पोखरा, ३२ जेठ – दशैं मुखैमा थियो । फुटपाथदेखि सपिङमलसम्म जताततै दशैंको रौनक देखिन्थ्यो । अझ भनौं सिगों देशलाई नै दशैंले छपक्कै छोपेको थियो । सहरदेखि बाहिर, टाढाटाढा घर हुनेहरु घर फर्कि सकेका थिए । कोही फर्किने सुरसारमा थिए । सहरमै घर भएका पनि दशैं कसरी मनाउने ? दसैंको योजना बनाउँनमै व्यस्त देखिन्थे । यस्तोमा उनी भने साइकल डोहो¥याउँदै निस्किए देश देशाटनमा ।
युवा साइकल यात्री दिवस गुरुङले आफ्नो पहिलो साइकल यात्राबारे अनुभव सुनाए । गुरुङले गएको वर्ष ‘दीगो विकासका लागि साइकल अभियान, देश बुझौ, देश घुमौँ’भन्ने नारा बोकेर पूर्वी नेपालका केही जिल्ला घुमेका थिए । ‘पोहोर साल साइक्लिङ मात्र होइन, साइक्लिङबाट केही सन्देश पनि दिनुपर्छ भनेर ४४ दिनको साइकल यात्रा गरेको थिएँ’,उनले सुनाए । यसक्रममा प्रदेश नम्बर १ को सबै जिल्ला घुमेको उनी सुनाउँछन् । तराईका अरु केही जिल्ला समेत गरि २९ जिल्ला पुगेको थिए उनी त्यसबेला ।
०००
नेपाल पर्यटन वर्ष सन् २०२० का लागि नयाँ पर्यटकीय गन्तव्य के के हुन सक्लान् ? त्यसलाई कसरी प्रवद्र्धन र प्रचार प्रसार गर्न सकिन्छ ? उनको साइकल यात्राको पहिलो उद्देश्य प्रचार प्रसारमा नआएका त्यस्ता पर्यटकीय ठाउँमा पुगेर ति ठाउँहरुलाई बाहिर ल्याउँने थियो । साइकल यात्राको अर्को उदेश्य रक्तदान जीवनदान भन्ने नारा फिजाउनु थियो । विशेषगरि १८ वर्ष पुगेका युवायुवतिले रक्तदान गरेर जन्मदिन मनाऔं भन्ने सन्देश दिनु थियो । यसबाट थोरै भएपनि रक्तदान व्यवस्थित हुन सक्छ भन्ने, उनको मान्यता । रगतको अभाव पनि केही हदसम्म हुन नदिने भन्ने हो ।
र, अर्कोचाँहि साइकल स्वस्थ वातावरणको लागि भन्ने । साइकलले स्वास्थ्य साथसाथै वातावरण र पर्यटनमा कसरी त्रिकोणात्मक सम्बन्ध कायम गर्न सहयोग गर्छ भन्ने सन्देश फैलाउनु थियो । युवालाई साइक्लिङमा चासो बढाउँनु थियो । त्यसपछि अटिजमसम्बन्धि (सुस्त मनस्थिति) थियो । अटिजमले पढाई लगायत उस्को दैनिकीमा कसरी असर पारिरहेको हुन्छ भन्ने थियो । सचेतना फैलाउँन पम्पेलेट पनि बाँडेको थिए । तराईका केही ठाउँमा अडियो दृष्यचित्र पनि देखाएका थिए । अन्तिम चाहिँ वाइल्ड लाइफ कन्जर्भेसनमा युवाहरुको कस्तो भुमिका हुन्छ भन्ने थियो ।
०००
गाउँमा साइकल के चल्थ्यो ? त्यसमाथि साइकलको महत्व उतिसारो थाहा थिएन दिवसलाई । साइकलप्रतिको प्रेम ०७२ सालको भूकम्पले लगाई दिएको मान्छन्, उनी । ‘भूकम्प अघिसम्म साइकलको महत्व खासै थाहा थिएन,’ भन्छन्, ‘भनौँ न साइकलको महत्व नै बुझेको थिइन् ।’
