स्याङ्जा, ५ असार– कोरोना सन्त्रासका बीच घर–घरमै ताजा तरकारी सुपथ मुल्यमा उपभोग गर्न पाएपछि उपभोक्ता खुसी भएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उपभोग्य वस्तु खरिदको लागि बजार जान डराइरहेका उपभोक्तालाई वालिङ नगरपालिकासहित बिभिन्न संघ संस्थाको सहकार्यमा जिपमा राखेर घर–घरमै पु¥याएर ताजा तरकारी किन्ने ब्यवस्था मिलाइएपछि उपभोक्ताले राहतको महसुस गरेका छन् ।
गाँउ–गाँउमा उत्पादित कृषि उपजलाई सहज रुपमा उपभोक्तासम्म पु¥याउने योजनासहित बजारीकरणको काम शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले बताए । उपभोक्तालाई सहज रुपमा तरकारीजन्य सामग्री उपलब्ध गराउने उद्देश्यअनुसार काम गरिरहेको हरितज्योती गौरब कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण खाँणले बताए । दीर्घकालिन रुपमा बजारको व्यवस्थापन गर्नेगरी तयारी गरिएको खाँणको भनाई छ । नगरपालिकाको वडा स्तरमा खुलेका संकलन केन्द्र र सहकारीमार्फत कृषिउपज संकलन गरी न्युनतम मुल्यमा बजारमा बेच्ने गरिएको छभने यसको ब्यवस्थापन वालिङ नगरपालिका, दियालो गैह्र सरकारी संस्था र हरित ज्योतीगौरव कृषि सहकारीे संस्थालगायतले गरेका छन् ।





