जोमसोम, ५ असार – पछिल्लो समय विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस [कोभिड-१९} को संक्रमण दर नेपालमा फैलिदै गएको छ। नेपालका कोरोना देखिएको ६ महिना पुगिसकेको छ। गण्डकी प्रदेशका कुल ११ जिल्ला मध्ये मुस्ताङमा शुक्रवारसम्म कोरोना संक्रमित भेटिएका थिएनन्। प्रादेशिक जनस्वास्थ्य कार्यालय पोखराले बिहीबार मनाङमा पनि १ जना कोरोना संक्रमणा पुष्टि गरेपछि अब गण्डकी प्रदेशमा मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। गण्डकी प्रदेशमा मनाङसहित १० जिल्लामा कुल ३ सय ४८ जनामा कोरोना संक्रमण फैलिएको छ।
जिल्ला विपत व्यवस्थापन समितिले जिल्ला भित्र संक्रमित जिल्लाबाट तरकारी, फलफुल तथा मासुजन्य पदार्थ ढुवानी गर्न प्रतिबन्ध लगाइएको छ। जिल्लामा विकासको काम गर्ने उपकरण चालक, मालवाहक सवारी साधनका चालक तथा सहचालक र अतिआवश्यकीय कामकाजले आउजाउ गर्ने व्यक्तिलाई मुस्ताङको थासाङ गाउँपालिका घासामा अनिवार्य आरडीटी परीक्षण गर्ने व्यवस्था गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए।
जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जिल्लामा बिहीबारसम्म कुल २५ जनाको स्वाबसंकलन भएको जानकारी दिए। जसमध्ये १६ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने बाँकी ९ जना व्यक्तिको स्वाब रिपोर्ट आउन बाँकी छ। मुस्ताङमा अहिले ७ जना क्वारेन्टाइनमा छन्। जिल्लाका ५ स्थानीय तहले करिव ९० शैय्या क्वारेन्टाइन निर्माण गरेपनि खासै व्यवहारिक बन्न सकेको छैन। हालसम्म उपल्लो मुस्ताङका २ पालिकामा क्वारेन्टाइन प्रयोगमा आएको छैन। घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रमा गरी करिव ५० भन्दा बढी व्यक्ति क्वारेन्टाइन मापदण्ड पुरा गरेका छन्। जिल्लामा कोरोना रोकथाम गर्न मुस्ताङको थासाङ गाउँपालिका बढी जिम्मेवार बनेको पाइएको छ।
बिहीबार मनाङमा कोरोना संक्रमण देखिएसँगै मुस्ताङका कतिपय स्थानीयले जिल्लानै शिल गर्नुपर्ने आवाज उठाएका छन् । कोरोना संक्रमणकालमा मुक्तिनाथ दर्शन गर्न आएको भन्दै ३ दिनअघि मुस्ताङका स्थानीयले म्याग्दीका सिडिओलाई समेतलाई मुक्तिनाथ जान रोक लगाएका थिए। सरकारले कोरोना संक्रमण बढिरहेको अवस्थामा लकडाउन खुकुलो बनाए पनि मुस्ताङका होटल बन्द छन्। सीमानाकामा कडा निगरानी गरिएकाले जिल्लामा पर्यटकीय चहल पहल शून्य बनेको होटल ताजका संञ्चालक योगेश शेरचनले बताए।