भूकम्पले थिलथिलो पारेको देश । त्यसमाथि भारतको नाकाबन्दी । साइकल नचढी त धरै थिएन । भूकम्प पीडितलाई राहत बाड्न साइकलमा गोरखासम्म पुगेको उनले सनाए । भुकम्पले जगाईं दिएको साइकलको भोक । भारतीय नाकाबन्दीले झनै बढाइ दियो । ‘घरदेखि कलेज लगभग २० किलोमिटरको दुरिमा थियो’, उनी सम्झिन्छन्, ‘एक त गाडि पनि कम चल्ने । त्यसमाथि ३ वटा गाडि फेर्नुपर्ने । त्यसले पनि साइकलको महत्व बुझायो ।’
साइकलमा नेपाल यात्रामा निस्किनुअघि सानो दूरुीको साइक्लिङ गरेको उनले सुनाए । भन्छन्, पहिलो पटक बन्दिपुर, लमजुङहुँदै घलेगाउँसम्म पुगेको थिए । तीन दिन लगाएर सिक्लेससम्म पनि पुगेका थिए । साइकलमा घुम्न आएको भनेर खुबै तारिफ पनि पाएका थिए, त्यसबेला । नेपाल साइकल यात्रामा निस्किनु अघि रक्तदानसम्बन्धि सन्देश बोकेर ३ जना साथीसंगै साइकलमा स्यांजा सिँरुबारीसम्म पुगेको उनले सम्झिए ।
०००
भोक मात्रै यस्तो चिज होला ! जुन भोक नमेटे मान्छेको अस्तित्व के होला ! दिवसलाई पनि साइकलको भोक जाग्यो । साइकल यात्रीहरुसँग चिनजान बढाउँन थाले । उनीहरुसंगको सम्बन्धले साइकलबारे थप बुझ्ने मौका पाए ।
पोखरामा हरेक वर्ष ‘टुर दि पोखरा’ नाम दिएर साइकल यात्रा गरिन्छ । यो यात्रामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साइकल यात्री जम्मा हुन्छन् । दिवस पनि यही मेसोमा सामेल भए । नेपाल यात्रा गरिसकेको यात्रीबाट साइकलको महत्व अझ धेरै बुझे । भन्छन्, ‘यसरी साइकल यात्राबाट पनि सन्देश दिन सकिन्छ भन्ने बुझे । नेपाल बुझ्न सकिन्छ भन्ने थाहा पाए । थप उत्साहित पनि भए ।’यसक्रममा मेची महाकाली साइकल यात्रा गरि सकेका तीर्थराज वस्तिसंग पनि भेट्ने मौका पाए । यात्राबारे केही कुरा बुझ्ने मौका पाए । यसरी उनी पनि साइकल यात्रामा निस्किए ।
०००
यात्राले धेरै थोक सिकाउँछ । बुझाउँछ । दिवस पनि प्रदेश नम्बर १ को साइकल यात्राबाट धेरै कुरा सिक्न पाएको ठान्छन् । अप्ठ्यारा पनि थुप्रो सामाना गरे । भन्छन्, ‘सबै जना दशंैं मनाउँन आफ्नो घर फर्किँदै थिए । म भने घर छोड्दै थिएँ ।’ सुरुमा त उनले घरका सदस्य कसैलाई जानकारी दिएनन् । आफ्नो यात्राबारे । चाडपर्वको बेला परिवारबाट निस्किने अनुमति नपाउने निश्चित जस्तै थियो । ‘त्यसमाथि अझ ४४ दिने यात्रा, यात्रामा एक्लै’ उनले सम्झिए, ‘घरबाट निस्किने बेला मात्रै जानकारी गराएर निस्किए । यो बिचमा धेरै उपलब्धि पनि भए ।’
आफ्नो गाउँ ठाउँमा मात्रै मान्दै आएको दशैं नयाँ ठाउँमा पुगेर फरक किसिमले मान्न पाएको ठान्छन् उनी । भन्छन्, ‘हिमाल पहाड तराईमा कसरी दसैं, तिहार, छठ पर्व मनाइँदो रहेछ जान्ने अवसर पनि पाए ।’ घरमा मान्दै आएको दसैं तिहारभन्दा विशेष किसिमकोे दसैं मान्न पाएको उनले सुनाए । नेपालीको आतिथ्यता, संस्कार पनि राम्रोसँग बुझ्न पाएको ठान्छन् ,उनी । उनले सम्झिए, साइकल यात्रामा निस्केको तेस्रो दिन सप्तरीमा पुगेको थिए । सम्तरीमा युवा क्लबका सदस्यले त्यहाँको धोती, फेटा, मैथिली पोशाकले सम्मान गरे । अहिले संघियताले गर्दा देश टुक्रिन लाग्यो भन्ने हल्ला छ । तर, उनलाई भने यात्राले हिमाल, पहाड, तराईबीच कति माया छ भन्ने बुझायो ।
