाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा इन्टरनेट मर्मत गरी नियमित संचालनमा ल्याईएको महभिर वाइफाइ संरक्षण समितिका अध्यक्ष खिम पाइजाले बताए ।
महभिरका धेरै युवाहरु विदेशमा छन्, घर परिवार र आफन्तसंग नियमति सम्पर्कका लागि इन्टरनेट अनिवार्य भएकोले निर्माणका लागि आफुले सहयोग गरेको समाजसेवी रुद्र पाइजाले बताए । आफु जन्मेको गाउँमा इन्टरनेटको पुहँच पुराउन आफ्नै लगानीमा इन्टरनेट जडान गरि निशुल्क सेवा उपलब्ध गराएको पाइजाको भनाई छ । नागीदेखि महभिरसम्म बेतारे प्रबिधिको इन्टरनेट जडान गर्न ६ लाख रुपैयाँ पाइजा एक्लैले सहयोग गरेका हुन् ।
बिकासमा स्थानीय सरकारको आँखा नपुगे पनि इन्टरनेटको सुबिधाले सामाजिक संजालमार्फत देश बिदेशका खबरहरु थाहा पाउन सहज भएको बुद्वि पुर्जाको भनाई छ । उनका अनुसार, बिदेशमा भएका परिवारका सदस्यसंग खबर आदानप्रदान गर्नसमेत सजिलो भएको छ । समुन्द्री सतहदेखि १२ हजार मिटरको उचाइमा ठुलो भिरमुनी चिटिक्क परेको सुन्दर गाउँ छ महभिर । यहाँ बिकासका गतिबिधिहरु खासै भएका छैनन् । भुतपुर्व ब्रिटिस गोर्खा र स्थानीयको पहलमा दातृ संस्था कादुरीको सहयोगमा खानेपानी, झोलुङ्गे पुल तथा बिजुलीको सुबिधा आजभन्दा २० बर्ष अगाडीनै पुगिसकेको पुर्जाले बताए ।
बेलायतमा बसेर पनि समाजसेवी पाइजाले गाउँका लागि गरेको सहयोग र योगदान प्रति महभिरबासीले कृतज्ञता ब्यक्त गरेका छन । महाबिर पुनले आबिस्कार गरेको बेतारे प्रबिधिको इन्टरनेट २०७४ सालमा महभिर गाउँमा जडान गरिएको थियो ।





