शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङ नगरपालिकाको बजेट ७० करोड

गल्याङ नगरपालिकाको बजेट ७० करोड


  • हिमलाल पराजुली
  • असार ११ २०७७, बिहिबार

स्याङ्जा, ११ असार– गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रसंगै बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर सभामा नगर उपप्रमुख देविसरा थापाले आगामी आर्थिक वर्षका लागि ७० करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेकी हुन् । यसमा सशर्त अनुदान तर्फ ३२ करोड ६१ लाख रुपैयाँ समेटिएको छ ।
चालु खर्च ४१ करोड ४४ लाख ११ हजार र पुँजीगततर्फ २८ करोड ७४ लाख ८२ हजार खर्च हुने अनुमान गरिएको छ । नगरसभामा नगर उपप्रमुख देविसरा थापाले साधारण खर्चतर्फ १४ करोड नौ लाख ६० हजार र विकासतर्फ ५६ करोड नौ लाख ३३ हजार हुने बताइन् । उक्त खर्च व्यहोर्नका लागि नगरपालिकाको आन्तरिक आम्दानी दुई करोड, नगद मौज्दात तीन करोड ५५ हजार दुई सय १० रुपैयाँ जलविद्युत रोयल्टी तीन करोड १९ लाख ७१ हजार ४० तथा नेपाल सरकार एवम् प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान रहेका छन् ।
बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै ६ करोड ४ लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने कृषिका लागि व्याज अनुदानमा ६० लाख, दुध विक्री अनुदानमा ५० लाख, गाइभैंसी बाख्रा प्रबर्दनमा ३५ लाख बंगुर, कुखुरा एवम् कृषि विउ यन्त्र उपकरण वितरणका लागि ७९ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटनतर्फ धार्मिक तीर्थस्थलको रुपमा रहेको राम्दीलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्देश्यले २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी, उद्योग वाणिज्य, आपूर्ति व्यवस्थापन, सहकारी प्रबर्दनका लागि २५ लाख, सिंचाई संरचना निर्माणका लागि १ करोड ५० लाख, सामाजिक विकासका लागि ६ करोड ६० लाख र कोभिड १९ अन्य विपद व्यवस्थापनका लागि १ करोड, खानेपानी ढल निकास निर्माणका लागि ३ करोड, स्वास्थ्य क्षेत्रको विकासको लागि ९५ लाख तथा गल्याङ नगर अस्पतालको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वाधार विकासका लागि १० करोड ८४ लाख तथा नगरका गौरवका सडक निर्माणका लागि ३ करोड छुट्याइएको छ । नयाँ आर्थिक वर्षको बजेटमा प्रत्येक वडालाई २५ लाखका दरले बजेट विनियोजन गरिएको छ ।
यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनीक सुशासन क्षेत्रका लागि १४ करोड ९ लाख ६० हजार बजेट छुट्याइएको छ ।
नगरसभालाई सम्बोधन गर्दै नगरपालिका प्रमुख भुपराज अधिकारीले सिमित बजेटमा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए । यसअघि नगरसभामा नीति तथा कार्यक्रममा पेश गर्दै नगरप्रमुख अधिकारीले विगत दुई वर्षमा लिएका नीति तथा कार्य क्रमले नगरपालिकाको दिगो प्रगति हासिल गर्न सफल भएको बताए ।
नगरप्रमुख अधिकारीले कृषिमा उत्पादन बढाउन व्यावसायीकरण, आयआर्जनका लागि पशुपालनमा बृद्वि, साँघुरा सडकको विस्तार, खेतीयोग्य जमिनका लागि सिंचाई, एक घर एक धारा, रोजगारमुलक उद्यमको विकास, पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्दै आएको जानकारी दिए ।
नीति तथा कार्यक्रममा सहुलियतपूर्ण कृषि ऋण बाली तथा पशु विमा व्यवस्थाका लागि केन्द्र सरकारबाट ७५ प्रतिशत र नगरपालिकाबाट २५ प्रतिशत अनुदानको व्यवस्था गर्ने उल्लेख गरिएकोछ भने बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई २ लाख देखि ५० लाखसम्म बैंक कर्जा व्याजमा अनुदानको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->