स्याङ्जा, ११ असार– बिरुवा गाउँपालिकाको सातौ गाउँ सभाले कृषि, पुर्वाधार र रोजगारीको सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि गाउँपालिका उपाध्यक्ष देवीकुमारी थापाले बुधबार ४० करोड ७२ लाख ९० हजार ३३४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन् । उपाध्यक्ष थपाले प्रस्तुत गरेको बजेट एवं नीति तथा कार्यक्रम गाउँसभाले अनुमोदन गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा मुख्यगरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण, पूर्वाधार विकास, शिक्षा स्वास्थ्य र रोजगारीको सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले बताए ।
गाउँपालिकाको कुल बजेटमध्ये ६ करोड २० लाख ५९ हजार ३३४ रुपैया चालुतर्फ र १६ करोड ३० लाख ३१ हजार पुँजीगततर्फ र वित्तीय व्यवस्थातर्फ १८ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कुलाराज सुवेदीले जानकारी दिए । गाउँपालिकाले आगामी आर्थिक वर्षमा ५६ लाख बराबरको नमुना कृषि कार्यक्रम, २५ लाख बराबरको कृषक अनुदान कार्यक्रम तथा सिंचाई बिउबिजन र जमिन संरक्षणका लागि पनि रकम विनियोजन गरेको छ ।
यसैगरी गाउँपालिकाले जनताको स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर ४० लाख बराबरको कोष स्थापना गरेको छभने वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई गाउँपालिकामै रोजगारी सिर्जना गर्न उद्देश्यले ४० लाखको विशेष प्याकेजको घोषणा गरेको छ । पूर्वाधार विकासतर्फ गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि २ करोड विनियोजन गरिएको छ भने गाउँपालिकाभित्रका सडकहरूे स्तरोन्नतिको लागि एकमुष्ट रुपमा ४० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गाउँपालिकाले शिक्षा स्वास्थ्य र पर्यटन प्रर्वद्वनका साथै कोरोना रोकथाम र नियन्त्रका लागि समेत बजेट विनियोजन गरेको छ ।