०००
यो अभियान सफल पार्न थुप्रो संघ संस्थाको सहयोग पनि पाएका थिए उनले । विभिन्न रेडियो, टेलिभिजनमा पनि आफ्नो अभियानको उद्देश्य बताउँन पाएका थिए । सुदुरपश्चिमाञ्चलको क्याम्पसमा ४४ दिनको यात्रा अनुभव र उपलब्धि सेयर गर्ने ठूलो मौका पाएको अनुभव उनले सुनाए । इलामबाट पाँचथर उक्लिने बाटोमा मानिसहरु रोकेरै पनि सोधे, ‘मान्छेहरु गाडिमा बसेर गई रहेका छन् । तपाईं चाहिँ किन यत्रो भारि बोकेर साइकलमा ? जंगली जनावरको जोखिममा पनि उत्तिकै थियो । बास बस्न नपाएको अनुभव पनि उनीसंग छ । बेलाबेला टायर पन्चर पनि हुन्थ्यो ।रौतहटमा टायर पन्चर भएर निकै अबेरसम्म जंगलमा हिँडेको अनुभव पनि छ उनीसँग । यसरी, साइकल यात्रामा केही चुनौति सामना गरे पनि धेरै कुरा बुझ्न पाएको उनले सुनाए ।
०००
यो दशैँमा पनि साइकल यात्रा गर्ने कि ? हामीले सोध्यौं । यो दसैंमा उनको साइकल यात्राको योजना छैन । बरु, पर्यटक गाइड बनेर ट्रेकिङ जाने सोचमा छन् । आगामी वर्षको दसैंमा भने उनी साइकल यात्रामा निस्किने योजनामा छन् । फेवातालबाट सुरु गरेको साइकलमा रारा ताल पुग्ने योजनामा छन् । यात्राको नाम हुनेछ, ‘तालदेखि तालसम्म ।’यो यात्राको दुई सन्देश हुनेछन् । फेवाको संरक्षण र राराको प्रर्वद्धन । बिचमा पर्ने मध्यपहाडी जिल्लाका बस्तीमा पनि छिर्ने छन्, उनी । मध्य पहाडी जिल्ला रुकुम, रोल्पा, प्यूँठान अझै पनि पर्यटकको नजगरमा नपरेको जिल्लालाई बाहिर ल्याउँने उनको यात्राको उद्देश्य हुनेछ । एउटा यात्रामा निस्किदा करिब ५० हजार बढीको खर्च हुन्छ । उनलाई यो यात्रामा सहयोग गर्ने कोही छैनन् । आफ्नै खर्चमा निस्कन्छन् । एक्लै अभियानमा साइक्लिङमा निस्किनेलाई सहयोग पनि मिल्दैन ।
वन विज्ञान संस्थान पोखराबाट स्नातक तह उत्तीर्ण गरेर बसेका युवा साइकल यात्री गुरुङ बिहान बेलुका बच्चाहरुलाई ट्युसन पढाउँछन् । यसैबाट उनको घुम्ने खर्च निस्किन्छ । अन्नपूर्ण गाउँपालिका ५ भदौरे कास्कीमा जन्मिएका दिवस अहिले पोखराको लामाचौरमा बस्छन् । उनी कास्की जिल्ला साइकल संघका सदस्य समेत हुन् । दिवस आफू मात्र साइकल चढ्दैनन् अरुलाई पनि साइकल चढ्न सुझाउँछन् । ‘न इन्धनको समस्या हुन्छ । न पार्किङको झन्झट’,उनी भन्छन्, ‘साइकलमा गुँड्नु स्वास्थ्यको लागि पनि उत्तिकै राम्रो हुन्छ । साइकल यात्राबाट उदाएका दिवस अब पर्यटनमा जोडिन चाहन्छन् । वन विज्ञानमा स्नातक सकेका उनी मास्टर्स टुरिजम विषयमा गर्ने योजनामा छन् । पर्यटनसँग जोडिए पनि साइक्लिङ भने नछाड्ने उनले सुनाए ।





